गण्डकी प्रदेशको बिजुली चुहावट ७.९६ प्रतिशत, सबैभन्दा बढी चुहावट गोर्खामा
- प्रकाशित मिति : बिही, भदौ १३, २०८१
- - विद्युत संसार
काठमाडौं, १३ भदौ । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेशअन्तर्गत रहेका २० वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट गोर्खामा पाइएको छ ।
आव २०७९/८० मा वितरण चुहाट १५.२६ प्रतिशत रहेको गोरखामा आव २०८०/८१ मा १४.५५ प्रतिशत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशमा सबैभन्दा कम अर्थात् नगण्य रुपमा चुहावट रहेको तातोपानी वितरण केन्द्र हो । अघिल्लो वर्ष २.८१ प्रतिशत वितरण चुहावट रहेको तातोपानीमा आव २०८०/८१ मा ०.९३ प्रतिशतमा सीमित भएको ।
गोरखापछि वितरण चुहावटले अग्रता लिएको वितरण केन्द्र्र हो तनहुँ । गत आवमा तनहुँको विद्युत् वितरण चुहावट १२.७८ प्रतिशत रह्यो । आव २०७९/८० मा तनहुँमा यस्तो चुहावट १०.४५ प्रतिशत थियो ।
उच्च दरको चुहावट रहेको अर्को वितरण केन्द्र म्याग्दी रहेको प्राधिकरणको प्रतिवेदनमा छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष चुहावट घटे पनि म्याग्दीमा आव २०८०/८१ मा १२.२६ प्रतिशत हुन पुगेको छ । त्योभन्दा अघि म्याग्दीमा वितरण चुहावट १४.१५ प्रतिशत थियो ।
म्याग्दीकै हाराहारीमा वितरण चुहावट लमजुङमा पाइएको छ । आव २०७९/८० मा ९.६५ प्रतिशत चुहावट रहेको लमजुङमा आव २०८०/८१ मा बढेर १२.१४ प्रतिशत कायम हुन पुग्यो ।
लमजुङ वितरण केन्द्र प्रमुख मेघनाथ भट्टराईका अनुसार सामुदायिक विद्युतीकरणका ग्राहकलाई प्राधिकरण अन्तर्गत सार्ने क्रममा वास्तविक तथ्यांक नदेखिएका कारण आव २०७९/८० मा विद्युत् चुहावट ९.६५ प्रतिशत देखिएको र पछि ३४ हजार सामुदायिक गाहकलाई प्राधिकरण तान्दा त्यो वर्ष वास्तविक चुहावट १६ प्रतिशत रहेको थियो ।
सबै डाटा प्रशोधन गरेपछि आव २०८०/८१ मा १६ प्रतिशतबाट १२.१४ प्रतिशतमा घटेको भट्टराईले बताए । ‘संक्रमणकालीन अवस्थामा वास्तविक तथ्यांक नभएकाले चुहावट घटेको देखिएको थियो, अघिल्लो वर्ष (२०७९/८० मा), तर सबै डाटा आइसकेपछि १६ प्रतिशतबाट १२ प्रतिशत कायम भएको देखियो,’ भट्टराईले भने, ‘वास्तवमा चुहावट बढेको देखिएको मात्र हो, तर बढेको होइन घटेको चाहिं हो ।’
भट्टराईका अनुसार लमजुङमा सामुदायिकतर्फका ३४ हजार ग्राहकलाई प्राधिकरणमा तानिएको छ । सामु्दायिक ग्राहक प्राधिकरणमा नतानेको अवस्थामा लमजुङ वितरण केन्द्रले विद्युत् बेचेर १५ करोड रुपेयाँ आम्दानी गरेकोमा प्राधिकरणतर्फ आइसकेपछि आय बढेर २४.५ करोड रुपैयाँ पुगेको भट्टराईले बताए ।
लमजुङपछि चुहावट उच्च रहेको आरुघाट वितरण केन्द्र देखिएको छ । आरुघाटमा पनि आव २०७९/८० मा वितरणतर्फको चुहावट ८.२१ प्रतिशत थियो । गत वर्ष २०८०/८१ मा १२.०१ प्रतिशत पुगेको छ ।
आरुघाट वितरण केन्द्र्र प्रमुख हेमराज चापागाईंका अनुसार विकट भौगोलिक परिस्थिति, एउटै मात्र फिडरबाट धेरै टाढासम्म वितरण गर्नुपर्ने, लामो वितरण केन्द्र्र, पहाडी भेग भएका तुरुन्त मर्मत गर्न जान कठिन लगाएका कारण प्राविधिक चुहावट बढेको बताए ।
यता स्याङ्जा वितरण केन्द्रको पनि वितरण चुहावट घटेको छ । अघिल्लो वर्ष १२.१३ प्रतिशत चुहावट रहेको स्याङ्जमा आव २०८०/८१ मा १०.५७ प्रतिशतमा सीमित भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत प्राधिकरणको लेखनाथ वितरण केन्द्रमा पनि विगतको तुलनामा वितरण चुहावट घटेको देखिन्छ । आव २०७९/८० मा १०.५८ प्रतिशत चुहावट रहेकोमा आव २०८०/८१ मा ९.१७ प्रतिशतमा कायम भएको छ ।
लेखनाथपछि कम चुहावट भएको वितरण केन्द्र हो कावासोती । आव २०७९८० मा ८.८३ प्रतिशत चुहावट रहेको कावासोतीमा २०८०८१ मा ७.५३ प्रतिशतमा झरेको छ ।
यता गण्डकी प्रदेशको राजधानी पोखरामा चुहावट कावासोतीको भन्दा कम छ । २०७९/८० को तुलनामा २०८०/८१ मा ०.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । आव २०७९/८० मा ५.७८ प्रतिशत चुहावट रहेको पोखरामा २०८०/८१ मा ६.०२ प्रतिशत हुन पुग्यो ।
गण्डकी प्रदेशभरि कुल ४ लाख ९८ हजार एक सय ३२ ग्राहक छन् । यो प्रदेशमा प्राधिरकणे कुल वार्षिक आय ६ अर्ब ७० करोड रुपैयाँ छ । गण्डकी प्रदेशभरि गत वर्ष ६८ करोड ७१ लाख १० हजार युनिट बिजुली खपत भएको थियो । समग्र गण्डक प्रदेशको वितरण चुहावट ७.९६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष ९५.६८ प्रतिशत विद्युतीकरण रहेको गण्डकीमा गत वर्ष ९९.५४ प्रतिशत पुगेको छ ।
-जलसरोकारबाट