भर्खरै

व्यापार घाटाको असर

  • प्रकाशित मिति : बिही, साउन १९, २०७९
  • - अरुण श्रेष्ठ/काठमाडौं
title

काठमाडौं १९ साउन । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याड्ढ अनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याड्ढअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु. १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात भएको छ । नेपालको आर्थिक वर्ष २०७८/७९ मा भएको आयात हालसम्मकै उच्च हो । 
 
कुनै पनि राष्ट्रमा वस्तु आयात र निर्यातबीचको दूरी फराकिलो रूपमा देखा पर्दै जानु अथवा आयात र निर्यात सामग्रीमा सन्तुलन कायम हुन नसक्दा नेपालको सन्दर्भमा व्यापार घाटा डरलाग्दो रूपमा बढ्दै गएको छ । नेपालमा सामान्य तरकारी देखि महँगो सामग्रीहरु सम्म आयात हुने गरेको छ । 
 
यस्तो डरलाग्दो अवस्थामा रहेको व्यापार घाटा कम गर्न आयात र निर्यातबीच रहेको असमानतालाई सन्तुलित बिन्दुमा ल्याउन विना कार्ययोजना सम्भव छैन । विशेषत बढ्दो व्यापार घाटा चरमरूपमा विकास भएको भ्रष्टाचार र बेरुजु देश विकासमा बाधक हुन् । डरलाग्दो रूपमा मौलाएको भ्रष्टाचारले देशको बेरुजु मौलाउनमा मलजल गरेको छ ।
 
मुलुकमा उपभोग, निर्माण तथा औद्योगिकरण बढ्दै जाँदा सम्बन्धित वस्तुको आयात उच्चदरमा बढेको छ । व्यापार घाटा कम गर्न र आयात–निर्यातबीच सन्तुलन कायम राख्न उत्पादन क्षमता बढाउनु बाहेक देशसँग अर्को विकल्प केही छैन । आयात कम गर्न र निर्यात बढाउन उत्पादन मूलक उद्योगधन्दा कारखना स्थापना र विकास हुन अनिवार्य छ । देशमा उद्योगधन्दा फस्टाउन सरकारको नीति र कार्यान्वयनमा नै सुधार ल्याउनु आवश्यक छ ।  उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत पूर्ण कर देखि विभिन्न समस्याका समाधानमा सरकारको ध्यान जानसपर्दछ । यहि आर्थिक वर्षको बजेट भाषणमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ल्याउनुभएको निर्यात नीतिको कारण नेपालमा उत्पादित सिमेन्ट र फलामे छडहरु भारतमा निर्यात सुरुभएको छ । यो पक्कै पनि नेपालको व्यापार घाटालाई न्यूनिकरणमा सघाउ पुग्ने छ । हो यसरी नै अन्य क्षेत्रमा पनि सरकारले आयातमा भन्दा स्वदेशमा नै उत्पादन बढाउन तर्फ ध्यान केन्द्रित रहनु पर्दछ ।
 
स्वदेशमा उत्पादन नहुने पेट्रोल, मेशिन तथा औजार लगायतका केही वस्तुको आयात गर्न हामी बाध्य छौं । तर स्वदेशमा नै उत्पादन सँगै निर्यातजन्य वस्तुहरू भटमास तेल, पाम आयाल, जूट र जूटका सामान, वनस्पति, पश्मिना, दाल, अदुवा, अलैँची, धाँगो, तामा तार, आयुर्वेद औषधि लगायत तयारी पोशाक, पश्मिना, ऊनी गलैँचा, प्रशोधित छाला, हस्तकलाका सामान, नेपाली कागज, चाँदीका गहना र चिया लगायतका वस्तु उत्पादनलाई विशेष ध्यान दिदै अन्य देशतर्फ निर्यात हँुदै आएपनि अझै निर्यातमुखी नीति ल्याउनुपर्दछ ।
 
आयात गर्नुपर्ने सामग्रीहरु पनि हाम्रो आयातमा कति आवश्यक वस्तु छन् भनेर हेर्नैपर्छ । अनावश्यक आयातलाई निरुत्साहित गर्नुपर्छ । यहाँ अनावश्यक आयात भन्नाले हामीलाई आवश्यक पर्ने कतिपय वस्तु नेपालमै सस्तो वा प्रतिस्पर्धी मूल्यमा उत्पादन गरेर; तिनको आयातलाई निरुत्साहित गर्न आवश्यक छ । जस्तै तरकारी, फलफूल, खाद्यान्न, मासुजन्य वस्तुहरूको यहीं उत्पादन गर्न सम्भव छ । तर बजारसँग सम्बन्धित भन्दा अन्य व्यापारिक तथा नाफाखोरीका कारणले नेपालले वस्तु तथा सेवाको वास्तविक मूल्य भन्दा बढी मूल्य तिरेर खासगरी भारतीय तरकारी आयात हुने गरेको छ । 
 
यो सँगै विद्युतीय सामग्रीहरु पनि अघिल्लो आर्थिक वर्षको तुलनामा आयात बढेको र निर्यात निरन्तर घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा विद्युतीय सामग्री आयातको तुलनामा निर्यात निराशाजनक देखिएको छ । नेपालले  गत आर्थिक वर्षमा एक खर्ब २२ अर्ब ५१ करोड बराबरको विद्युतीय सामग्री तथा उपकरणहरु आयात भएका छन् । सोही अवधिमा ३४ करोड ४६ लाख बराबरको सामग्री निर्यात भएका छन् । यो तथ्याड्ढ हाम्रा लागि निराशाजनक छ । नेपाल हाउस वायरिङ्ग केबुल र ट्रान्सफर्मरमा आत्मनिर्भर बनेको भएपनि अन्य विद्युतीय सामग्रीहरु आयातमा नै निर्भर हुनुपर्ने अवस्था छ । नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । यसलाई न्यूनिकरण गर्न विद्युतीय सामग्रीहरु उत्पादन तथा वितरण गर्ने उद्योगलाई क्षमता वृद्धि र नयाँ उद्योग स्थापना गर्नुपर्दछ । 
 
सरकारले विभिन्न औद्योगिक क्षेत्रहरु निर्माण गर्न थालनी त गरेको छ तर ति औद्योगिक क्षेत्र समयमा नै सम्पन्न हुने स्थितिमा छैनन् । देशको गम्भिर समस्याको रुपमा देखिएको व्यापार घाटालाई हटाउन ति निर्माणधिन औद्योगिक क्षेत्रहरुको विशेष भुमिका हुने देखिन्छ त्यसैले सरकारले यस्ता महत्व बोकेका क्षेत्रहरुमा विशेष ध्यान दिएर समय सीमामा नै निर्माण सम्पन्न गर्नुपर्दछ ।  
यो सँगै नेपालमै दिगो र उचित विकास गर्न आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन स्वदेशकै विद्युत खपत गरी पेट्रोलियम पदार्थमा खपत कम गर्ने र कृषिजन्य वस्तुहरुको उत्पादनमा जोड दिनु नै नेपालको व्यापार घाटाका निम्ति उत्तम विकल्प हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारक 5 hours ago

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्युत् प 6 hours ago