भर्खरै

ऊर्जा क्षेत्र र देश विकास

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, ६ भदौ । नेपालको ऊर्जाको विकासक्रमको लामो समय पश्चात आत्मनिर्भरता उन्मुख भएको छ । लामो समय लोडसेडिङ्गको मार खेपेको आम सर्वसाधरण आजको दिनमा नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवाको चाहाना भएको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठुला आयोजना अगाडि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणले साँच्चै अबको रणनिति नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्न गम्भीर हुनुपर्ने छ । बर्सातमा विद्युत् उत्पादन हुँदाहुँदै पनि समय समयमा हुने विद्युत ट्रिपिङ्गको कारण उपभोक्तासँगै उद्योगी व्यवसायीहरु मारमा पर्ने गरेको पाईन्छ ।
 
स्वच्छ ऊर्जाको पहुँचमा नेपालले गरेको प्रगति दक्षिण एसियाली देशको तुलनामा अब्बल छ । गएको शुक्रबार प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा आफ्नो ३८ औँ वार्षिकोत्सव मनाएको छ । आफ्नो वार्षिकोत्सव मनाउदैँ गर्दा पनि  मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने विषयले विशेष चर्चा पायो ।
 
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत् आयोजना एवं सौर्य विद्युतबाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीसामु विद्युतको पहुँच पु–याउने गरी वितरण प्रणाली निर्माण अगाडि बढाइएको छ । यसरी हेर्दा उज्यालो नेपाल अभियान सार्थकता उन्मुख भएको छ । 
 हाम्रो अहिलेको परिवेशमा विकासको मुख्य  र सजिलो माध्यम भनेकै जलविद्युतको विकास हो । यदी हामीले जलाशययुक्त आयोजना तुरून्त निर्माण गर्न सकिएन भने झनै बर्खायाममा उत्पादन धेरै भएर खेरफाल्नु परेपनि सुख्खायाममा भारत आश्रित हुनुपर्ने बाध्यत्मक अवस्था आउछ । यो सरकारले २०७२ सालमा जारी गरिएको ऊर्जा संकट निवारण अवधारणा अनुसार तत्काल काम सुरू गर्न आवश्यक छ । धेरै अघि बढिसकेको बुढिगण्डकी र पश्चिम सेती आयोजनालाई तुरुन्त सुरु गर्नुपर्छ। पश्चिम सेती एउटा आकर्षक आयोजना हो भने बुढिगण्डकी आयोजना महंगो भए पनि प्रोजेक्ट लोकेसनका कारण निकै महत्वपूर्ण आयोजना हो ।
 
विद्युत उत्पादकले अहिले भोगेको एउटा ठूलो समस्या प्रसारण लाइनको अभाव वा क्षमता नहुनू हो । नेपालभित्रै उत्पादित विद्युत एक ठाउँबाट अर्को  ठाउँमा पु¥याउन नसकेएको अवस्था छ । सरकारले देश भित्र प्रसारण लाईन बिस्तार र क्षमता बृद्धिको काम प्राथमिकतामा सुरू गर्नुपर्छ । दिर्घकालीन र अल्पकालिन विद्युत आयात र निर्यातमा चीन तथा भारतसँग थप प्रसारण लाईन निर्माण गर्ने गरी अन्तरदेशीय प्रसारण लाइन विस्तार द्रूत गतिमा गर्नुपर्छ । आन्तरिक वितरणका लागि ठाउँ ठाउँमा अफग्रिड र मिनीग्रिड वितरण लाईन बनाउदा भबिष्यमा तिनीहरुलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने गरी बिस्तार गर्नुपर्छ । यसले देश विकासमा ऊर्जाक्षेत्र कोशेढुङ्ग सावित हुनेथियो । 

प्रतिक्रिया