भर्खरै

नेपाली उत्पादनलाई सरकारले प्राथमिकता दिनुपर्छ

  • प्रकाशित मिति : शनि, असोज १५, २०७९
  • - विद्युत संसार
title

 
    विगत २७ वर्ष देखि प्रत्यक्षरुपमा लिट्मस केबुलसँग जोडिएर काम गर्दै आएका सरोज मिश्र आज सम्म लुम्विनी विद्युत उद्योग प्रा.लि लाई निरन्तरता दिनुभएको छ । उहाँ नेपाल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स म्यानुफ्क्चरर्स एसोसियसन (नीमा) का महासचिव समेत रहनु भएका मिश्रसँग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले लुम्बिनी विद्युत उद्योग र लिट्मस केबुलको वर्तमान अवस्था, कम्पनीको भावि योजना साथै नीमाले गर्दै आएको र भावि दिनमा गर्ने कार्यक्रम योजना बारेमा गर्नुभएको कुराकानीको सम्पादित अंशः
 
लुम्बिनी विद्युत उद्योग र लिट्मस केबुलको बारेमा बताईदिनु होस् न ?
 
लुम्विनी विद्युत उद्योग सन् १९७७ सालमा स्थापित कम्पनी हो । सुरुमा लो भोल्टेजमा एसिएसआर कण्डक्टरहरु उत्पादन गरी नेपाल विद्युत प्राधिकरण र अन्य विद्युतीय प्रसारण लाइनहरुमा सप्लाई गरिरहेको अवस्था थियो । 
१९९८ मा हामी हाउस वायरीङ तार उत्पादन सुरु गरेका थियौ ।यस कम्पनीले समयक्रमसँगै आफुलाई विस्तारित गर्दै स्न २००० मा पहिलो पटक १३२ केभी मोदीखोला हाइड्रोपावरको ट्रान्समिसन लाइनमा ठूलो भोल्टेजको कण्डक्टर बनाएर सफलतापूर्वक सप्लाई गर्न सक्षम भएको हो । यही समयमा पावर केबुलहरु पनि उत्पादन सुरु गरेका हौं ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट २००८ मा आफ्नो उत्पादनको गुणस्तर चिन्ह् पाएका थियो । हामीले हाल कम्पनीको पुराना मेसिनहरुलाई परिवर्तन गर्दै नयाँ मेसिन राखेर आफ्नो उत्पादन बढाउँदै लगेका छौ ।यसको उपलब्धि स्वरुप हामीले नेपाल विद्युत प्राधिकरणमा एविसी केबलको झण्डै ६ हजार किलोमिटरको काम लिएर काम गर्दै आएका छांै । त्यसै एसिएसिआर कण्डक्टरको लो भोल्टेजको केबुल पनि केही प्रादेशिक कार्यालयको काम गत आर्थिक वर्षमा गर्दै आएका छांै । 
  यहि आर्थिक वर्षमा ढल्केबर इनरुवा ४ सय केभीएको ट्रान्समिसन लाइनको लागि जुन काम भइरहेको छ सो प्रसारणलाइनमा प्रयोग हुने एसिआर मुज कण्डक्टर प्रिमियर वायरको सहकार्यमा ३६ सय किलोमिटरको काम पनि लिन सक्षम भएका छौ । 
 
हाम्रो उत्पादन विशुद्ध व्यापार मात्र नभएर देशका लागि नै केही योग्दान दिन सकिन्छ कि भन्ने हिसावले हामीले हाम्रा उत्पादनहरुलाई बढाउँदै लगेका हौ नेपालमा ४ सय केभीए प्रसारण लाइनको लागि आवश्यक पर्ने सम्पुर्ण कण्डक्टरमा आत्मनिर्भर भएका छौ यो देशको लागि नै खुसीको कुरा हो । यो ट्रान्समिसन लाइनको लागि जुन काम भईरहेको छ त्यो काम समयमा नै सम्पन्न गर्नको लागि भईराखेको कामदारमा २५ प्रतिशत कामदार थप गर्नुपर्ने हुन्छ । यसरी नेपाली उद्योगहरुले ट्रान्समिसन लाइनको काम पाउदा अप्रत्यक्ष रुपमा राज्य र रोजगारदाताहरुको आर्थिक समृद्धि तर्फ समेत उन्मुख रहने छ। 
 
लुम्विनी विद्युत उद्योगको भावि योजनाहरु बताईदिनुस् न ?
 
