गुणस्तरीय विद्युत अवको योजना

  • प्रकाशित मिति : बुध, भदौ १३, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, १३ भदौ । नेपाल विद्युत प्राधिकरणले अघिल्लो हप्ता उत्साहपूर्ण रुपमा आफ्नो ३८ औँ वार्षिकोत्सव मनाएको छ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका कारण वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरण प्रमख प्राथमिकतामा रहेको बताउदै आउनुभएको छ । लगातार बढ्दै गएका ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने दायित्व तथा औद्योगिकीकरणमा जोड दिनुपर्ने आवश्यकता बीच प्राधिकरणले अझै जिम्मेवार भएर नयाँ योजना र कार्यक्रम अगाडि बढाउनुपर्नेछ ।
 
सरकारको लक्ष्य अनुसार आगामी दुई वर्षभित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युतको पहुँच पुर्याउन वितरण प्रणाली विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै काठमाडौँ लगायत मुख्य सहरमा आगामी ३० वर्षको बढ्दो विद्युत् मागलाई लक्षित गरी पर्याप्त साधरण तथा वितरण संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ त्यसबाट सन् २०५० सम्मको विद्युत् माग धान्ने मात्र नभई विद्युत्को गुणस्तर वृद्धि तथा नियमित विद्युत् आपूर्तिमा सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । 
 
प्राधिकरणको प्रणालीमा कूल जडित क्षमता दुई हजार आठ सय २२ मेगावाट बराबर पुगेको छ भने हाल करिब चार सय ५० मेगावाट विद्युत् छिमेकी देश भारतमा निर्यात भइरहेको छ । नेपालको विद्युत स्वादेशमा नै खपत हुननसक्दा प्राधिकरण निर्यातसम्मको अवस्था सम्म आइपुग्दा देशको विद्युत गुणस्तरमा प्रश्न उढ्ने गर्दछ किनकी पिक आवरमा विद्युत ट्रिपिङ्ग हुने समस्याबाट उपभोक्ता हैरानी बेहोर्दा प्राधिकरण प्रति उपभोक्ताको गुनासो आउने गरेको छ । यस्ता विषयलाई समाधान गर्न प्राधिकरणले विद्युत प्रणालिमा नै सुधार गर्न आवश्यक छ । 
 
विद्युतको खपत बढी हुने गरेको र सोही मात्रामा भोल्टेज नपुगेकाले बेलाबेला विद्युत अवरुद्ध हुने गरेको प्राधिकरणको बुझाई रहेको छ । प्राधिकरण र सरकारले नेपालमा उत्पादन भएको विद्युत स्वदेशमा नै खपतका योजना बनाउँदै गर्दा उपभोक्तालाई यस्तो समस्या भइरहदा खपत बढ्नुको साटो घट्ने हुन्छ किनकी विद्युत ट्रिपिङ्ग जस्ता समस्याले उपभोक्तामा नैराश्यता छाउने हुन्छ । अहिले नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन भए पनि प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले आपूर्तिमा समस्या हुनेगरेको छ । अहिले उपत्यकाका तीन जिल्लामा १० वटा मात्र  सबस्टेसन छन् । यो पर्याप्त मात्रमा छैन् । यस्ता समस्या दीर्घकालिन रुपमा समस्या समाधान गर्न प्राधिकरणले आवश्यकता सबस्टेसनहरू थप्ने र विद्युत प्रणालीमा सुधार गर्नुपर्ने नितान्त आवश्यक रहेको छ ।

प्रतिक्रिया