भर्खरै

आगामी ४ वर्षमा २ हजार ३९३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप हुदै

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौँ, चैत । आगामी ४ आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा कूल २ हजार ३९३ दशमलव १८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

सरकारले आगामी ४ वर्ष भित्रमा कुल १ सय १० वटा आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरी उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको छ ।

आइतबार ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलन गरी १ वर्षे कार्यप्रगति विवरण सार्वजनिक गर्दै आगामी आवमा हालसम्मकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने मन्त्रालयले जनाएको छ । यस आयोजनाको भौतिक प्रगति ९७.९ प्रतिशत सम्पन्न भइसकेको छ,उक्त आयोजनाले आव २०७६/०७७ बाट विद्युत उत्पादन शुरु गर्ने सरकारी लक्ष्य छ । हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबको विद्युत् जोडिएको छ । सरकारले गत बैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजना सहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चालु आव २०७५/०७६ मा २८७ दशमलव शून्य ५ मेगावाट क्षमताका २० वटा आयोजनाहरु निर्माण सम्पन्न हुने छ ।

त्यस्तै आव २०७६/०७७ मा ९८२ दशमलव ८४ मेगावाटका २३ वटा आयोजना,२०७७/०७८ मा ४५४ दशमलव ९५ मेगावाटको ३० वटा आयोजना र आव २०७८/०७९ मा ६६८ दशमलव ३४ मेगावाटको ३७ आयोजनाहरुको निर्माण कार्य सम्पन्न भई विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने मन्त्रालयले जनाएको छ । यी चार वर्षको अवधिमा प्रणालमिा थप हुने विद्युत मध्ये सबै भन्दा धेरै विद्युत आव २०७६/०७७ मा र कम आव २०७५/०७६ मा उत्पादन भई प्रणालीमा जोडिने मन्त्रालयको आकलन छ ।

यस वर्ष निर्माण सम्पन्न भई ग्रिडमा जोडिएका आयोजनाहरु

ऊर्जा मन्त्रालयको एक वर्षको अवधिमा ९ वटा आयोजनाहरु राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ । ग्रिडमा जोडिएको आयोजनाहरुमा ८ मेगावाटको माई साना क्यास्केड,१३ मेगावाटको मद्क्यु खोला,७ मेगावाटको मोलुङ्ग खोला, १ दशमलव ५ मेगावाटको ठेउले खोला,७ दशमलव ८ मेगावाटको सुपर माई हाईड्रोपावर,शून्य दशमलव शून्य ४ मेगावाट,शून्य दशमलव ९६ मेगावाटको सोबुवा खोला,शून्य दशमलव ९६ मेगावाटको विष्णुपिय्रा सोलार फारम आयोजना र शून्य ९६ मेगावाटको सिंहदरबार परिसर सौर्य ऊर्जा गरी कुल ३९.३६ मेगावाट क्षमताको आयोजनाहरु राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको विवरणमा उल्लेख छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे समिक्षा

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षको अवधिभरमा भएको ऊर्जा क्षेत्रको प्रगति विवरण सार्वजनिक गर्दै यो वर्ष लाई समृद्धिको आधार वर्षको रुपमा लिएको छ । यो अवधिमा भएको कानुनी तथा नीतिगत सुधारले ऊर्जा क्षेत्रमा दीर्घकालिन फाइदा पुग्ने बताएका छन् । एक वर्षको अवधिमा विद्युत व्यापार ,प्रसारण लाइन विस्तारका लागि भारत,चीन र बंगलादेशबीच भएको सम्झौतालाई पनि एउटा उपलब्धिको रुपमा लिइएको छ । आगामी चैत ७ गतेबाट जनताको जलविद्युत शेयर वितरण हुने मन्त्री पुनले बताए । उनले भने करिब ३५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको सुरु गरिएको कार्यक्रमको शेयरका लागि ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी,४८ मेगावाटको भेरी बबई र तामाकोसी ५ आयोजना अघि बढाउने तयारी भएको मन्त्री पुलले बताए ।

प्रतिक्रिया