मध्य भोटेकोशी आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै
- प्रकाशित मिति : Sat-18-Jan-2076
- - Admin
काठमाण्डौ, बैशाख । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि
जलविद्युत आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण आयोजना समयमा नै सम्पन्न हुन नसकेको हो । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सो आयोजना निर्माण गरिरहेको छ । सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । आयोजना नै अन्योलमा पर्ने अवस्था देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन पहिले आयोजनास्थलको निरीक्षण गरी निर्माण अवस्थाको बारेमा जानकारी लिएका थिए । आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अलपत्र छ । ठेक्का सम्झौतामा भएको
व्यवस्थाअनुसार काममा सुधार गर्न निर्देशन दिए पनि कम्पनीले काममा तदारुकता देखाएको छैन । ठेकेदार कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति भएको
छैन ।
आयोजनाको प्रवद्र्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक शेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि बढाएका थिए ।
मध्य भोटेकोसीले गत २७ फेब्रुअरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो । त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार कालेले बताए ।प्रमुख कार्यकारी अधिकृत कालेका अनुसार चीनबाट ठेकेदार कम्पनीका अधिकार प्राप्त अधिकारी छलफलका लागि आए तर ठोस निर्णय हुन सकेको बताए । निर्माणका लागि आवश्यक पर्ने उपकरण कसरी ल्याउने, नगद कहाँबाट जुटाउने लगायतका विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेको भए पनि उसले दिन नसकेको उनले बताए । आयोजनामा ढिलाइ भइरहे प्रवद्र्धक कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ । हालसम्म बाधस्थल खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउनेलगायतका काम भएका छन् । कूल सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । इलेक्ट्रिक मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।