ग्यास होइन, विद्युतबाटै मलकारखाना स्थापना हुँदा देशलाई ठूलो योगदान हुन्छ: ई. शाक्य
- प्रकाशित मिति : बुध, असार ८, २०७९
- - दिल्लीरत्न शाक्य, अध्यक्ष सोसाईटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)
नेपालको विद्युत क्षेत्रमा पाँच दशक अनुभव संगालेका ईन्जिनियर दिल्लीरत्न शाक्य विद्युतको क्षेत्रमा एक चिरपरिचित नाम हो । बम्बई यूनिर्भसिटीबाट इन्जिनियरिङ गरेका ई. शाक्यले वि.सं. २०३० मा विद्युत करर्पोरेशनबाट विद्युत क्षेत्रको कार्य प्रारम्भ गर्नुभएको हो । वि.सं. २०४९ सम्म नेपाल विद्युत प्राधिकरणमा सेवारत ई. शाक्य नेपाल जाईका आल्मुनाई एसोसियसनमा पनि लामो समयदेखि सक्रिय हुनुहुन्छ । ईलेक्ट्रिकल इन्जिनियरहरूको संस्था सोसाईटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) को भर्खरै सम्पन वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उनै ई. शाक्यसँग सीनको कार्ययोजना, प्राधिकरणसँग सीनको सम्बन्ध, नेपालमा इलेक्ट्रिकल ईन्जिनियर हरूको महत्व र नेपालमा मल कारखाना स्थापनाका सम्भावना लगायत विभिन्न विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः
दिल्लीरत्न शाक्य, अध्यक्ष सोसाईटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)
सीनमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अघिल्लो भन्दा केही विशेष छ की ?
हामीले सीनलाई सशक्त बनाउन र विद्युतको क्षेत्रमा विद्युत प्राधिकरणलाई उचित निर्णय लिन र त्यसको कार्यान्वयन गर्न सहयोग पुग्ने थुप्रै कामहरू थालेका थियौं । त्यहि कामलाई सफलतापूर्वक सम्पन्न गराउन सीनका सदस्य मित्रहरूले मलाई दोस्रो पटक जिम्मेवारी दिनुभएको हो । अहिले नयाँ कार्यसमितिमा केही गर्छु भन्ने जोश, जाँगर र क्षमता भएका थुप्रै युवा ईन्जिनियर भाईबहिनीहरू पनि आउनुभएको छ । उहाँहरूको ऊर्जाले सीनको निर्णय क्षमता र कार्यशैली थप सशक्त हुनेमा हामी आशावादी छौं । हाम्रो कार्यसमितिका युवा पिंढीमा भएको नयाँ प्रविधिको ज्ञान र नयाँ कार्यशैली सीनको स्तरोन्नति मात्रै होइन, देश विकासमा विद्युतको सदुपयोगमा समेत महत्वपूर्ण योगदान पुग्नेमा हामी विश्वस्त छौं । स्वदेशमा उत्पादित विद्युत स्वदेशमा नै कसरी खपत गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषयमा पटकपटक गोष्ठीको आयोजना गरिसकेका छौं ।
सीन कस्तो संस्था हो यो विषयमा प्रकाश पारिदिनुहोस् न ?