         समय अनुसार कम्पनीले आफ्नो गति लिदै एड्भान्स टेक्नोलोजिसँग परिवर्तन हँुदै गएका छौ । अहिले हामीले प्रसारण लाईनका तार देखि हाउस वायरिङका तारहरु उत्पादनमा सिमित छौ हामीले अबको दुई वर्षमा हाइभोल्टेजका पावर केवलहरुसँगै नेपालको ट्रान्मिसनमा आवश्यक पर्ने उपकरणहरुमा आत्मनिर्भर बनाउने हाम्रो कम्पनीको मुख्य उद्धेश्य हो । 
   आज हामीले उत्पादन गरेका भन्दा फरक जस्तो एमसिवी देखि अन्य विद्युतीय सामग्रीहरु उत्पादनमा पनि हामी लाग्ने योजना बनाएर अगाडी बढिरहेका छौ । 
नेपालको इतिहासमा पहिलो पटक हामीले एसिएसआर कण्डक्टर उत्पादन गरेर सप्लाई गरिरहेका छौ । यो हाम्रो मात्र होईन देशकै लागि सुखद् अध्याय हो । अबका दिनमा यस्ता विषयमा आत्मनिर्भर बनेका छौ । यसले प्राधिकरणको योजनामा पनि साथ दिन सक्षम हुनेछ जसले गर्दा विदेशी मुद्रा बाहिर जानबाट रोकिनेछ ।
 
तारहरु उत्पादनमा नेपालका कम्पनीको लागि कच्चा पदार्थहरुको अवस्था कस्तो छ ?
 
ट्रान्समिसन लाइनको होस् या हाउस वायरीङका तार होस् । ती तारहरुमा लाग्ने एल्मोनियम, कपर, एस्एलपी कम्पाउन्ड र पिभिसि कम्पाउन्डको नेपालमा उत्पादन हुँदैन हामीले दुबई, अस्टेलिया र इण्डिया लगायत देशहरुबाट गुणस्तरीय कच्चा पदार्थहरु आयात गर्ने गरेका छौ । 
लिट्मस केबल् नेपालमा तार उत्पादक कम्पनीको अभिभावकत्व गरिरहेको छ यसले बजारमा एकरुपता नहुनुमा कसरी लिएको छ ?
नेपालमा तार उत्पादक कम्पनीहरु धेरै छन् त्यसमा पनि लिट्मस केबुल अरु कम्पनी भन्दा एक कदम अगाडि छ । किनकी लिट्मस केबुल २०३५ साल देखि आफ्नो उत्पादनलाई निरन्तरता दिदै आएको छ । यसैले पनि यस क्षेत्रमा लागेका कम्पनीहरुले नेपालमा उत्पादित विद्युतीय सामग्री गुणस्तरीय हुनुपर्दछ भन्ने मान्यता राख्दछ । यस विषयमा सबै स्थापित कम्पनीको हातेमालो आवश्यक छ ।
 
यो तार उत्पादक कम्पनीहरुको क्षेत्रमा सरकारको नीति कस्तो रहेको छ ? बताईदिनुहोस न ।
 
देशमा यतिखेर वित्तिय समस्या धेरै ठूलो समस्या देखिएको छ । किनकी बैँकहरुले व्याजदर बढाइरहेको छ । हामीले एलसी खोलेर र मेटिरियल बाहिरी मुलुकबाट ल्याउनु पर्ने बाध्यता हामीमा छ । हामी विकासोन्मुख देशमा राज्यले यस्ता समस्यालाई साझा समस्या हो यस्ता समस्याबाट समाधान पाउन राज्यले हामी व्यवसायीहरुसँग पारदर्शिताका साथ सहकार्य गर्न आवश्यक छ । यसमा राज्यसँगै एफएनसिसिआई, सिएनआई लगायत सम्पूर्ण व्यवसायीहरुको हातेमालो नै यस्ता समस्याको समाधान  गर्न अग्रसर हुनुपर्ने  देखिन्छ । 
सरकारले नेपाली उत्पादनलाई भन्दा आयात गरिएका वस्तुहरुमा धेरै आकर्षण बढाएको तथ्याङ्कले नै देखाउँदछ यो देश विकासकै कुरामा नकारात्मक विषय हो । सरकारको नीति आयातमुखी होईन निर्यातमुखी हुन जरुरी छ । यसैले राज्यले देशभित्र व्यापार व्यवसाय गर्ने नीति नियमहरु पनि सरकारले व्यवसायीमुखी बनाउन आवश्यक छ ।
 
नेपालमा यस क्षेत्रलाई अझ अगाडि बढाउन तपाईहरुको साझा संस्था नीमाको भुमिका कस्तो हुनुपर्ला ?
 
नेपालमा केबुल कण्डक्टस् उत्पादन गर्ने कम्पनीको छाता संगठन नेपाल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स म्यानुफ्क्चरर्स एसोसियसन् (नीमा) हो । यो संस्था जति पुरानो छ सोही अनुरुप संस्थालाई विकसित र सक्रियता बढाउन सकिरहेका छैनौ । यस विषयमा हामी संस्थाका सदस्यहरु नै जिम्मेवार छौ । हाल नेपालले विद्युत क्षेत्रमा ठूलो प्रगति गरिरहेको र नेपाल विद्युत प्राधिकरण सक्रिय रुपमा लागेको अवस्थामा  सिन जस्तो संस्था विगतका कमी कमजोरीहरुबाट सिकेर आगामी दिनमा हामी सक्रिय रुपमा लाग्नुपर्ने आजको आवश्यकता भएको छ । हाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाली उद्योगहरु अगाडि बढोस् भन्ने चाहाना छ । यो विषयमा हामीले विद्युत प्राधिकरणलाई धन्यवाद दिनुपर्दछ । 
 
नीमाले नेपालमा उत्पादित तारहरुको मूल्य समायोजन गर्ने गरेको छ तर कम्पनीहरुले आ–आफ्नो हिसावले मूल्य तोक्ने गरेको छ यसमा हजुरले के भन्नुहुन्छ ?
 
नीमा तार उत्पादक कम्पनीको छाता संगठन हो तर पनि यस्ता समस्या कहिलेकाहि उठ्ने गरेको छ । कहिलेकाहि गुणस्तरमा समेत केही त्रुटीहरु पाइएको गुनासो सुनिएको छ । यसको कारण केही उत्पादक र केही व्यक्तिलाई क्षणिक फाइदा पुगेपनि यसले उपभोक्ताको मात्र क्षति हुँदैन यसले राष्ट्रिय क्षति हुनेछ भन्ने विषयमा ध्यान दिन जरुरी छ ।
 
अहिले बजारमा केही कम्पनीहरु गुणस्तर घटाएर डिस्काउट बढाउने तर्फ ध्यान गएको छ भन्ने हामीले पनि सुन्ने गरेका छौ । म नीमाको महासचिवको नाताले पनि यस्ता विषयहरुमा ध्यान नदिन म आग्रह गर्न चाहान्छु । किनकी यस्ता प्रवृतिले उपभोक्ताहरुलाई मात्र घाटा होईन यसले हामी व्यवसायी र राष्ट्रलाई नै नोक्सान पुर्याउँदछ । 
 
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
 
वर्तमान अवस्थामा नेपाल विद्युतीय क्षेत्रमा ठूलो प्रगति गरेको छ । यसको अभियन्ताको रुपमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हुनुहुन्छ । उहाँले नै गरेको परियोजना अनुसार हाम्रा जस्ता कम्पनी पनि अघि बढ्ने अवसर प्रदान भएको छ । किनकी हाम्रो जस्तो कम्पनी साना कण्डक्टर उत्पादन गरेर बसिरहेका थियौ तर हाल नेपालले विद्युतीय क्षेत्रको प्रगतिसँगै हाम्रो जस्तो कम्पनी पनि ठूलो कण्डक्टर, र वायरहरुसँगै विद्युतीय उपकरणहरु उत्पादन गर्न अग्रसर भएका छौ । पहिला प्राधिकरणले नेपालमा उत्पादित ट्रान्सफर्मर लिने गरेको थिएन तर हाल नेपालमा उत्पादित ट्रान्सफर्मरहरु प्राधिकरणले लिने गरेको छ यस्ता खालका अध्यायले नेपाली कम्पनीहरुलाई नै अवसर दिएको छ । 
 
           अन्त्यमा नेपालीहरुको घर आँगनीमा आउदै गरेको विजया दशमी,शुभ दिपावली ,नेपाल सम्वत छठ पर्व एवं ल्होसार पर्वहरुको सुखद अवसरमा  स्वदेश  तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख,शान्ति,समृसद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया