भर्खरै

नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : मंगल, फागुन १, २०८०
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title

चितवन (भरतपुर), १ फागुन । नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
 
महासङ्घले आफ्नो वार्षिक साधारण सभा माघ २७ गते शनिबार ग्यालेक्सी गार्डेन रिसोर्ट नारायणगढ भरतपुरमा सम्पन्न गरेको हो ।
 
नेपालभर २२ जिल्ला/नगर संघ एवं ७५ एसोसिएट सदस्य र पाँच हजार भन्दा बढी सदस्य रहेको महासङ्घले आफ्नो चौधौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
 
कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य एवम् सडक यातायात तथा परिवहन समितिका सभापति शिव प्रसाद घिमिरेले सम्बोधन गर्नुहुँदै देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा हामी उद्योगीहरू सङ्गठित भएर हाम्रा समस्याको आवाज उठाउन आवश्यक रहेको बताउनुभएको छ । 
 
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको सबैभन्दा ठूलो सञ्जाल भएको नाताले सरकारलाई ब्याजदर, तरलता समस्याले उद्योगी व्यावसायीमा पर्न गएको समस्याको विषयमा पटक पटक कुरा उठाउँदा पनि आवश्यक समन्वय नगरेको प्रति दुख व्यक्त गर्नुभयो । ‘सरकारले देशको अर्थतन्त्र सुधार भइसकेको बताउदै आएपनि अवस्था त्यस्तो छैन् अहिले उद्योगबाट उत्पादित बस्तुले बजार पाएपनि मुनाफा आर्जन गर्न सक्ने अवस्था छैन् देशका युवालाई रोजगारीका लागि विदेश पठाएर रेमिटेन्सले अर्थतन्त्रमा सुधार भन्नु सुनिएर मोटाएको सरह हो ।’ उहाँले भन्नुभयो । देशको अर्थतन्त्र साँच्चै सुधार गर्न सरकारले अर्थनीतिमा नै आमूल परिवर्तन गर्नु आवश्यक छ । 
 
त्यस्तै कार्यक्रममा विशेष अतिथिमा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य तथा स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमालले व्यवसायीहरू जुनसुकै संघ संस्थामा आवद्ध भएता पनि एक आपसमा एकजुट हुन आवश्यक रहेको बताउनुभयो । देशको अर्थतन्त्रमा ८१ प्रतिशतको योगदान निजी क्षेत्रको हुँदै गर्दा हामी व्यवसायीहरू प्रति सरकारको नकारात्मक दृष्टिकोण भएको भन्दै दुःख व्यक्त गर्नुभयो । 
 
उहाँले वर्तमान अवस्थामा सबै उद्योगी व्यवसायीहरू समस्यामा भएकोले कार्यक्रममा विद्युतीय व्यवसायीहरूले उठाउनु भएका समस्याहरू नेपाल उद्योग वाणिज्य महासङ्घको आफ्नै समस्या भएको बताउँदै यस्ता विषयमा महासंघ गम्भिर भएको बताउनुभयो ।  
 
महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले यस महासङ्घका आवद्ध उद्योगी व्यवसायिहरूले देशभर करिव २५ हजारलाई प्रत्यक्ष रोजगारी दिएका छ भने २७ अर्बको स्थायी लगानी रहेको जानकारी दिनुभयो । यस क्षेत्रमा करिव एक सय वटा उद्योगहरू रहेको छ भने नेपाल लो–भोल्टेज क्षमता र एसी कन्डक्टरमा आत्मनिर्भर रहेको जानकारी दिनुभयो । 
 
उहाँले वार्षिक एक खर्बको विद्युतीय सामग्री आयातलाई प्रतिस्थापन गर्न अद्यौगिक वातावरण बनाई सरकारले अगाडि बढाउन सके थप रोजगारी सृजना हुने र स्वदेशमा उत्पादित विद्युत खपत बढ्दा देशको व्यापार घाटा समेत घट्ने महासङ्घको अपेक्षा छ । देशको अर्थतन्त्रमा समस्या आउँदा उद्योगीमा निराशा छाएको र उद्योगधन्दा पनि क्षमता भन्दा निकै कममा चलिरहेको छ भने साना र मझौला उद्योगधन्दा बन्द हुनेक्रम बढ्दो रहेकोले सरकारले यस विषयमा पनि ध्यान दिन अध्यक्ष देवकोटाको आग्रह थियो ।  सरकारले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग कुनै पनि सहकार्य नगरेको र सरकारले ल्याएका कार्यक्रमले पनि वर्तमान अवस्थामा देशको अर्थतन्त्रमा कुनै सुधार आउन नसकेको बताउनु भयो । उहाँले नेपालका उद्योगहरूलाई आवश्यक पर्ने कच्चापदार्थमा भन्सार दर न्यून बनाउन र एलइडी जन्य कच्चापदार्थको भन्सार दर शून्य बनाउन सरकारलाई आग्रह गर्नुभयो । 
 
