सरकारले सहकारीलाई ३३ प्रतिशत लगानी गर्न आवश्यक छ
- प्रकाशित मिति : बुध, भदौ २२, २०७९
- - कुमार सिंह कार्की / सहकारी अभियन्ता, अध्यक्ष शिक्षक कल्याण बहुउद्धेश्य सहकारी संस्था
कुमार सिंह कार्की शिक्षक पेशालाई अंगाल्दै सहकारी अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँले शिक्षकहरु कै जीवनस्तरमा सघाउ पुर्याउन शिक्षक कल्याण बहुउद्धेश्य सहकारी संस्था स्थापना देखि विभिन्न सामाजिक कार्यमा आवद्धता हुनुभएको छ । उनै शिक्षक कार्कीसँग नेपालमा सहकारीको आर्थिक अवस्था, सहकारीका समस्या र सुधारका विषय देखि सहकारीले राष्ट्र निर्माणमा कस्तो सहयोग गर्न सक्छ लगायत विविध विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका प्रधान सम्पादक राम प्रसाद पौडेलले गर्नुभएको कुराकानीको सम्पादित अंशः
कुमार सिंह कार्की / सहकारी अभियन्ता, अध्यक्ष शिक्षक कल्याण बहुउद्धेश्य सहकारी संस्था
आज भोली नेपालमा सहकारीको अवस्था कस्तो छ ?
नेपालको परिवेशमा सहकारीले धेरै स्थानमा समाज परिवर्तन र सामाजिक रुपान्तरणको संवाहक बनेको छ । तर सबै क्षेत्रमा सोही अवधारण अनुसार काम भएको छैन् । नेपालमा आजभोली हरेक क्षेत्रसँग सम्बन्धित भएर सहकारी क्रियाशिल छन् तर सहकारी आन्दोलनको जे जति काम र कर्तव्य हुन्छ ति पुरा गर्न कही कतै चुकेको हो कि भन्ने भान चाहीँ हुन्छ । समाजमा समृद्ध बनाउन सकिन्छ भन्ने धारणा हामीसँग छ ।
सहकारीको वर्गिकरण कसरी हुन्छ । बताईदिनुस् न ?
कृषि क्षेत्रसँग सम्बन्धित रहेको छ भने कृषि सहकारी हुन्छ । सामान्यतय प्राय धेरै क्षेत्रमा समग्र रुपमा रहेका विभिन्न कार्यक्रमहरुसँग जोडिएर बहुउद्धेश्य बन्न सक्दछ । तर बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम बचत गर्ने र ऋण दिनेमात्र गर्दछ ।
सहकारी भित्रका समस्या समाधानका लागि निर्णयक भुमिका निर्वाह गर्न असक्षम भएको हो ?
सहकारी महासंघ, सहकारी विकास बोर्ड लगायत केन्द्रिय स्तरसम्म क्षेत्र अनुसार कै संगठन रहेका छन् । यसबाट पनि सामान्य सहकारी अभियान अंगालेर हिडेका छांै । अन्तर्राष्ट्रिय जगतमा सहकारीको भुमिकाहरु जस्तो हुनुपर्ने हो त्यहि अनुरुप चाँही नेपालमा कम छन् भन्ने मलाई लाग्छ ।
विकसित देशमा समृद्धि ल्याउन सहकारीको भुमिका ठूलो रहन्छ । नेपालमा चाहीँ सरकारीको अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा राजनैतिक दल देखि विभिन्न किसिमका धेरै कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ तर ति कार्यक्रमलाई मनिटरिङ र नियम गर्ने पाटो कमजोरी भएको छ । केही प्रदेशहरुमा यसलाई नियमन गर्ने विधान तथा कानुनहरु बन्दै गरेको परिस्थिति छ । राज्य पुन संरचनाका पछाडि आएर पनि सहकारी क्षेत्रलाई नियमन गर्ने पाटोमा गति लिन नसकेको हो कि जस्तो लाग्छ ।
सहकारीलाई स्थानिय तह, प्रदेश तह र राष्ट्रिय तह गरी तिन भागमा विभाजन गरिएको छ । यी तिनै भागले सहकारीलाई नियमन गदै एक सहकारी एक उत्पादन भन्ने हो भने समृद्ध नेपाल हुन समय लाग्दैन । सहकारी अभियान समृद्धि कै अभियान हो । राष्ट्र रुपान्तरण र समृद्धि हुन सहकारी आन्दोलन आजको आवश्यकता हो ।
बचतकर्ताहरुको रकम आफ्नो नीजि स्वार्थ प्रयोजनमा लगाएको आरोप लाग्ने गरेको छ, के यसमा सत्यता छ ?
