फोहोर व्यवस्थापनमा जिम्मेवार को ?
- प्रकाशित मिति : बुध, साउन २५, २०७९
- - प्रदिप श्रेष्ठ
काठमाडौं साउन । उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । अघिल्लो महिना मात्र महानगपालिकाले फोहोरको समस्या अन्त्य भएको बताएको थियो तर काठमाडौंमा फोहोरको समस्या जहाँको त्यही छ । आजभोली सडक छेउ र गल्ली गल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य बन्दै गएको छ । हिजोको ऐतिहासिक कान्तिपुरी नगरी अहिले फोहोर थुपारी राख्ने नगरका रूपमा नयाँ परिचय बनाउँदै गएको आभास हुन थालेको छ । काठमाडौँ महानगरपालिका फोहोर उठाउन असमर्थ भएको छ ।
छोटो समयको लागि फोहोर फाल्न थालिएको सिसडोल ल्याण्डफिल साइट १७ वर्ष सम्म फालियो त्यसमा पनि अव्यवस्थित र लापर्वाहीका साथ । सिसडोल ल्याण्डफिल साइट भरिएसँगै काठमाडौंबाट जाने फोहोरलाई बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न थालिएको छ । केही समय स्थानियको अवरोध र आन्दोलनका कारण प्रभावित समेत भएको थियो । प्रभावित स्थानियको मागलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिका र विभिन्न निकाय बीच सहमति गर्दै सिसडोल ल्याण्डफिल साइटमा फोहोर नियमित लगियो तर आजभोली फेरी काठमाडौंका चोक चोक गल्लि गल्लिमा फोहोरका डंगुर देख्न सकिन्छ ।
काठमाडौं उपत्यकामा फोहोर नउठ्ने समस्या अहिले मात्र आएको होइन, यो समस्या पटकपटक आइरहन्छ । तर, महानगरपालिका नै यस्तो समस्या आउँदा विकल्पविहीन देखिन्छ । उपत्यकाभित्रै कुनै गल्ली, चोक, वा पुलमुनिको फोहोर हप्तौंसम्म उठ्न नसकिरहँदा महानगरपालिका भने फोहोर फाल्न मनाही छ, फोहोर फालेमा १० हजार जरिवाना आदि लेखिएका बोर्ड राख्नुमै आफ्नो जिम्मेवारी पूरा भएको ठान्छ। जबकि, तिनै बोर्डमुनि फोहोरको डंगुर जम्मा भएको हुन्छ । काठमाडौं उपत्यकाले ल्यान्डफिल साइटको समस्या बारम्बार भोग्ने गरेको छ । ल्यान्डफिल साइट भएको स्थानका जनताले बारम्बार अवरोध गर्नु जुन एउटा विकराल स्थितिलाई सरकारले सम्बोधन गर्न नसकेको अवस्था देखिएको छ । अस्थिर राजनीति, आर्थिक अभाव, फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधीप्रतिको अनविज्ञताले पनि व्यवस्थापनप्रति पनि सरकार र महानगरपालिकाले गम्भीरतापूर्वक नसोचेको देख्न सक्दछौं ।
नेपालमा विशेष गरी फोहोर व्यवस्थापनको समस्या काठमाडौं, भक्तपुर्, पाटन, विराटनगर, चितवन लगायत धेरै जनसंख्या भएका शहरहरुमा देखिन्छ । नेपालमा आफूले उत्पादन गरेको सामान्य खालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मान्यता विद्यमान नै छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा र ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको गाडी गइसकेपछि फोहोर ल्याएर जताततै फाल्ने लगायत समस्याले उपत्यका आक्रान्त भएको छ । हाम्रो समाजमा रहेको यस्तो खालका बानी सुधार्न समुदाय नै लागी पर्न आजको आवश्यकता देखिन्छ ।
काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्व चयनसँगै महानगरवासीको आशा, भरोसा तथा विश्वास चुलिँएकै थियो । अहिले नयाँ नेतृत्वले महानगरको बागडोर सम्हालेको तेस्रो महिना हुँदैछ । फोहोर व्यवस्थापनमा पनि केही कार्यक्रमहरु अघि सारियो तर त्यसले समस्या समाधान हुनेमा कुनै आशा राजधानी बासीमा देखिदैन् ।
फोहोर व्यवस्थापन विगतभन्दा कुनै फरक देखिएको छैन । साउन लागेपछि त अधिकांश स्थानमा फोहोर उठ्नै छाडेको छ । साउन महिनादेखि कुहिने फोहोर र नकुहिने फोहोर गरी दुई भिन्न पोकामा जम्मा गर्ने र त्यसलाई महानगरपालिकाले उचित रूपमा व्यवस्थापन गर्ने भनी गरिएको प्रचारले अहिले हावा खान थालेको छ । चोक चोकमा फोहोर मिश्रित अवस्थामै फ्याकिएका छन् । छुट्याइएका छैनन् । ती फोहोर साता दिनभन्दा बढी दुर्गन्धित अवस्थामा रहिरहेका छन् । फोहोर छुट्याउन पनि सार्वजनिक रूपमा आह्वान गरिएको छैन । न त घरमा वा टोलमा गएर सिकाइएको छ । सूचना मात्र देख्न सकिन्छ । फोहर छुट्याउने र तदनुरूप त्यसको व्यवस्थापन गर्ने कुरा प्रचार मात्र त होइन भन्ने पनि देखिन थालेको छ । स्थानीय जनता आफ्नै घरअगाडि चोकमा फोहोर थुपारेर नमीठो गन्ध लिन बाध्य भइरहेका छन् ।
कुहिने तथा नकुहिने फोहोर छुट्याउन अनुरोध जारी गरी फोहोर नछुटिएमा जरिवानाको डण्डा राजधानीवासीमाथि चल्ने महानगरको उर्दी नै जारी गर्दा पनि फोहोरको समस्या समाधान नहुँदा अझ भनौ हैजाजस्तो प्रकोप देखिन थालेको काठमाडौँमा फोहोर व्यवस्थापनमा नागरिक दबाब र सहभागिता आवश्यक भएको देखिन थालेको छ ।
अहिले काठमाडौँको फोहोर नउठ्नुको मूख्य कारण बञ्चरे डाँडा वरिपरिको सडक बाटो मर्मत तथा निर्माणलाई कारण बनाइएको छ । महानगरले भने केही दिनमा नै समस्या समाधान हुने आश्वासन दिदै आएको छ ।
मूख्य समस्या सडक मर्मतलाई देखाइए पनि फोहोर व्यवस्थापनका निम्ति महानगरका अरू पनि थुप्रै समस्या छन् । बञ्चरे डाँडाको १७ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका निम्ति सरकारले ठेक्का लगायतका काम वर्षौं अघि गरिसकेको थियो तर आठ वर्षपछिसम्म पनि यो सडक विस्तार सम्पन्न हुन नसक्नु चरम लापर्वाहीको नमुना हो । यसको प्रभाव राजधानीवासीले भोगिरहनु परेको छ । यसैगरी फोहोर ढुवानीका निम्ति गाडी भाडा लिने, फोहोर छुट्याउने, ढुवानी गाडीको व्यवस्थापन गर्नेजस्ता विषयवस्तुलाई महानगरले ठूलो समस्याका रूपमा लिनुभन्दा पनि यी विषयवस्तुको उपयुक्त व्यवस्थापनमा जोड दिनु जरुरी छ ।
राजधानीको फोहोर हटाउन महानगर मात्र सक्षम नभएको विभिन्न घटना क्रमहरुले देखाउने गरेको छ । यसैले पनि काठमाडौं उपत्यकाको ठूलो समस्याको रुपमा निम्तिएको फोहोर व्यवस्थापन समाधानमा सङ्घीय सरकार, काठमाडौँ महानगर, वरिपरिका स्थानीय तहसमेत निकायहरूको साझा एवं प्रभावकारी सहकार्य हुन आवश्यक छ जसले गर्दा फोहोर व्यवस्थापनमा वर्षौ देखिको राजधानी बासीले भोगिरहेको समस्या समाधान हुने थियो ।