भर्खरै

ब्याजदर वृद्धिको विरोध

  • प्रकाशित मिति : बुध, कार्तिक २३, २०७९
  • - कुशल रिजाल / काठमाडौँ
title

काठमाडौँ, २३ कात्तिक । देशको अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भुमिका हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक अवस्थाको सुधार हुन्छ भने त्यस देशको आर्थिक अवस्थाको सुधार पनि हुन्छ । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक रुपमा बलियो हुन देशमा उद्योग तथा कलकारखाना र उत्पादनमा वृद्धि हुनुपर्दछ र देशमा आयात भन्दा निर्यात बढ्नु पर्दछ । नेपालका सन्दर्भमा विश्लेषण गरिँदा बैंक तथा वित्तीय संस्था र उद्योग व्यवसायबीचको सम्बन्ध सोचेजस्तो राम्रो हुन सकेको छैन । 
 
यतिबेला बैंकहरूको ब्याजदर वृद्धिको असन्तुष्टि सडकसम्म पोखिएको छ । शुक्रबार माइतीघरमा दर्जन बढी व्यवसायी ब्याजदर वृद्धिको विरोधमा आन्दोलित भए । अर्थमन्त्रालयदेखि नियामक निकाय नेपाल राष्ट्र बैंकसम्म धाएका उनीहरू आफूहरू को माग सुनुवाइ नभएपछि विरोधमा निस्किएका हुन् । शान्तिपूर्ण विरोध भनेपनि ब्याजदर वृद्धिको तनावले व्यवसायीहरू अशान्त देखिन्थे । हाल अहिले बैंक तथा वित्तीय सस्थाहरु प्रति व्यवसायीहरुले आलोचना र विरोध गरिरहेका छन् । यसको मूख्यकारण नै  बैंक तथा वित्तीय संस्थाले लगानीलाई नै प्रतिकूल असर पार्ने गरेको व्यवसायीको आरोप छ । 
उद्योगी, व्यवसायीको मुख्य असन्तोषको विषय भनेकै वर्तमानमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिने ऋणमा चर्को ब्याजदर हो । हाल उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले ऋणमा ब्याजदर बढाएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु संञ्चालन गर्दै आएका छन् ।
 
चर्को ब्याजदरकै कारण उद्योग, व्यवसायी शान्तिपूर्ण आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुलाई उपयुक्त भने मान्न सकिँदैन । काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा यस प्रकारका आन्दोलन देखिन सुरु भइसकेका छन् । उद्योगी व्यवसायीले यो स्थितिलाई वित्तीय आतंकको अवस्थाका रूपमा चित्रण गर्न थालेको अवस्थासमेत छ । कतिपय आन्दोलन गर्नेमा तिनै व्यवसायी बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता र सञ्चालक समेत छन् । उद्योगी तथा व्यवसायीको मागका रूपमा ब्याजदर एकल अंकमा झार्नुपर्ने, बैंकको सेवा शुल्क हटाउनुपर्ने, प्रिमियममा कटौती तथा ब्याजदरमा स्थिरता उनीहरूको माग रहिआएको छ । तर नेपाल राष्ट्र बैंकले भने व्यवसायीहरूले नाराजुलुश लगाउँदैमा ब्याजदर नघट्ने स्पष्ट पारेको छ । यसले गर्दा उद्योगी र व्यवसायीको माग पुराउनेमा शंका छ ।
 
अहिले नेपालका थुप्रै स्टार्टअप व्यवसाय पनि बढदो ब्याजदरको चपेटा परेका छन् । स्थापित भइसकेका कतिपय व्यवसाय समेत यसको मार खेपिरहेको छ । कोभिड–१८ को कारण संकुचित अर्थव्यस्था नसुधारिंदै रसिया–युक्रेन युद्धका कारण विश्वव्यापी बढेको महँगी तथा ब्याजदर वृद्धिको प्रभावले नेपालललाई मात्रै छोएको छैन, यसले सबैजसो नेपालीको घर र भन्सा प्रभावित गरेको छ । कोभिड महामारीले थिलोथिलो बनाएको नेपाली अर्थतन्त्रमा खासै सुधार आएको छैन । यही बेला अत्यासलाग्दो महँगी छ । जनताको दैनिक खर्च भने आकाशिएको छ । तर, ज्याला र पारिश्रमिक बढेको छैन । अर्कोतर्फ विभिन्न कामका लागि नागरिकले बैंकबाट लिएको कर्जाको ब्याजदर झन्–झन् महँगो हुँदैछ । यसले ऋणीहरुलाई थप पिरोलेको छ ।
 
एक वर्षदेखि बैंक तथा वित्तीय संस्थामा आर्थिक अवस्था कमजोर भएको छ । सरकारले पनि अर्थतन्त्रमा नकारात्मक असर देखेकै कारण विभिन्न सामग्रीहरुमा आयात प्रतिबन्द लगाउँदै आएको छ तर पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छैन् । ब्याजदर बढ्दै जाँदा मुलुकको अर्थतन्त्रमा यसले निम्त्याउने विषम परिस्थितिको आंकलन समय छँदै गरिँदा अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सहज हुनेछ । भोलिका दिनमा औद्योगिक वातावरण खल्बलिँदा यसबाट रोजगारी, राजस्व जस्ता क्षेत्रमा पर्ने प्रभावबारे अध्ययन, अनुसन्धान जरुरी छ ।  ब्याजदर तथा तरलता अभावको प्रत्यक्ष असर व्यावसायिक वातावरणमा पर्ने भएकाले सरकार तथा राष्ट्र बैंक्को पहल महत्वपूर्ण हुन्छ । भोलिको दिनमा अर्थतन्त्रमा आइपर्ने समस्या बारे आज नै सरकार र राष्ट्र बैंकले समाधान खोज्नु आवश्यक छ ।

प्रतिक्रिया