इलेक्ट्रिकल ईन्जिनियरहरूको साझा संस्था सीन नेपालको एक मात्र संस्था हो । विद्युत विकासका साथै इलेक्ट्रिकल इन्जिनियरहरूको हकहितका लागि वि.स.२०५१ सालमा ईन्जिनियरहरू मानकाजी श्रेष्ठ, एल. आर. तामाङ, बालसुन्दर मल्ल र मेरो नेतृत्वमा यस संस्थाको स्थापना भएको हो । यस संस्थाले स्थापना कालदेखि नै इलेक्ट्रिकल इन्जिनियरहरूको हकहितका लागि काम गर्दै आईरहेको छ । हाल ३५० भन्दा बढी ईन्जिनियरहरू सीनमा आवद्ध भईसकेका छन् ।
अर्को महत्वपूर्ण पक्ष के हो भने, सीनका सदस्यहरू विद्युत प्राधिकरणका बहालवला कर्मचारी भएकै कारण सदस्यका हक हितका साथै विद्युत प्राधिकरणलाई कसरी टेवा दिन सकिन्छ भन्ने विषयमा पनि सीन उतिकै सक्रिय छ । प्राधिकरणलाई टेवा दिनु भनेको नै कुनै एउटा संस्थाको हित नभई देशकै समग्र विकासका लागि योगदान पुर्याउनु हो । प्राधिकरण र विद्युत खपत गर्ने उपभोक्ता बीचको अहिले ठूलो खाडल छ । यसले गर्दा प्राधिकरण र उपभोक्ता दुवैको हित हुने गरी विद्युत खपत सम्बन्धी उचित निर्णय लिन समस्या परेको महशुस गरेर सीनले प्राधिकरण र उपभोक्ता विशेषगरी उद्योगीबीच पुलको काम गर्दै आएको छ । सीनको स्थापना कालदेखि नै चैत्र २६ गते इलेक्ट्रिकल सेफ्टी डे मनाउन शुरु गरिएको हो । विद्युतीय दुर्घटनाबाट जोगाउन चालिएको यो अभियानलाई हामीले आजसम्म निरन्तरता दिईरहेका छौं ।
सीनमा दोस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा अबका भावि योजनाहरू के–कस्ता छन् ?
मेरो पहिलो कार्यकालमा कोरोना महामारीका कारण हामीले सोचेअनुरुप काम गर्न सकिएन । तैपनि हामी चुप लागेर बसेनौं । भौतिक रुपमा कुनै पनि कार्यक्रम गर्न सम्भव नभएता पनि हामीले वेविनारको आयोजना गरी सीनको कामलाई निरन्तरता दिएका थियौं । हामीले बितेको दुई वर्षमा दुईवटा सेमिनार र एउटा वेविनार गरेर प्राधिकरणलाई उपभोक्तामुखी बनाउन झकझकायौं भने पछिल्लो समयमा राष्ट्रिय प्रसारण लाईनमा थपिएको र थपिंदै जाने विद्युत खपतका लागि सम्भाव्य क्षेत्रहरूको पहिचान गर्न सहयोग गरेका थियौ । यसलाई त्यो समयको सबैभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ । हामीले विद्युतीय चुल्हो वितरण गर्नुपर्ने, विद्युत महशुल घटाएर विद्युत खपतका लागि प्रोत्साहन गर्नुपर्ने आवाज उठाउँदै आएका छांंै । दुई पटक महशुल घटेको छ तर त्यतिले पुग्दैत अझै कम गर्नुपर्छ भनेर हामीले भन्दै आएका र्छौ । एलपिजी ग्यासभन्दा विद्युतीय चुल्होको प्रयोग गर्दा खर्च धेरै कम हुन्छ भनेर उपभोक्तालाई पनि बारम्बार जानकारी गराइरहेका छौं ।
नेपालमा ९० प्रतिशत वातावरण प्रदुषण ठूलो उद्योगधन्दाहरूका कारण भएका छन् । खासगरी वातावरण प्रदुषण बोइलर हुने उद्योगहरू र ईंटाभट्टा उद्योगहरूमा प्रयोग हुने कोइला, ग्यास र अन्य इन्धनबाट भईराखेको छ । ती उद्योगधन्दाहरूमा ऊर्जाका लागि विद्युतलाई शतप्रतिशत प्रयोगमा ल्याउन आवश्यक छ । विद्युतको प्रयोग गर्न सके वातावरण प्रदुषणमा कमी आउने छ र यसो गर्न सकियो भने वातावरण प्रदुषणमा ८० प्रतिशतले कमी ल्याउन सकिन्छ । यो विषय सरकारले पाँच वर्षमा गरिसक्नुपर्नेछ । यस्ता विषयमा प्राधिकरण र उद्यमीहरूलाई सहजीकरण गर्न हामीले समन्वयात्मक भूमिका खेलिरहेका छौं । हाल १० वटा ईंटाभट्टा उद्योगहरू हामीसँग सम्पर्कमा छन् । यही आर्थिक वर्षभित्र धेरैभन्दा धेरै उद्योगहरूले ऊर्जाका अन्य स्रोतको साटो स्वदेशी विद्युत नै प्रयोग गर्ने वातावरण बनाउन हामी प्रयासरत् छौं । ती उद्योगहरूलाई आवश्यक विद्युत सहुलियत दरमा उपलब्ध गराउन प्राधिकरणले सहमति जनाइसकेको छ । बोइलर हुने उद्योगहरूसँग पनि विद्युतबाट बोइलर चलाउने विषयमा छलफल गर्न १–२ हप्ताभित्र अन्तरक्रियाको आयोजना गर्दैछौं ।