अध्यक्ष देवकोटाले महासङ्घले २/२ वर्षमा आयोजना गर्ने विद्युतीय सामग्रीहरूको प्रदर्शनी फिन इलेक्ट्रो–टेक–२०२४ यहि वर्ष काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । यस कार्यक्रमको लागि पनि सम्पूर्ण उद्योगी व्यवसायीहरुमा सहयोगको अपेक्षा रहेको बताउनुभयो । 
 
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले हामी उद्योगी व्यवसायी राज्यको मेरुदण्ड भएपनि हेर्ने नजर सकारात्मक नभएको बताउनुभयो । कोभिड महामारी पछि व्यापार व्यवसायको अवस्था खस्कदो रहेको र हाल आर्थिक मन्दीले व्यवसायी नाफा भन्दा पनि आफ्नो व्यवसाय कसरी सञ्चालन गर्ने विषय सोचनीय रहेको बताउनुभयो । सरकारले अनुगमनको नाममा व्यवसायीलाई तर्साउने काम गरेको सरकारले उद्योगीलाई सम्मानजनक औद्योगिक तथा व्यवसायीक वातावरण दिन नसकेको आरोप लगाउनुभयो ।  
 
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ ले बैंकको ब्याजको कारण उद्योगीलाई समस्यामा परेको बताउनु हुँदै बैंकको ब्याजदर कम गर्न सरकार समक्ष आग्रह गर्नुभयो । उहाँले सरकारले ल्याएको भ्याट सम्बन्धी नियमले उद्योगीलाई अझ समस्या बनाएकोले यस विषयमा आवज उठाउन महासङ्घको समेत ध्यानाकर्षण गराउनुभयो । 
 
त्यस्तै कार्यक्रममा अतिथिहरूमा चितवन उद्योग संघका अध्यक्ष सुर्य न्यौपाने, नेपाल विद्युत व्यवसायी महासंघ पूर्व अध्यक्ष प्रकाशमान प्रधान, नेपाल विद्युतीय व्यवसायी महासंघ पूर्व अध्यक्ष गोविन्द प्रसाद कँडेल, नेपाल विद्युतीय व्यवसायी महासंघ पूर्व अध्यक्ष राम बहादुर श्रेष्ठ, नेपाल विद्युतीय व्यवसायी महासंघ पूर्व अध्यक्ष महेन्द्र कुमार राठी, नेपाल विद्युतीय व्यवसायी महासंघ पूर्व अध्यक्ष तेज नाराणय खरेल, नेपाल विद्युतीय व्यवसायी महासंघ प्रथम उपाध्यक्ष एवम् चौधौं वार्षिक साधारण सभा मुल आयोजक समितिका संयोजक प्रेम बहादुर जिसी, साधारण सभा आयोजित जिल्ला विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदी, लगायत विभिन्न जिल्ला संघका अध्यक्ष तथा कार्यसमिति एवम् प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन महासंघका महासचिव गोपाल अग्रवालले गर्नुभएको थियो ।
 
आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गर्ने सदस्यमा अर्किड इलेक्ट्रिकल प्रा.लि.,सितापाईला,काठमाण्डौं एसोसिएट तर्फ वेलकम टेक्नोलोजी प्रा.लि.भोटेबहाल, काठमाण्डौ र तिरुपति मार्केटिङ प्रा.लि.,भोटेबहाल, काठमाण्डौ  संघ/संस्थागत तर्फ (जिल्ला संघहरु मध्येबाट ) प्रथम काठमाडौं विद्युतीय व्यवसायी संघ, दोस्रो विद्युतीय व्यवसायी संघ चितवन र तेस्रो पोखरा इलेक्ट्रिकल एशोसियसन लाई सम्मान गरिएको थियो । त्यस्तै महासङ्घको भवन निर्माणमा सहयोग गर्नुहुने सदस्यहरू क्रमशः  तेज नारायण खरेल, वामदेव शर्मा,विनोद बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, भक्ति प्रसाद पाठक नविन कुमार अग्रवाल र निर बहादुर भुजेललाई सम्मान गरिएको थियो । त्यसैगरी महासंघका पूर्व महासचिव हरिराज वाग्ले लाई  सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
 
मुख्य प्रायोजक जानकी केवल इण्डष्ट्रिज प्रालिका, सह प्रायोजक एसजी इलेक्ट्रिकल्स प्रा.लि.,प्रायोजक लिट्मस केवल इण्डष्ट्रिज प्रा.लि., आइडिया ग्लोबल प्रालि र उग्रतारा मल्टिसोलुसन प्रालि ले गरेको थियो, भने ब्यागको  प्रायोजक प्राची इलेक्ट्रिकल एसोसेरिज उद्योग काठमाण्डौले गरेको थियो । विभिन्न कम्पनीहरुले व्यानर प्रायोजन समेत गरिएको थियो ।
 
महासङ्घले आफ्नो वार्षिक साधारणसभाको अवसरमा महासंघको सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन लगायत अन्य गतिविधिहरु सहित ‘ज्योति स्मारिका’ विमोचन गरिएको थियो । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । महासङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अविभावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया