भर्खरै

पार्किङ समस्या समाधानमा महानगरको कदम

  • प्रकाशित मिति : बुध, भदौ १५, २०७९
  • - पवन क्षेत्री/काठमाडौं
title

काठमाडौं १४ भदौ । काठमाडौं महानगरपालिकामा फोहोर पछिको प्रमुख समस्याको रुपमा पार्किङ देखिएको छ । महानगरपालिमाले पार्किङको व्यवस्थापनको रुपमा विभिन्न योजनाहरु अगाडि सार्दै आएपनि त्यसले सार्थकता पाउन सफल भएको पाइदैन् । साँघुरा सडक अनि सवारी साधनको चापको कारण महानगर भित्र पार्किङको समस्या वर्षेनि बढ्दो छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भटराई प्रधानमन्त्री भएको समय काडमाडौं उपत्यकाका सडक बढाउन त सफल भएका हुन तर पनि त्यतिले सवारीको चापलाई थेग्न मुस्किल भइरहेको छ । 
 
उपत्यकाका न्यूरोड, इन्द्रचोक,असन, ठमेल, त्रिपुरेश्वर, पुतलीसडक, दरबारमार्ग, बानेश्वर, पाटन, मंगलबजार, लगनखेल, कुमारी पाटी लगायत ठाउँमा अहिले पार्किङको चरम अभाव छ । मुल सडक नै साँघुरो बनाएर बाटोमै गाडी–बाइक पार्किङ गर्नुपर्ने अवस्था छ । अझ त्यति गर्दा पनि पार्किङको समस्या ज्यूँका त्यूँ देखिन्छ । कुनै समय न्यूरोड, ठमेल, दरबारमार्ग, पाटन, मंगलबजार क्षेत्रमा मात्र हुने गरेको पार्किङको समस्या अहिले अन्यत्र पनि देखिन थालेको हो । जताततै सडकमै पार्किङ गरेको देखिन्छ । पार्किङ व्यवस्थित बनाउने जिम्मेवारी पाएका स्थानीय तहहरुले चाँडै ध्यान दिएनन् भने उपत्यकाको जताततै पार्किङ समस्या देखिने स्पष्ट छ ।
 
उपत्यकामा सवारी पार्किङ कै समस्या समाधान गर्नका निम्ति महानगरले स्मार्ट पार्किङ सुरु गर्ने देखि महानगर भित्र भवन निर्माण गर्दा नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन आग्रह गर्दै आएको छ । महानगरपालिकाले सडकको छेउमा सेता धर्सा तानेर डिजिटल बिल दिएकै भरमा त्यसैलाई स्मार्ट पार्किङ भनिरहेको छ । काठमाडौं महानगरपालिकाले सुरु गरेको स्मार्ट पार्किङको शुल्क निजीको भन्दा महँगो भएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । निजी कम्पनीसँगको साझेदारीमा महानगरपालिकाले दरबार मार्ग, विशालबजार, न्युरोड, खिचापोखरी, पाको र धर्मपथ क्षेत्रमा स्मार्ट पार्किङ सुरुगरेको थियो । कम्पनीले उपभोक्तासँग दुईपाङग्रे सवारी साधनको प्रतिघण्टा १५ देखि २५ रपैयाँ र चारपांङग्रे सवारी साधनको प्रतिघण्टा ८० रुपैयाँ लिँर्दै आएको छ । तर निजी कम्पनीले दुईपाङग्रेको प्रतिघण्टा २० र चारपाङग्रेको प्रतिघण्टा ५० देखि ६० रुपैयाँ मात्रै शुल्क लिइन्छ । महानगरपालिकाको सम्झौता अनुसार कम्पनीले पाँच वर्षसम्म सोही दरमा शुल्क उठाउन पाउनेछ ।
स्मार्ट पार्किङका नाममा स्थानीय सरकारले लुट नै मच्चाए पनि व्यवस्थापनमा भने खासै चासो दिईरहेको पाइदैन् । अझ भनौ स्मार्ट पार्किङको नाममा पाँच मिनेट राख्दापनि एक घण्टा पार्क गरेको बराबर असुल हुने गरेको छ । यो अन्यायपूर्ण छ । प्रविधिमैत्री हुनै राम्रो हो तर निजी कम्पनीको साझेदारीमा स्थानीय सरकारले उपभोक्ताबाट महँगो शुल्क असुल गरेको प्रति बेलाबखत चर्चा चल्ने गरेको छ । यस विषयमा महानगर गम्भिर भएर सोच्च अत्यन्त जरुरी छ । महानगर भित्र विभिन्न स्थानमा निजी क्षेत्रले स–शुल्क पार्किङ भन्दै दैनिक हजारौँ रकम उठाउने गरेका छन् । प्रायः यिनीहरु विना दर्ता सञ्चालनमा छन् । यसले गर्दा त्यसवापत सरकारलाई आउने वार्षिक लाखौ रकम गुमिरहेको छ । 
 
