भर्खरै

बढ्यो बिजुलीको माग, यस वर्षको विद्युतको उच्च माग तीन सय मेगावाटको हाराहारीमा

  • प्रकाशित मिति : सोम, पौष ५, २०७८
  • - विद्युत संसार
title

 काठमाण्डौ, पुस । गत वर्षको तुलनामा यस वर्ष  बिजुलीको आन्तरिक माग बढेको छ । जाडो बढेको र विद्युतको् खपत बढाउनका लागि सरकारले चालेका कदमका कारण माग बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार गएको वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।
 
आन्तरिक रुपमा नै खपत बढाउन सरकारले चालेको विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति अनुसार बिजुलीको माग बढेको छ । 
सरकारले विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोग बढाउन आवहन गरेसँगै प्रयोग बढ्नु, ठूला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउनुलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ ।
 
विद्युत् बढी खपत हुने काठमाण्डौ उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाण्डौ उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गएको वर्ष २९३ मेगावाट रहेको काठमाण्डौ उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताएका छन् । 
विद्युतीय गाडीको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’
 
घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए ।
 
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको उनको भनाइ छ ।
 
दीर्घकालीन योजनाअन्तर्गत  विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।
 
प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया