भर्खरै

बर्खायाम लाग्दै गर्दा विद्युत खेर जाने चिन्ता

  • प्रकाशित मिति : बुध, जेठ २४, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, २४ जेठ । नेपालको जलविद्युत विकासको इतिहास लामो रहेतापनि निजी क्षेत्रको प्रवेशपछि ३ दशकको अवधिमा ठुलो प्रगति भएको छ । निर्माणको अन्तिम चरणमा पुग्न लागेका जलविद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिँदै जाँदा राष्ट्रिय प्रसारणमा विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट पुग्न लाग्दैछ । नेपालमा उत्पादित विद्युत भन्दा खपत कम हुने भएकाले नेपाल विद्युत प्राधिकरणलाई बर्खायाममा विद्युत खेर जाने समस्याले सताउने गरेको छ । स्वदेशमा नै विद्युत खपतको प्रयास र मुलुक बाहिर विद्युत बिक्रि गर्न भारत मात्र पहिलो र एक मात्र विकल्प बन्ने गरेको छ । बङ्गलादेशलाई विद्युत बिक्री गर्ने विषय विगत लामो समय देखि चल्दै आएपनि विभिन्न समस्या र भारतको अनुमति नपाउन यसले सार्थकता पाउन सकेको छैन् । यद्यपि यस विषयले भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा यस विषयलाई चासोको रुपमा लिएको हुँदा आउने दिनमा नेपालको विद्युत तेस्रो मुलुकसम्म पुग्नेमा आशावादी हुनुपर्दछ । 
 
अहिलेको अवस्थामा प्राधिकरणले छिमेकी मुलुक भारतलाई बिक्री गर्दै आएको छ । तर बिक्री हुँदै आएको विद्युतको म्याद थप हुने÷नहुने संशय भने हरेक आखिरी घडीमा आएर हुने गर्नाले प्राधिकरण यस्तो पटके अनुमतिबाट हैरान हुँदै आएको छ । यो वर्षपनि नेपालमा बर्खायाम सुरुहँुदै गर्दा उत्पादित विद्युत खपत नभएर खेर जाने होकि भन्ने संशय पैदा भएको छ । भारतीय लगानी र सहयोगमा बनेका केही जलविद्युतबाट उत्पादित विद्युत भारतले लिने नीतिले अन्य जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर जाने खतरा बढेर गएको छ ।
 
नेपालमा केही वर्ष अघिसम्म विद्युतको माग अनुसारको उत्पादन हुन नसकेर लोडसेडिङको मार खेप्नु परेको थियो र, लोडसेडिङको तालिका प्रकाशित गरेरै आपूर्ति बन्द गरिन्थ्यो । तर, अहिले विद्युत उत्पादन बढ्दै गएकाले अब खपत पनि नबढ्ने हो भने यो वर्षदेखि विद्युत उत्पादन बन्द गर्ने तालिका सार्वजनिक गर्नु पर्ने अवस्था आउनेछ । यो राष्ट्रकै लागि ठूलो नोक्सानी हो । यसैले यसवर्ष पनि बर्खाका महिनामा ठूलो मात्रामा विद्युत खपत हुन नसकेर बढी हुने प्रक्षेपण गरिएकाले यो विद्युत खेर जान नदिई स्वदेशमा नै विद्युत खपत बढाउनु र निर्यात गर्न गृहकार्य गर्नुपर्ने हुन्छ । 
 
विद्युत खपत बढाउन जलविद्युतबाट उत्पादन हुने विद्युत माग बढी भएको बजारसम्म पुर्‍याउन उच्च क्षमताको प्रसारण लाइन तथा गुणस्तरीय वितरण प्रणालीको समस्या छ । निर्माण भइरहेका प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार आयोजनाको काममा पनि सुस्तता र ढिलासुस्ती छ । विद्युत खेर जाने समय नजिकिँदै गएकाले नेपाल विद्युत प्राधिकरणले विद्युतको आन्तरिक खपत बढाउन उद्योगले मागेको परिमाणमा विद्युत उपलव्ध गराउन आवश्यक छ । देशमा आवश्यक निर्माणाधीन उच्च क्षमताका प्रसारण लाइन सम्पन्न गरेर औद्योगिक क्षेत्रको विद्युत खपत बढाउनु पर्ने आवश्यकता छ । 

प्रतिक्रिया