महानगरभर १ सय ४३ वटा अस्थायी पार्किङ स्थल भएपनि ति पर्याप्त छैनन् । नत व्यवस्थित नै छन् । महानगरको फितलो व्यवस्थापनले ४ वटा स्मार्ट पार्किङ पनि चर्को शुल्क असुल्ने माध्यम बनेको छ । न्यूरोड क्षेत्रमा मात्रै दैनिक एक लाख रुपैयाँभन्दा बढी पैसा सवारी पार्किङबाट उठ्ने गरेको देखिन्छ। जहाँ दुई पाङ्ग्रेकै लागि पनि प्रतिघन्टा  १५ देखि २० रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ । त्यसो त काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा ल्याएकै चार वर्ष भयो । न्यूरोड , वीर अस्पताल लगायत विभिन्न स्थानमा पार्किङ छुट्याएको छ । तर समस्या जस्ताको तस्तै छ । टेकुमा ६ तले स्मार्ट पार्किङ भवन बनाउन भन्दै महानगरले १८ करोड रुपैयाँ बजेट छुट्याए पनि काम कहिले शुरु हुन्छ यकिन छैन ।
 
महानगरले पार्किङ समस्यालाई समाधान गर्नका निम्ति महानगर भित्र नक्सा पास गर्दा अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनामा नलगाउन व्यापारी÷घर धनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो सो सूचनाको उक्त म्याद आइतबार सकिएपछि आइतबार नयाँ बानेश्वर क्षेत्रमा व्यापारीक भवनहरुको अन्डरग्राउण्ड पार्किङ गर्न महानगरका मेयर बालेन्द्र साह आफैं खटिए । सोमबार भने नयाँ बानेश्वर क्षेत्रमा व्यावसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन महानगरपालिकाले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेको छ । 
 
नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको छ । एकतर्फ काठमाडौं उपत्यकामा धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने र अर्को तर्फ त्यही मूख्य शहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढ्दा झनै समस्या बढ्दो छ यसले पनि महानगरको यो कदम उपयुक्त हुन सक्दछ । 
 
काठमाडौंमा पनि व्यवस्थित बहुतले पार्किङ स्थल बनाउने योजना नबनेका होइनन्, ठाउँ ठाउँमा बहुतले पार्किङ बनाउने योजनाहरु दराजमै थन्किएका छन् । महानगरले कतिपय ठाउँमा जमिनमाथि बहुतले र कतिपय ठाउँमा जमिनमुनि बहुतले पार्किङ स्थल बनाउने योजना बनाएको छ, जुन योजना अलपत्र छन् । नयाँ मेयरको रुपमा आएका बालेन्द्र शाहले भने यस्ता समस्यामा केही मलम लगाउने हुन की भन्ने भान भएको छ । यसले मेयर साहले पहिला बनेका योजनाहरुलाई कार्यन्वयन गर्नमा कही कतै चुक्नु हुदैन् । हाल महानगरले चालेका यि कदल सबै नियम विपरित पार्किङ स्थललाई व्यापारिक प्रयोजनमा प्रयोग गरेकालाई पार्किङमा नै ल्याउनु आवश्यक छ जसको कारण पनि उपत्यकाको पार्किङ समस्या समाधानमा ठूलो सघाउ पुग्नेमा विश्वास लिन सकिन्छ  । 

प्रतिक्रिया