भर्खरै

३४ बर्षको यात्रामा स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र निकले नेपालमा पहिलो पटक ‘प्याकेज सबस्टेसन’ उत्पादन गर्दै

  • प्रकाशित मिति : शुक्र, बैशाख २१, २०८१
  • - विद्युत संसार संवाददाता
title

 
काठमाडौँ २१,बैशाख। गुणस्तरीय ट्रान्सफर्मर उत्पादन तथा आपूर्तिमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक)  ले ३४ बर्षको यात्रामा स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र निकले नेपालमा पहिलो पटक ‘प्याकेज सबस्टेसन’   उत्पादन गर्ने भएको छ । भारतको स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरी नेपालमा उत्पादन गर्न लागेको हो ।
उक्त सबस्टेसन उत्पादनको अनुमतिपत्र पाएको अवसरमा निकले बिहीबार एक कार्यक्रम गरी त्यसको जानकारी गराएको थियो । सोही अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा गुणस्तरीय ट्रान्सफर्मर उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आएको निकले नयाँ प्रविधि भित्र्याएकोमा खुसी व्यक्त गरे ।
 
विद्युत् वितरणका क्षेत्रमा निकले देशमा भित्र्याएको यो नयाँ प्रकारको प्रविधि हो । आगामी दिनमा प्राधिकरणले आफ्ना सबस्टेसनलाई यही प्रविधिमा सुधार तथा स्तरोन्नति गर्दै लैजान सक्ने र विद्युत् आपूर्तिका क्षेत्रमा विश्वसनीय उपलब्धि हुने विश्वास गरिएको छ ।
 
समारोहमा निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले विद्युतीकरण तथा प्रविधि आयात एवम् प्रयोगमा कम्पनीले नयाँ सुरुवात गरेको बताए । उनका अनुसार यस्तो सबस्टेसन औद्योगिक क्षेत्र, सिँचाइ, खानेपानी, कर्पोरेट अफिस, टेलिकम लगायतमा बढी उपयोगी हुनेछ । यसबाट विद्युतीय दुर्घटना कम हुनुका साथै प्राविधिक चुहावट पनि कम्ती हुने उनको भनाइ छ ।
 
निकले स्नाइडरबाट अनुमति लिएको हुँदा सबस्टेसन उत्पादन गर्दा त्यसको मापदण्ड, गुणस्तर र आकार–प्रकारमा समेत ध्यान दिनुपर्ने छ । यदि, उसको मापदण्डभन्दा फरक वा कम गुणस्तरको उत्पादन गरेमा भारतीय कम्पनीले अनुमतिपत्र फिर्ता लिने सक्ने छ । यसकारण पनि उक्त सबस्टेसन उत्पादनका क्रममा निकले आफूलाई थप निपुण बनाउनुपर्ने चुनौती थपिएको छ ।
 
यस्तो सबस्टेसन बिग्रिएमा दक्ष इन्जिनियरको खाँचो नपर्ने र सामान्य प्राविधिकले समेत मर्मत गर्न सक्ने जनाइएको छ । बाहिरी अनावश्यक विद्युतीय तरंग तथा प्राकृतिक विपद्बाट यस्तो सबस्टेसन बढी सुरक्षित हुने पनि बताइएको छ । निकका अनुसार विद्युत् प्रणाली प्रभावकारी रूपमा सञ्चालन तथा विद्युत् प्रवाह गर्ने उद्देश्यले यो सबस्टेसनले निकै महत्त्वपूर्ण भूमिका खेल्ने छ । उसले सुरुमा ११ केभीसम्मको प्याकेज सबस्टेसन उत्पादन गर्ने जनाएको छ ।
 
ठूलो परिमाण ट्रान्सफर्मर उत्पादक एकमात्र कम्पनी निकद्वारा उत्पादित ट्रान्सफर्मर नेपालसँगै भुटान र बंगलादेशमा समेत निर्यात हुँदै आएका छन् ।
 
के हो प्याकेज सबस्टेसन

‘एसेम्बल’ र ‘ब्राण्ड’ कम्प्युटरको उदाहरणको आधारमा यो सबस्टेसनलाई बुझ्न सकिन्छ । मानौं, एसेम्बल कम्प्युटरमा विभिन्न कम्पनीका सामान जोडिएर सिंगो ढिक्का बनाइन्छ भने ब्राण्डमा एउटै ढिक्का हुन्छ । त्यस्तै, प्याकेज सबस्टेसन पनि अरूजस्तो विभिन्न प्रकारका सामान जडान गरेर नभई एउटै ढिक्कामा उत्पादन हुन्छ । प्राधिकरणले भविष्यमा विस्तार गर्ने साना–साना सबस्टेसन तथा उद्योग, कलकारखानामा यस खालको ‘ढिक्के सबस्टेसन’ले पुरानो प्रविधिलाई विस्थापित तथा स्तरोन्नति गर्न सक्छ ।
 
विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा दशकौंदेखि सरकारको एकाधिकार प्राप्त संस्था प्राधिकरणले समेत भित्र्याउन नसकेको नयाँ प्रविधि आयातमा निकले अग्रसरता लिएको छ । यसबाट प्रस्ट हुन्छ, नवीन प्रविधि आविष्कार, विकास र विस्तार निजी क्षेत्र चनाखो र अग्रसर हुने गर्छ ।
 
मुख्यतः सन् १९३४ मा फ्रान्समा स्थापना भएको स्नाइडर कम्पनी नयाँ प्रविधि आविष्कार र विस्तारमा विश्वभरि नै लोकप्रिय छ । अहिले यसले आफ्नो सेवा संसारभरि फिँजाएको छ ।्
नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले गुणस्तरीय ट्रान्सफर्मर उत्पादन तथा आपूर्तिमा अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा गरेको ३४ बर्षको यात्रा पुरा गरिसकेको छ ।
 
ऊर्जा खबरको सहयोगमा 

प्रतिक्रिया