भर्खरै

विद्युत प्राधिकरण सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - Admin
title

काठमाडौं । 
नेपालमा भइरहेको विकराल लोडसेडिङ समस्या हटाउने अभियानमा अवरोध गर्ने नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ  तीन सदस्य नियुक्त गरेको छ ।मन्त्रालयका अनुसार नियुक्ति पाएका नयाँ सदस्यहरुले काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । उनीहरु रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर ६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का स्वकीय सचिव बसन्त शर्मा ‘विक्रान्त’ले जानकारी दिए । 
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए । ऊर्जा मन्त्रालयले स्पष्टिकरणका बोलाउँदा समेत अटेर गरेपछि गोरखापत्रमा नाम सार्वजनिक गरेको थियो । पुनः अन्तिम मौका दिदा समेत स्पष्टिकरणका लागि बोलाउँदा चित्त बुझ्दो नभएपछि उनीहरुलाई हटाइएको थियो । 
 स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध र्पुयाएको भन्दै मन्त्रालयले तिनैजनालाई पदबाट बर्खास्त गरेको बताएको छ ।
राजधानीमा तिहार पछि लोडसेडिङ भएको छैन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्ती पछि उनको सक्रियतामा लोडसेडिङ नभएको हो । अव लोडसेडिङको तालिका नआउने घिसिङले बताउँदै आएका छन् । लोडसेडिङ न्युनिकरणका लागि सहयोग गर्न उनले प्राधिकरण देखि सबैलाई आब्हान गर्दै आइरहेका छन् । उचित व्यवस्थापन र लोड म्यानेजमेन्टका कारण लोडसेडिङ नभएको उनको दाबी रहेको छ ।
राज्यले सहि व्यवस्थापन गर्न सके हरेक सरकारी समस्याको निराकरण हुने उदाहरण घिसिङ बनेका छन् उनको समर्थनमा राजधानीमा विभिन्न कार्यक्रम र्याली समेत आयोजना भएको थियो । लोडसेडिङ अन्त्य भएपछि विभिन्न उद्योग कल कारखाना तथा व्यवसायहरु नियमित रुपमा चल्न पाएका छन् भने, उत्पादन पनि बढेको छ ।  कार्यसमिति सदस्यमा नयाँ व्यक्तिहरु आएपछि काममा सहयोग पुग्ने र कार्यदक्षतामा अझै सकारात्मकता आउने प्राधिकरणको दाबी छ ।
 

प्रतिक्रिया