यो पटक मतदाताले विवेक नगुमाओस्
- प्रकाशित मिति : बुध, बैशाख १४, २०७९
- - राज न्यौपाने/धादिङ
काठमाडौं १४ बैशाख । लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पछि २०७४ सालमा सम्पन्न भएको पहिलो स्थानीय तहको निर्वाचन तत्कालीन विशिष्ट परिस्थिति अनुकूल फरक–फरक मितिमा भएको हो । यो पटक भने सरकारले बैशाख ३० गते एकै चरणमा देशभर स्थानिय तहको निर्वाचन गर्न पुरा तयारी अघि बढाएको छ । निर्वाचन मार्फत आफ्नो प्रतिनिधि छनोट गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । देश संघीय संरचनाको अवधारण अनुसार ५ वर्षका लागि स्थानिय प्रतिनिधि छनोटका लागि आगामी नेपालभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न लागेको हो । दलको तर्फबाट नभई स्वतन्त्र उम्मेदवारको रूपमा पनि भाग लिनसक्ने व्यवस्था कानुनमा रहेकोले स्वतन्त्र उम्मेदवारहरुको पनि उल्लेखनिय सहभागिता रहेको छ । सरकारमा सहभागी सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ भने सरकारको प्रतिपक्ष ऐमाले पनि आफ्नै ढंगले चुनावमा होमिएको छ ।
निर्वाचनमा हुने शक्ति र स्रोतको प्रयोग, महँगो निर्वाचन प्रणाली लोकतन्त्रमा घातक मानिन्छ । निर्वाचनका क्रममा हुने प्रचार प्रसारको होडबाजी, प्रतिबद्धताले मतदातामा भ्रमको सिर्जना गर्ने कारण पनि मतदाताको सहि सदुपयोग नभएका विभिन्न घटनाक्रम भएको तितो यर्थाथ हामी विच रहेको छ । यसैले पनि पछिल्लो समय आम जनताहरुमा राजनैतिक दलको विकल्प खोजिन थालिएको छ । यसका प्रमुख उदाहरण विभिन्न स्थानमा दलगत भन्दा बाहिर रहेर स्वतन्त्र उम्मेद्वार दिएकालाई मान्न सकिन्छ । निर्वाचन अगाडी राजनीतिक दल तथा उम्मेदवारका चुनावी घोषणपत्र वा प्रतिबद्धतापत्रले आम जनताहरुमा भ्रम सिर्जना गर्ने खालको हुन्छ जसको उद्धेश्य भनेकै जनताहरु आफु प्रति सकारात्मक भई आफुलाई भोट दियोस् ।
कतिपय देशमा दुई दलीय व्यवस्था भए पनि त्यो खासमा निश्चित दलको सिन्डिकेट हो, त्यस्तो व्यवस्था नेपालीले परिकल्पना गरेको होइन । हाम्रो संविधानले पनि बहुदलीय व्यवस्था अंगीकार गरेको छ । तसर्थ राजनैतिक दलहरु जसरी पनि चुनाव जित्ने ध्याउन्न छन् । साम, दाम, दण्ड, भेदको नीति मूख्य दलहरूले अपनाइरहेका छन् । उनिहरुलाई विचार, सिद्धान्त, इमान्दारी वा नैतिकता कुनैपनि कुराको मतलब उनिहरुमा छैन् । जे गर्दा चुनाव जितिन्छ, त्यसै गर्न दलहरू लागिपरेका छन् । उनीहरू को उम्मेदवार छनोटको आधारले पनि यस्ते खालका विचार आम जनताहरुमा उठेको छ । समाजमा योगदान, सामाजिक छवि, नैतिकता, क्षमता र योगदान एकातिर पन्छाइएका छन् । अर्कोतिर दलहरूले जसरी पनि आफ्नो पक्षमा निर्वाचन पर्नु उद्देश्य बनेको छ । यसले देश विकासको पक्षमा नकारात्मक असर पर्दछ । जनताबाट निर्वाचित जनप्रतिनिधिले निर्वाचन जित्न आफुले गर्ने नसक्ने बाचाहरु जनताहरुमाझ बढेर निर्वाचन