भर्खरै

पेट्रोलको मूल्य हालसम्मकै उच्च, पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ रुपैयाँ

  • प्रकाशित मिति : सोम, फागुन ९, २०७८
  • - विद्युत संसार
title

काठमाडौं फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।
निगमले विज्ञप्ति जारी गर्दै शनिवार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो । पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको छ । निगमले नयाँ मूल्य कायम गरेसँगै पेट्रोलको मूल्य इतिहासमै सर्वाधिक बढी कायम भएको छ ।
भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५.६१, डिजेल रु ५.६२ ले तथा हवाई इन्धन रू ४.९५ ले बढाएर मूल्यसूची पठाएको थियो ।
यस अनुरूप १५ दिनमा करिब रू २ अर्ब ४० करोड घाटा हुने अवस्थामा निगमको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।
यस मूल्य समायोजन पश्चात् भारतको सीमावर्ती बजार रक्सौलको भन्दा नेपालको वीरजंग क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा भनिएको छ । 
 
करको बोझ
 
निगमले मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुर्याएको छ । तर यति हुँदाहुँदै पनि निगम भने अझै घाटामै छ । कर उठाउने मात्रै ध्याउन्नमा लागेको सरकारले केही कर घटाउने हो वा छुट दिने हो भने मात्रै पनि पेट्रोलियम पदार्थको मूल्य केही कम हुन जान्छ । तर, यसतर्फ हालसम्म सरकारले यस तर्फ ध्यान केन्द्रित गर्न सकेको छैन ।
एक लिटर पेट्रोलमा ५६.६१ मात्रै उपभोक्ताले कर तिर्नुपर्छ । त्यसमा प्रतिलिटर भन्सार शुल्क २५.२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०२५ रुपैयाँ, सडक मर्मत शुल्क ४ रुपैयाँ, प्रदुषण शुल्क १.५ रुपैयाँ, पिएसएफ १.१ रुपैयाँ र पूर्वाधार कर मात्रै १० रुपैयाँ तिर्नुपर्छ ।
डिजलमा भन्सार १२, भन्सार सेवा शुल्क ०.०२५ प्रतिशत, सडक मर्मत शुल्क २, प्रदुषण शुल्क १.५, पिएसएफ ०.९३, पूर्वाधार कर १० रुपैयाँ उपभोक्ताले बेहोर्नु परेको छ । यस्तै भ्याट पनि उपभोक्ताको टाउकोमा नै पर्छ । यस्तै, पेट्रोल पम्पको कमिसन समेत उपभोक्ताले नै तिर्नुपरेको छ । यी सबै कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढी तिर्नुपरेको छ ।

प्रतिक्रिया