भर्खरै

दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परिक्षण सुरू

  • प्रकाशित मिति : सोम, भदौ १३, २०७९
  • - विद्युत संसार
title

काठमाडौं, भदौं । लमजुङको दोर्दीखोलामा निर्माण भएको २७ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरू भएको छ ।
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले विसं २०७२ फागुनदेखि निर्माण सुरू गरेको उक्त आयोजनाबाट आइतबारदेखि बिजुली उत्पादन परिक्षण सुरु भएको हो । 
 
आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपश्चात आयोजनाले आइतबारदेखि परीक्षणका लागि बिजुली सुरू गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताउनुभयो ।
 
उहाँका अनुसार केही महिनाअघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण नभएका कारण समय लागेको उहाँको भनाई छ । आयोजनाको बिजुली चार–पाँच दिनसम्म परीक्षण चल्ने र परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यको भनाई  रहेको छ ।
इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको आयोजनाका इन्चार्ज दीपक ज्ञवालीले बताउनुभयो । 
 
पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप बिछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ छ । आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ‘ग्रसहेड’ छ । बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीमा पावरहाउस छ ।
विसं २०७२ फागुनदेखि निर्माण सुरू गरिएको यो आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुगेको क्षति, कोरोना निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटकपटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको हो ।
 
पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएको थियो । पटक पटक समय बढाएर बल्ल आयोजना सम्पन्न गरिएको हो ।
सुरूमा चार अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमान गरिएपनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोडसम्म खर्च हुन सक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आईएमई ग्रुपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । 

प्रतिक्रिया