आफ्नो पक्षमा आए पनि आफ्ना बाचा र घोषण कसरी बिर्सिन सक्दा रहेछन् भन्ने कुराको ठूलो उदाहारण त पाँच वर्ष अगाडि काठमाडौ महानगरपलिकामा एमालेका उम्मेद्वार विद्या सुन्दर शाक्यबाट नै ठूलो पाठ सिक्न सक्दछौ । किनकी उनले निर्वाचन अगाडि जनता माझ एक सय दिनमा सयवटा काम गर्ने जुन खालका प्रतिबद्धता गरे ति प्रतिबद्धता उनले पाँच वर्ष सम्मपनि गर्न सकेनन् काठमाडौंलाई स्मार्ट सिटि र मोनो रेलका त कुरै नगरांै । हो निर्वाचनमा यस्तै मिठा बाचा गरे निर्वाचित भएका जनप्रतिनिधिले आगामी कार्यकालमा पनि जनता प्रति पुर्ण बफादार हुन्छन् भन्ने कुरा बुझ्न गाह््रो छ ।
यसलै आगामी ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जनताहरुले पार्टीभन्दा पनि राम्रो व्यक्ति निर्वाचित गराउन आवश्यक छ । अहिले यो कार्यभार पूरा गर्नको लागि आवश्यक पर्ने भावी नेतृत्व छनोट गर्ने अवसर आम मतदातामा आएको छ । यो मतदाताका लागि अवसर मात्र होइन उपयुक्त प्रतिनिधि छनोट गर्ने चुनौती पनि हो । प्रत्येक मतदाताले आफ्नो मतको विवेकसंगत प्रयोग गर्नु आवश्यक देखिन्छ । प्रचार–प्रसार तथा प्रतिबद्धताको होडबाजीका बीच उत्तम उम्मेदवार छनोट गर्न आम मतदाताको जिम्मेवारी पनि हो ।
जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले अबको कार्यकालमा जनताले महसुस गर्ने गरी कार्यसम्पादनमा केन्द्रित हुन हुनुपर्दछ । आम नागरिकले प्रत्यक्ष अनुभव गर्न नसक्ने तर त्यसका लागि अनिवार्य शर्तको रूपमा रहने ऐन, कानुन, विधि, मापदण्डका साथसाथै आवश्यक पूर्वाधार निर्माणको कार्य पूरा भएको वा पूरा हुने चरणमा रहेको हुँदा अबका जनप्रतिनिधिले विकास निर्माणका कार्यलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । यो उनीहरूका लागि अवसर पनि हो । मतदाताले पनि उम्मेदवारको उपयुक्तता निर्धारण गर्ने क्रममा आफ्नो पालिकाको लागि कस्तो नेतृत्व आवश्यक छ भन्ने कुराको जानकारी लिनुपर्दछ । आवश्यकता पहिचानको लागि पालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाका साथै मानवीय तथा भौतिक विकासको अवस्थालाई आधार मान्नुपर्दछ । पालिकाले अबको प्राथमिकता केमा दिनुपर्नेछ भौतिक विकास वा मानवीय विकास ? आर्थिक उन्नतिको लागि कृषि, पर्यटन, उद्योग वा अन्य कुनै क्षेत्रलाई ? जस्ता पक्षको विश्लेषण गर्नुपर्दछ । जनताको प्रतिनिधि हुन चाहिने नेतृत्व कौशल, असल चरित्र र स्वाभावको हुनु पर्दछ । उक्त मान्यतालाई आत्मसात् गरिएन भने जनता राजनीतिबाट स्वाभाविक रूपमा निराश हुन्छन् । चुनाव जसरी पैसा हुनेले मात्रै जित्ने र निष्ठापूर्वक राजनीति गरेकाहरू पाखा लाग्नुपर्ने अवस्था आएको छ । यस्तो प्रवृतीले हामी र हाम्रो देशलाई नै फाईदा नपुग्ने हुदा यो पटकको चुनावी मैदानमा भएकामध्ये उपयुक्त प्रतिस्पर्धी उम्मेदवार छान्न मतदाताले भरपुर विवेकको प्रयोग गर्नुपर्दछ ।