अहिले एउटा महत्वपूर्ण काम गर्न लागेका छौं । हामीले आगामी साउन महिनार्मा हरेक घर : ऊर्जा घर’ नारासहितको वृहत्त गोष्ठीको आयोजना गर्दैछौं । यसको मूल उद्देश्य ग्राहकको घरको छानामा जडान गरेको सोलारबाट निस्केको ऊर्जा आफूले प्रयोग गरेर बढी भएको प्राधिकरणकै मिटरबाट प्राधिकरणलाई बेच्ने हो । एक लाख ग्राहकको घरमा सोलार प्यानल जडान गरी प्राधिकरणको मिटरसँग जोड्न सकेमा र एक घरबाट १ किलोवाट मात्र सौर्य ऊर्जा प्राधिकरणको ग्रीड सिस्टममा पठाउन सकिएमा पनि प्राधिकरणले हाइड्रोपावर नबनाइकनै पनि १०० मेगावाट बराबरको विद्युत प्रणालीमा थपिन्छ । योभन्दा राम्रो कुरा अरु के हुन सक्छ र । त्यसैगरी पेट्रोलियम पदार्थको खपत घटाउन इलेक्ट्रिकल सवारी साधनको प्रयोग बढाउनु जरुरी छ ।
नेपालमा मल कारखाना स्थापनाको सम्भावना कस्तो छ ?
नेपालका जलविद्युतबाट हाइड्रोजन र हावाबाट नाइट्रोजन निकालेर दुवै मिसाउँदा आमोनिया बन्दछ । त्यही आमोनिया र सिमेन्ट उद्योगबाट निस्कने फ्ल्यू ग्यासमा भएको २० प्रतिशत कार्वनडाईअक्साईड मिसाउँदा युरिया मल उत्पादन हुनेछ । यसकारण नेपालमा चाहिने युरिया मल विदेशबाट आयात गर्नुपर्दैन, मलकारखाना नेपालमा नै सम्भव छ भनेर हामीले बारम्बार भनिरहेका छांंै । नेपालमा अहिले युरिया मल उत्पादन ग्यासबाट सस्तो हुन्छ भन्ने गरिएको छ तर यो गलत हो । किनकी ग्यास आयात गर्नुपर्ने हुन्छ भने विद्युत स्वदेशमा नै उत्पादन हुन्छ । अन्य देशमा ग्यास छ, उनीहरूलाई ग्यासबाट मल उत्पादन सस्तो पर्छ । तर हाम्रोमा विद्युत छ, त्यसैले विद्युतबाट मल उत्पादन गर्दा सस्तो पनि अनि दीर्घकालीन पनि हुन्छ । जाइकाले सन् १९८४ मा नेपालमा मल कारखानाको सम्भावना अध्ययन गरेर हेटौंडा सिमेन्ट उद्योगमा मलकारखाना स्थापना गर्ने भनेर भनिसकेको अवस्थामा चलखेल भएर त्यहाँ बनाउन नदिएको अवस्था हो । अझैपनि विद्युतबाटभन्दा ग्यासबाट सस्तो हुन्छ भनेर भ्रम फैलिरहेको अवस्था छ । यसलाई चिर्न हामी लागि परेका छौं । स्वदेशमा नै मलकारखाना स्थापना हुनुपर्छ भनेर सीन लामो समयदेखि लागि परेको छ । हाम्रो अग्रसरताका कारण आर्थिक वर्ष २०७९÷०८० को बजेटमा पनि यस विषयमा सम्बोधन गराउन सफल भएका छौं ।
सिसडोलमा जम्मा भएको काठमाडौं उपत्यकाको फोहोरलाई प्रशोधन गरेर दुई किसिमको मल उत्पादन गर्न सकिन्छ । कम्पोष्ट मल त हुने नै भयो, फोहोर प्रशोधनबाट निस्कने कार्वनडाईअक्साइड र ६५ मेगावाट विद्युतको प्रयोग गरी ईलेक्ट्रोलाईसिसबाट निस्कने हाइड्रोजनबाट रसायनिक मल उत्पादन हुनसक्छ । यसको लागि थापाथली ईन्जिनियरिङ क्याम्पसमा हाम्रा इन्जिनियरहरू विस्तृत डिजाइन गर्न लागिपरेका छन् । मलाई आशा छ निकट भविष्यमै हाम्रा विज्ञहरु सफल हुनेछन् र सिसडोलका जनताले रोजगारी पनि पाउनेछन् ।
इलेक्ट्रिकल इन्जिनियर्सहरूको संस्था सीन हो तर हाल इलेक्ट्रिकल इन्जिनियरहरू विदेशिने क्रम बढ्दो छ यसलाई कसरी हेरिरहनुभएको छ ?
हामीले सरकार समक्ष उठाएका मागहरू पुरा भएको भए कोही इलेक्ट्रिकल इन्जिनियर विदेशिनु पर्ने अवस्था आउने थिएन । प्राधिकरणमा पहिले ट्रान्समिसन लाईन सव स्टेशनहरूको डिजाईन गर्नुपरेमा बाहिरबाट महँगोमा इलेक्ट्रिकल इन्जिनियरहरू ल्याउने गरिन्थ्यो तर हाल त्यो अवस्था छैन । प्राधिकरणभित्र हाल धेरै सक्षम इलेक्ट्रिकल इन्जिनियरहरू छन् । प्राधिकरणले नै एनइए पावर इन्जिनियरिङ संस्था खडा गरेको छ, यसले ट्रान्समिसन लाईन सव स्टेशनसम्मको डिजाईन गर्दछ । यसले गर्दा इन्जिनियरहरूको रोजगारी बढ्दो छ भने केही इन्जिनियरहरू स्वरोजगार नि भएका छन् । यसकारण इलेक्ट्रिकल इन्जिनियरहरू विदेशिने क्रम घट्नेमा हामी आशावादी छौं ।
भवन निर्माण गर्दा विद्युतीय नक्सामा सरकारले किन प्राथमिकता नदिएको होला ?
यो विषय गुणस्तर विभागले एउटा कमिटी गठन गरेर हेर्ने गरेको छ । उक्त कमिटीमा सीनको एकजना प्रतिनिधि पनि हुनुहुन्छ । यस्तो महत्वपूर्ण विषयमा सरकारले पर्याप्त ध्यान नदिएको हो कि भन्ने हामीलाई पनि लागेको छ । भवन निर्माण गर्दा विद्युतीय नक्सा अनिवार्य गर्न हामीले माग गरेका छौं । यसको लागि एक अध्ययनको जरुरी छ । अध्ययनले गुणस्तर राम्रो गरेको देखियो भने राम्रै भयो तर कही समस्या भएमा हामी सहयोग गर्न तयार छौं ।
घर निर्माण गर्दा विद्युतीय नक्सा अनिर्वाय गर्न सरकारसँग आवश्यक पूर्वाधारहरू छन् कि छैनन्, अध्ययन हुनु जरुरी छ । साथै केन्द्र सरकार, महानगरपालिका र विद्युत प्राधिकरणबीच समन्वयको पनि खाँचो छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामीले विद्युत उत्पादनसँगै विद्युतको गुणस्तर र स्वदेशमै विद्युत खपतलाई मूख्य प्राथमिकतामा राखेका छांै । जसका लािग गुणस्तरको स्तर हेर्न हामीले छुट्टै कमिटी बनाउँदै छाै । त्यति मात्र होईन, इन्जिनियरहरूको गुणस्तर बढाउन पनि हामीले धेरै कुरा गर्नुपर्नेछ । यस तर्फपनि हाम्रो ध्यान केन्द्रित भएको छ । साथै विद्युतको बढ्दो उपभोगसँगै बढ्ने विद्युतीय दुर्घटनाबाट इलेक्ट्रिकल इन्जिनियरका साथै विद्युतीय क्षेत्रमा काम गर्ने सबै र विद्युत उपभोक्ताहरूलाई जोगाउन पनि हाम्रो प्रयास जारी छ ।