भर्खरै

ऊर्जामन्त्रीद्वारा सवस्टेसन शिलान्यास

  • प्रकाशित मिति : Sun-08-Jan-2017
  • - Admin
title

रौतहट,  पुस । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाललाई आर्थिक समृद्धिको अभियानसँग जोडिएको बताउनुभएको छ । 

रौतहटको पतौरा, मौलापुर–३ मा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन शिलान्यास गर्दै उहाँले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासको विकल्प नभएको बताउनुभयो । उहाँले तराईका विभिन्न जिल्लामा विद्युत् चुहावट एवम् चोरी हुने गरेकाले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो – “प्राधिकरणका कर्मचारीको समेत मिलेमतोमा विद्युत् चोरी र चुहावट हुने गरेको छ । विद्युत्भार कटौतीमुक्त जिल्ला बनाउने हो भने तत्काल चुहावट र चोरी नियन्त्रण गर्नुहोस् ।” 

फरक प्रशङ्गमा उहाँले संविधानको सर्वस्वीकार्यता बढाउन स्थानीय निकायको निर्वाचन, संविधान संशोधन प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रवादको नाममा नक्कली राष्ट्रवादी कुरा गरेर मुलुकलाई अप्ठ्यारोमा पार्न नहुनेमा जोड दिँदै उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०लाई कि त प्रक्रियामा कि त विषयवस्तुमा सहमति गर्न आग्रह गर्नुभयो । सो अवसरमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले रौतहटलाई एक महिनाभित्र हुकिङमुक्त जिल्लाका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मुलुकलाई अगाडि बढाउने एकमात्र विकल्प ऊर्जा क्षेत्र भएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको विद्युतीकरणका लागि सो आयोजना सुरु गरिएको हो भन्दै चुहावट नियन्त्रणमा दिनरात खट्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

कुल रु ११ करोड लागतमा निर्माण गरिने उक्त सवस्टेसन आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरिने प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया