नेपालको हवाई सुरक्षामा प्रश्न !

  • प्रकाशित मिति : बुध, माघ ४, २०७९
  • - राम प्रसाद पौडेल
title

काठमाडौं  माघ । नेपालमा हवाई सेवाको इतिहास सात दशक पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन ।  नेपाली आकाशमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न नसकेको देखिन्छ भने युरोपेली देशहरुमा समेत उडान अनुमति पाउन सकेको छैन । 
 
नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा चलिरहेकै बेला पुनः दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ । आइतबार बिहान मात्र पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्युवरण गर्नु परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए ।
 
यो घटना आफैमा दुखद् छ । हवाइ यातायात भरपर्दाे र सुरक्षित मानिए पनि नेपाली आकाशमा पछिल्लो समयमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन, पर्याप्त सूचनाको लागि विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुर्घटनाको घटनाहरु बढ्दै गएको जानकारहरु बताउँछन् ।
अहिलेसम्म नेपालमा साना ठूला गरी १०८ वटा हवाई दुर्घटना हुँदा ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । प्राधिकरणको नियमअनुसार २० वर्षभन्दा पुराना जहाज आयात गर्न पाइँदैन । तर हामीकहाँ भने एउटा कम्पनीले अर्कोलाई बेचबिखन वा भाडामा दिएर पुराना जहाज पनि चलाउने गरेको पाइन्छ ।
 
विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनु लगायत कारण नेपालमा हवाई दुर्घटना हुने गरेको भनिएता पनि आइतबारको दुर्घटना हेर्दा मौसमको अवस्था र भौगोलिक जटिलता खासै नराम्रो हुँदा के कारणले दुर्घटना भएको हो भन्ने प्रश्न खडा भएको छ ।
सरकारले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका निम्ति विभिन्न कार्यक्रमहरुको योजना ल्याउने गरेता पनि ति कार्यक्रमहरु फलदायी हुन सकिरहेका छैनन् । सरकारले पाइलटहरुलाई यथेस्ट तालिम र क्षमता विकासमा सघाउन सके हवाई क्षति कम हुुन सक्ने थियो तर सरकारको ध्यान त्यसतर्फ जान सकिरहेको छैन ।
नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुको तर्क 
छ । 
कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ । भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने थियो । 
 
अर्कोतर्फ प्रकृतिलाई दोष दिएर मात्र कर्तव्य पुरा हुँदैन । वर्षौं वर्षका पुराना जहाज, निजी विमान कम्पनीको अस्वस्थ प्रतिस्पर्धा, फितलो सरकारी कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दै आएका छन् । सरकारले उडानका लागि अनुमतिको बाढी ल्याएको छ । सञ्चालकहरुको पैसा कुम्ल्याउने महत्वकांक्षाका कारण आकाशमा जोखिमको यात्रा गर्नुपर्ने जहाजहरु हवाई ट्रक हुने गरेका छन् । अब भने सम्बन्धित निकायले गम्भिर भएर सोच्नु आवश्यक छ । गल्ती नदोहो¥याउने संकल्प सबैले गर्नु आवश्यक छ ।
नेपाली आकाशमा उडान भरिरहेका साना जहाज दुर्घटनाको मुखबाट जसोतसो जोगिएका घटना विवरण हेर्ने हो भने प्राविधिक अवस्था खासै राम्रो छैन भनेर देखिन्छ । अनि दुर्घटना भएर मृत्यु भइसकेपछि भने चालकको दोष भनेर प्रतिवेदन बन्छ ।
 
 अहिलेसम्म दुर्घटनाका सम्बन्धमा बनेका छानविन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापर्वाही औंल्याएका छन् । तर विडम्बना के छ भने तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मत सम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । यसले पनि सरकारका हवाई दुर्घटनाका विभिन्न प्रतिवेदन र सुझावहरु कतै झारा टार्ने मेसो मात्रै त बन्दै छैन भनेर शंका गर्ने ठाउँ देखिन्छ । नेपालका ध्वजाबाहक विमानहरुलाई असुरक्षित ठान्दै युरापेली मुुलुकहरुमा उड्न प्रतिबन्ध लगाईएको लामो समय भइसकेको छ । यसले नेपालको बाह्य उडान विस्तारमा विश्वास जित्न सकेको छैन । 
 
बारम्बार हवाई दुर्घटना भएपछि नेपालको हवाई आकाशलाई असुुरक्षित ठानिएपछि सरकारी क्षेत्रबाट यसको क्षमता विकास गर्न सरकार अझै पछि परेको देखिन्छ ।
नेपालमा बारम्बार हुने हवाई दुर्घटनाले विश्व बजारमा नेपाली हवाई क्षेत्र असुरक्षित भएको आलोचना खेपिरहँदा नेपाली आकाश क्षेत्रलाई सुुरक्षित बनाउन पर्यटन तथा नागरिक उड्यन मन्त्रालय एंव नागरिक उड्यन प्राधिकरण निरन्तर सहकार्यमा जुुटेर प्रभावकारी रुपमा अगाडि बढ्नुु पर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया