भर्खरै

विद्युत् अभावका कारण तीनवटै टेलिसेन्टर बन्द

  • प्रकाशित मिति : Thu-22-Dec-2016
  • - Admin
title

जुम्ला, ७ पुस, जिल्ला हुलाक कार्यालय, जुम्लाद्वारा स्थापना गरिएका यहाँका तीनैवटा टेलिसेन्टर बन्द भएका छन् । विसं २०६५ सालमा स्थापना गरिएका टेलिसेन्टर बन्द हुँदा हुलाकको सेवा प्रवाहमा पनि समस्या आएको छ । टेलिसेन्टर बन्द हुनुमा विद्युत् अभाव प्रमुख कारण रहेको कार्यालय प्रमुख निर्मला मल्लले जानकारी दिनुभयो । बजारमा विद्युत्को विद्युत्भार कटौती र कार्यालयमा वैकल्पिक उपाय नभएका कारण टेलिसेन्टर बन्द भएको उहाँले बताउनुभयो । 

“कार्यालयका साथै अति दुर्गम मानिने गाविस मालिकाठाँटा र डिल्लीचौर गाविसमा टेलिसेन्टर स्थापना गरिएको छ, तर विद्युत् र जनशक्ति अभावका कारण यसबाट सेवाग्राहीलाई उचित सेवा दिन सकिएको छैन,” कार्यालय प्रमुख मल्लले भन्नुभयो । गाउँगाउँसम्म टेलिफोन, फ्याक्स, इ–मेल, फोटोकपी गर्ने उद्देश्यले स्थापना गरिएको टेलिसेन्टर सञ्चालनका निम्ति विभागमा सोलार माग गरेपनि त्यसको कुनै सुनुवाइ नभएको उहाँले दुःखेसो पोख्नुभयो । 

कम्प्युटरसम्बन्धी ज्ञान भएका एकजना कर्मचारी भएपनि हार्डवेयरका साथै सफ्टवेयर सञ्चालन गर्नसक्ने सक्षम जनशक्ति अभाव नै रहेको कार्यालयले जनाएको छ । टेलिसेन्टरबाट सेवाग्राहीलाई सस्तो शुल्कमा आधारभूत तालिम गरेर हुलाकको आन्तरिक आम्दानी गर्ने लक्ष्य भएपनि सो पूरा हुन नसकेको बताइएको छ । हल्कारा सिंहबहादुर रावलले सरकारले हुलाकमा कार्यरत कर्मचारीलाई राष्ट्रसेवक कर्मचारीको दाँजोमा नलिएर हेला गर्दै आएको बताउनुभयो । हल्कारा रावलले आफू दुई दशकभन्दा बढी काम गर्दै आएपनि यो कार्यालयमा आउने कर्मचारी आउँदा ढिलो गर्ने तर छिटो जाने गरेको टिप्पणी गर्नुभयो । कमजोर र भनसुन गर्न नसक्ने मात्र यो कार्यालयमा थेग्रिँदै आएको उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया