आठ वर्षमा प्राधिकरण ८२ अर्ब नाफामा, बङ्गलादेशमा बिजुली निर्यात यसै वर्षदेखिः निर्देशक घिसिङ

  • प्रकाशित मिति : शुक्र, साउन २५, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २५ साउन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो ८ वर्षमा ८२ अर्ब नाफा कमाएको बताउनु भएको छ ।
 
२०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको निर्देशक घिसिङले दाबी गर्नुभयो ।
 
दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणको नाफामा विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताउनुभयो । 
 
समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ घिसिङले भने, ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’
 
प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उहाँले बताउनुभयो।
वितेका ८ वर्षमा तीन पटक विद्युतको महसुल २५ प्रतिशतले घटाइए पनि प्राधिकरणको नाफा बढेको उहाँको भनाइ छ । 
 
 
प्राधिकरणको ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमा नै विद्युत् उपलब्ध गराइएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा विद्युत् निःशुल्क र सहुलियत गरिएको घिसिङले बताउनु भयो । यसैगरी विद्युतीय सवारीको प्रयोगका लागि प्रोत्साहन गर्नेगरी विद्युतीय सवारी चार्जिङ शुल्कमा समेत सहुलियत दिएको उहाँले बताउनुभयो ।
 
साथै नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात यसै वर्ष शुरू हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विश्वास छ । अहिले आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बङ्गलादेशका निकायबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ । तर अहिले बङ्गलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले सम्झौता रोकिए पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष बिजुली निर्यात शुरू हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वास व्यक्त गर्नुभयो ।
 
उहाँका अनुसार अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।

प्रतिक्रिया