भर्खरै

अबको १२ वर्षमा २९ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको छः ऊर्जामन्त्री बस्नेत

  • प्रकाशित मिति : शनि, पौष २१, २०८०
  • - शिखर श्रेष्ठ / विद्युत संसार संवाददाता
title

काठमाडौं, २१ पुष शनिबार । ऊर्जा जलस्रोत तथा सिचाँई मन्त्री शक्ति बहादुर बस्नेतले सरकारले अबको १२ वर्षमा २८ देखि २९ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।
 
शनिबार सूर्य इभेन्ट चावहिलमा भएको काठमाडौं विद्युतीय व्यवसायी संघको चौधौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले अबको १२ वर्षमा २८/२९ हजार मेगावाट विद्युत उत्पादन गर्ने र १४/१५ हजार मेगावाट विद्युत आन्तरिक खपत गर्नुका साथै यही परिणाम अनुसार निर्यात गर्ने विषयमा पनि गम्भिर भएर छलफल भइरहेको जानकारी दिनुभयो । 
 
 
‘उक्त योजनामा आर्थिक रूपले पनि ६५ देखि ७० खर्बको कारोबार हुने हामीले अनुमान लगाएका छौ, सँगै एक हजार मेगावाट विद्युत उत्पादन गर्दैगर्दा ३० हजार जनशक्तिले रोजगारीको अवसर सिर्जना हुने हुनेछ । यसैले उर्जा क्षेत्र बहुआयमिक महत्व रहेको र नेपालको व्यापार सन्तुलनमा पनि ठूलो भूमिका निर्वाह गर्दछ ।’ मन्त्री बस्नेतले भन्नुभयो ।
 
सरकारले १२ वर्षको यस्तो योजना ल्याउँदै गर्दा विद्युतीय व्यवसाय अभिन्नअंकको रुपमा रहेको हुनाले सोही अनुपातमा विद्युतीय व्यवसायीहरूले पनि प्रगति गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘विद्युत व्यवसाय क्षेत्रको आवश्यकता र महत्व अझ गुणात्मक ढंगले बढ्ने अवस्था सिर्जना भइरहेको छ ।’
 
‘वर्तमान सरकार सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको क्षेत्रमा मुख्य प्राथामिकतामा राखेर काम गरिरहेको छ । यसैले व्यवसायीहरूलाई परेका समस्याहरूको सम्बोधन गर्न सरकार तत्पर रहेको विश्वस्त दिलाउन चाहन्छु’ उहाँले भन्नुभयो । 
 
 
ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उहाँले जानकारी दिनुभयो । 
 
मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताउनुभयो । 
“तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ”, ऊर्जामन्त्री बस्नेतले भन्नुभयो, “एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निराशाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।”
 
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई हेर्न दृष्टिकोण अझै पनि परिर्वत हुन नसकेकोले व्यवसायीहरुमा अझ उत्साह थपिन नसकेको बताउनु भयो ।
 
 
उहाँले राज्यले जबसम्म उद्योग स्थापना गर्ने नीति ल्याउँदैन तबसम्म देश विकासले गति लिन नसक्ने उहाँको दाबी थियो । १० वर्षमा १० हजार मेगावाट विद्युत बिक्री गर्ने सरकारको लक्ष्यलाई सकारात्मक रुपमा लिन सकिएयता पनि सरकारको नीति परिवर्तन हुन नसक्दा लक्ष्य भेट्न समस्या हुने उहाँले संकेत गर्नुभयो । 
 
सभालाई सम्बोधन गर्दै विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तथा काठमाडौं विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहनुभएका रेशम प्रसाद देवकोटाले सरकारले व्यवसायीहरूलाई विभिन्न बहानामा दुख दिने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । व्यवसायीहरूले कानुन बमोजिम व्यवसाय गर्नुपर्दछ तर आर्थिक मन्दीको समयमा पनि सामग्री आयातमा समस्या देखि पसलका होडिङ् बोड राख्न महँगो शुल्क तिर्नुपर्ने बाध्यताले व्यवसायीलाई दुख दिने काम सरकारबाट नै भइरहेको उहाँको भनाई रहेको थियो । 
 
अध्यक्ष देवकोटाले महासङ्घले यही वर्षमा ‘इलेक्ट्रो–टेक २०२४’ कार्यक्रम गर्न आवश्यक छलफल थालिसकेको जानकारी दिनुभयो । उहाँले महासङ्घको भवन निर्माण जारी रहेपनि आर्थिक रुपमा समस्या रहेकोले आफ्ना सदस्यहरूलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । महासङ्घका सदस्यका लागि राहत कोष स्थापना गर्ने देखि स्मार्ट एम बनाउने सम्मको योजना बमोजिम महासङ्घले काम गरिरहेको उहाँको भनाई रहेको थियो । 
 
 
 त्यस्तै कार्यक्रममा संघका अध्यक्ष दिवेश कुमार जैनले नेपाल गुणस्तर चिन्ह प्राप्त विद्युतीय सामग्रीमा पनि गुणस्तर सुनिश्चितता नभएको प्रति दुख व्यक्त गर्दै यस तर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । व्यवसायीले लामो समयदेखि विद्युतीय सामग्रीहरूको गुणस्तर परिक्षण गर्न टेष्टल्याबको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दा पनि हाल सम्म सुनवाई नभएको जिकिर गर्नुभयो ।  
सरकारले विद्युतीय सामग्री सम्बन्धी नीति नियम बनाउँदा विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासङ्घको प्रतिनिधित्व गराउन सरकार समक्ष अध्यक्ष जैनले आग्रह गर्नुभयो ।
  
 
संघले आफ्नो चौधौँ वार्षिक साधारण सभाको अवसरका संघका पूर्व कोषाध्यक्ष प्रभाकर पुरी, संघका पूर्व कार्यसमिति सदस्य जगदेव प्रसाद यादव, संघका सदस्य निभराज जोशीलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो भने युनिक इलेक्ट्रिक इन्टरप्राइजेजका प्रोपराईटर दिलिप कुमार जैन, जनता केबल इन्डष्ट्रिज प्रा।लि।का सञ्चालक पवन कुमार अग्रवाल र प्राची इलेक्ट्रिक एक्सेसरीज उद्योगका सञ्चालक प्रमोद महत्तालाई कदर पत्र द्धारा सम्मान गरिएको थियो । 
 
कार्यक्रममा मन्त्री बस्नेतले संघद्धारा प्रकाशित ‘विद्युत स्मारिका २०८०’ लोकार्पण गर्नुभएको थियो । कार्यक्रमले एसईई २०७९ मा सहभागी हुनु भई विशिष्ट श्रेणी ल्याई उत्तीर्णलाई सम्मान गरिएको थियो । जसमा बेला पोखरेल, सिद्धान्त न्यौपाने र विद्यान अर्याललाई प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।
 
 
कार्यक्रमको मुख्य प्रायोजकमा यूनिक इलेक्ट्रिक इन्टरप्राइजेज रहेको थियो भने ब्याग प्रायोजकमा जनता केबल इन्डष्ट्रिज प्रा.लि. रहेको थियो । 
 
तस्विरः निर्मल श्रेष्ठ / विद्युत संसार साप्ताहिक पत्रिका

प्रतिक्रिया