यस्ता किसिमका समस्याबाट कही सहकारीहरु बदनाम भएका पनि सुन्ने गरिएको छ । तर सहकारीको मूल्य, मान्यता, ऐन, कानुनको परिधि भित्र रहने हो भने र नियमक निकायले नियमन गरिदिने हो भने यस्ता समस्या हट्ने थियो । हामी सहकारी आन्दोलन कर्ताहरुले पनि पहिले देखि भन्दै आएका हौं कि नेपालमा सहकारी दिनप्रति दिन बढ्दो छ तर बचतकर्ताहरुमा विश्वसनियता पनि बढ्दो छ यसैले सहकारीहरुलाई तिनै तहका निकायले नियमन गर्न ढिला भइसकेको छ ।
२०५४/०५५मा देशमा विद्रोह भइरहेको थियो सो समयमा नेपालमा प्रयाप्त बैंकहरु विस्थापित भएको अवस्था थियो । सो समयमा बेल्टर भन्ने स्थानमा श्रीपन्चमीको दिन श्रीपञ्चमी बहुउद्धेश्य सहकारी संस्था स्थापना गरेर आर्थिक कारोबारलाई टेवा दिनेका सुरुवात गरेका थियौ । सोही समयमा हामीले सहकारीको माध्यमबाट हाम्रो दैनिकीलाई पनि सँगै लैजान सकिन्छ भन्ने कुरा धारणा मनमा उब्जिसकेको थियो ।
राज्यका अन्य निजामति कर्मचारीको तुलनामा शिक्षण पेशामा लागेका शिक्षकहरुलाई सेवा सुविधा कम छन् । अब हामीलाई पनि वर्ण, वर्ग, लिंग, जातमा विभेद नभई सुविधायुक्त सस्था आवश्यक छ भन्ने अवधारणाका कारण शिक्षकहरुमात्र समावेश भएर सहकारी सिद्धान्तरुप दिदै हामीले २०५९ सालबाट शिक्षक कल्याण बहुउद्धेश्य सहकारी संस्था सुरुवात ग¥यौ । त्यही समयमा म आफै शिक्षक युनियनको अध्यक्ष थिए । हाम्रो संस्थाले धेरै त गर्न सकेको छैन् तर केही साथीहरु लाखका मालिक भएका छन् हाम्रो उद्धेश्य करोडको मालिक बनाउने हो । अहिले सात सय भन्दा शिक्षकहरु हाम्रो संस्थामा जोडिनु भएको छ । हामीले संस्थालाई अझ गति दिनुपर्छ र उत्पादनमा आवद्ध हुनपर्छ भन्ने उद्धेश्य लिएका छौ । हाम्रो संस्थाले बचतकर्तामा केही समस्या परेमा मात्र रकम दिने गर्दछौ । जथाभावी र बुझ्दै नबुझी ऋण दिने गरेका छैनौ ।
सरकारले सहकारीलाई पनि उदेश्यका साथ अगाडि बढ्न निर्देशन दिएको छ, यसलाई हजुरको सस्थाले कसरी लिएको छ ?
हाम्रो संस्थाले रकम लिने दिने मात्र नभएर अबका दिनमा उत्पादन मुलक क्षेत्रमा पनि संलग्न हुने सोच हाम्रो छ । अब संस्थागत विकास सँगै सामाजिक विकासमा पनि लाग्ने योजना छ । त्यसका लागि हामीले आधारभुत नीतिहरु निर्माण लागेका छौ । हामीले शिक्षक बचतसँगै परिवार बचत, जेष्ठ नागरिक बचत जस्ता योजना र रणनीतिहरु हाम्रो प्राथमिकतामा छन् ।
शिक्षकहरुकै बीचमा रहेको सहकारी संस्थाहरु प्रदेश स्तरमासँगै देशभरीका शिक्षकहरुका सहकारी गठनमा गर्ने विषयमा पनि हामी छलफलमा नै छौं । हाल देशका ६८ जिल्लामा शिक्षक सहकारी संस्था स्थापना भएको छ ।
सहकारीलाई उकास्न सरकारको नीति कस्तो हुनुपर्दछ ?
सहकारीले बचत कर्ताहरुसँग रकम उठाउने र ऋण दिने मात्र उद्धेश्य बोकेर सहकारी स्थापना हुनुहुँदैन् । र आज सम्म स्थापना भएका सबै सहकारीले पनि आफ्नो उद्धेश्य बदलेर उत्पादन मुलक क्षेत्रमा ध्यान केन्द्रित गराउनु पर्दछ । साना साना सुरुवातबाट नै भोलि ठूलो उद्योगभन्दाको स्थापना हुने हो जसको कारण समृद्ध राष्ट्र निर्माण सघाउन पुग्ने छ । अर्कोतर्फ सरकारले सहकारीलाई हेर्न दृष्टिकोण पनि परिवर्तन गर्न आवश्यक छ । केही सहकारी कानुनभन्दा बाहिर गएर सञ्चालन भएका छन् भने सबै सहकारी सोही संस्थासँग जोडेर हेर्न मिल्दैन् । सहकारीलाई उत्पादनसँग जोड सरकारले सहकारीलाई केही कुरामा सहुलियत र सुविधा पनि दिन आवश्यक छ । सरकारले आफ्नो नीति तथा कार्यक्रमहरु परिवर्तन गर्दै उत्पादन मुलक क्षेत्रमा सहकारीलाई जोड्न सरकारले सहकारीलाई ३३ प्रतिशत लगानी गर्न आवश्यक छ । देशका आर्थिक तरलताको समस्या छ त्यसका लागि सहकारीमा लगानी हुने थियो भने यस्ता समस्या प्रायः निर्मुल हुन्छ ।