भर्खरै

भारतले सहुलियत दरको बिजुली रोकिदियो, महंगोमा किनेको पनि रोकिए फेरि लोडसेडिङ खेप्नुपर्ने

  • प्रकाशित मिति : बिही, फागुन २६, २०७८
  • - Admin
title

काठमाडौं । रुस–युक्रेन युद्धसँगै विश्वभर उर्जा आपूर्तिमा समस्या आएको बेला भारतले नेपाललाई सहुलियत दरमा दिँदै आएको २२० मेगावाट विजुली रोकिदिएको छ । भारतमा उर्जा संकट बढ्दै जाँदा नेपाल विद्युत प्राधिकरणले त्यहाँको खुल्ला बजारबाट किन्दै आएको महंगो बिजुली पनि रोक्किनसक्ने जोखिम बढ्दै गएको उर्जा क्षेत्रका जानकारहरु बताउँछन् । 
 
प्राधिकरणले भारतको सेन्टर इलेक्ट्रिसिटि अथोरिटिको नोडल एजेन्सी एनभीभीएनमार्फत किन्दै आएको १५० मेगावाट र पीटीसी इण्डियाबाट किन्दै आएको ७० मेगावाट विजुली रोकिदिएको हो । 
 
उक्त विजुली रोकिए पनि प्राधिकरणले खुल्ला बजारबाट थप बिजुली किनेर पैठारी कम हुन भने दिएको छैन् । प्राधिकरणलाई एनभीभीएनले प्रतियुनिट चार रुपियाँ १२ पैसा भारुका दरले १५० मेगावाट विजुली आयात गर्दै आएको थियो । त्यो बिजुली नेपाल–भारतबीचको ढल्केबर मुजफपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत आउने गरेको थियो । 
 
त्यस्तै, पीटीसी इण्डियाले सहुलियत दरमा उपलब्ध गराएको थप ७० मेगावाट विजुली टनकपुर नाका हुँदै आइरहेको थियो । दुवै गरेर २२० मेगावाट विजुली एकपक्षीयरुपमा भारतले रोकिदिएपछि प्राधिकरणले भारतको एक्सचेन्ज मार्केटमा उच्च मूल्यवृद्धि भएको बेला थप विजुली आयात गर्न बाध्य भएको छ । 
 
बिहार–यूपी इलेक्ट्रिसिटि बोर्डमार्फत प्राधिकरणले किन्दै आएको बिजुली भने आइरहेको प्राधिकरण स्रोतले बतायो । यो बिजुलीमध्ये ५० मेगावाट प्रतियुनिट पाँच रुपियाँ ६० पैसा भारुमा आयात हुन्छ भने बाँकीको मूल्य प्रतियुनिट ११ रुपियाँभन्दा बढी पर्छ । 
 
भारतले सहुलियत दरमा उपलब्ध गराएको बिजुली रोक्किएको कुरा भने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले स्वीकार गर्न चाहेनन् । उनले भारतको खुल्ला बजारबाट किनेको बिजुली महंगो भएको र प्रतियुनिट २० रुपियाँ भारुसम्ममा किन्नुपरेको बताए । पिटआवरमा २० रुपियाँसम्म भारुपरे पनि सरदर भने प्रतियुनिट सात रुपियाँ पर्ने भट्टराईले बताए । उनले बिजुलीको मूल्य मात्रै बढेको बताउँदै बिजुली नआउने र लोडसेडिङ हुने संभावना नरहेको जिकिर गरे । 
 
भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स)मार्फत किनेको बिजुली २० रुपियाँसम्म मूल्य तिरेर किनेको बिजुली मूल्य अभिवृद्धि करसमेत जोड्दा करिव प्रतियुनिट ३५ रुपियाँ पर्न आउँछ । तर प्राधिकरणले साना ठूला ग्राहकलाई बिक्री गर्ने बिजुलीको मूल्य प्रतियुनिट नौ रुपियाँ ६० पैसा पर्छ । यसले गर्दा प्राधिकरणलाई थप व्ययभार पर्ने देखिएको छ । 
 
भारतीय इनर्जी एक्सचेन्जमार्फत किन्दै आएको बिजुली यसअघि सरदर दुई रुपियाँ ९९ पैसादेखि तीन रुपियाँ भारुसम्म पर्ने गरेकोमा सरदर झण्डै सात रुपियाँ पुगेको छ । इन्धन तथा ग्यासको आपूर्ति विश्वभर प्रभावित भएको बेला भारतमा पनि उर्जा संकट बढ्दै गएको छ । यस्तो संकट बढ्दै जाँदा भारतले आफ्नो देशभित्रको बिजुली कसैलाई पनि नदिने निर्णय गर्नसक्नेप्रति प्राधिकरणका कर्मचारीहरु चिन्तित छन् । 
 
अहिले नै पनि भारतबाट सरदर ४७३ मेगावाट विजुली आयात भइरहेको छ भने पिकआवरमा यस्तो आयात सात सयसम्म पुग्ने गरेको छ । यस्तो अवस्थामा भारतले भारतीय इनर्जी एक्सचेन्जको बिजुली पनि बन्द गरिदिए नेपालीले चर्को लोडसेडिङ भोग्नुपर्ने बाध्यता देखिन्छ । अहिले कुल खपतमा भारतीय बजारको हिस्सा करिव ४५ प्रतिशत छ । यो बिजुली कटौती हुँदा दैनिक १० घण्टासम्म लोडसेडिङको अवस्था आउने प्राधिकरणको भनाई छ । प्राधिकरण स्रोतले विद्युत आपूर्तिमा समस्या आए औद्योगिक क्षेत्रमा भइरहेको आपूर्तिमा केही कटौती गर्ने कि भन्न विषयमा भने छलफल जारी रहेको जानकारी दिएको छ । 
कर्पोरेट नेपाल
 

प्रतिक्रिया