भर्खरै

आइमार्स ब्रान्डका मोबाइल नेपाली बजारमा आउँदै

  • प्रकाशित मिति : Wed-05-Sep-2018
  • - Admin
title

काठमाण्डौ, भदौ । आइमार्स नामक मोबाइल ब्रान्ड नेपाल भित्रिने भएको छ । अबको केही सातामा ओपल मल्टिनेसनल प्रालिले नयाँ चिनियाँ ब्रान्डका स्मार्टफोन नेपाली बजारमा ल्याउने भएको हो । आफ्ना उत्पादन बजारमा ल्याउनुपूर्व नै आइमार्स मोबाइलले नेपालमा आफ्नो ब्रान्ड स्थापित गर्न अभिनेता अनमोल केसीलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । कम्पनीका विभिन्न उत्पादन रहेको भए पनि नेपाली बजारमा भने प्रारम्भिक चरणमा विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्रै ल्याउने जनाइएको छ । जसमा फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् । स्मार्ट फोनमा एक फ्ल्यागसिप मोडलसमेत रहेको छ ।
नेपाली बजारमा आउने तयारीमा रहेका कम्पनीका स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोरजी प्रविधि रहेको छ । ३ वटा मोडलमा सिडिएमए नेटवर्क क्षमतासमेत रहेको छ । भविष्यमा कम्पनीले ल्यापटप, टेलिभिजन तथा अन्य एक्सेसरिज लगायत अन्य उत्पादनसमेत नेपाली उपभोक्तामाझ ल्याउने जनाएको छ । कम्पनीले ग्राहकका लागि बिक्रीपश्चात् दिइने सेवामा पनि हाल बजारमा रहेका अन्य ब्रान्डको तुलनामा नवीनतम तथा उल्लेख्य रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ । साथै देशभरका विभिन्न स्थानहरूमा आइमार्स प्लाजाको स्थापना गरी आफ्नो विभिन्न उत्पादनसम्बन्धी सेवा उपलब्ध गर्ने योजना बनाएको छ ।आइमार्स ब्रान्डको नेपालको बजार व्यवस्थापन तथा सेवा आइमार्स चाइनाले नै प्रत्यक्ष रूपमा हेर्नेछ । त्यसैअनुसार नेपालका लागि सुशील न्यौपानेलाई कन्ट्री म्यानेजरमा नियुक्त गरेको छ ।
आइमार्स चाइनाको ‘हेङ दा ग्रुप’अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत एक कम्पनीका रूपमा रहेको छ । यसै वर्ष कम्पनीले आफ्ना उत्पादनलाई विश्व बजारमा लैजाने निर्णय गरेको हो । ब्रान्डअन्तर्गत फिचर फोन, स्मार्टफोन, स्मार्ट टेलिभिजन, ल्यापटपलगायतका उत्पादन रहेका छन् ।

प्रतिक्रिया