भर्खरै

साझा यातायातले ६१ करोड बराबरको ४० विद्युतीय बस ल्याउने, बस ल्याउन चिनियाँ कम्पनीलाई जिम्मा

  • प्रकाशित मिति : सोम, असोज ११, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, असोज । साझा यातायातले ६१ करोड रुपैंया बराबरको ४० विद्युतीय बस खरिद गर्ने तयारी गरेको छ । 
साझाले ८ महिनाभित्र ४० वटै बस ल्याउने गरी चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनलाईलाई जिम्मा दिएर पूर्ण तयारी गरेको हो । 
बिजुली बस खरिदका लागि साझा यातायातले चैत १३ गते टेण्डर आह्वान गरेको थियो । जसमा नान्जिङ गोल्डेन डार्गन बस कर्पोरेशन लिमिटेड, विक्वी फोटोन मोटर कम्पनी लिमिटेड, झोङटोङ बस होल्डिङ कर्पोरेशन लिमिटेड, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन, सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेशन, बिवाइडी अटो इन्ड्रष्ट्री कर्पोरेशन लिमिटेड, एन हुइ एनकाइ अटोमोबाइल कर्पोरेशन लिमिटेड, चेरी एण्ड वान्डा बस कर्पोरेशन लिमिटेड, झुनहाइ गाउनटोङ अटोमोबाइल कर्पोरेशन लिमिटेडले आवेदन परेको थियो । आवेदन परेको मध्येबाट जसमा सिएचटिसी उत्कृष्ठ ठहराउँदै छनोट गरिएको साझा यातायातले जनाएको छ । 
 
साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरका अनुसार बस खरिदको लागि कम्पनी छनौट भइसकेको छ, अब दशैंअघि नै सम्झौता गर्ने गरी उनीहरुलाई बोलाएको बताए । 
सम्झौताको पहिलो चार महिनामा ३ वटा बस आइपुग्नेछ । उक्त बसहरु परीक्षणका रुपमा संचालन गरेपछि थप बसहरु ल्याउने र त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मा समेत कम्पनीले लिनुपर्नेछ गरी सहमति गर्नेछ, हामीसँगको कुराकानीमा उनले भने,’बस मात्रै नभइ हामीले त्यसका लागि आवश्यक प्राविधिक सेवा पनि उसैबाट लिन लागेका हौं ।’
 
बस साढे ८ मिटर लम्बाइको हुने र २६ सिटसँगसँगै बसमा ह्विल चियरसमेत राख्न मिल्नेछ । १६१ किलोवाट प्रतिघण्टा क्षमता भएका ब्याट्रीहरु बसमा प्रयोग गरेको हुनेछ । कम्पनीले ल्याउने ९० किलोवाटको चार्जरमा दुईवटा ४५÷४५ किलोवाटका हुनेछ । जसले चार घण्टामा बस फुल चार्ज गर्न सकिन्छ । एक पटक फुल चार्ज गरेपछि २०० किमीसम्म कुद्ने क्षमता छ । बस चार्जका लागि साझाको पुल्चोकस्थित कार्यालय प्रयोग गर्ने तयारी भएको छ । ’चार्जका लागि पुल्चोकको हाम्रै कार्यालय प्रयोग गर्ने भन्ने छ ।
हामीले सरकारलाई पटकपटक अनुरोध गरिरहेका छौं’, तुलाधरले भने,’चार्जर गन र इलेक्ट्रिक सामान उसैले उपलब्ध गराउने भएपनि ट्रान्सफर्मर राखेर विद्युत उपलब्ध गराउने जिम्मा विद्युत प्राधिकरणको हुने जनाउँदै त्यसका लागि चाहिने सिभिल संरचना हामी आफैले निर्माण गर्ने बताए । बस ल्याएर काठमाडौं उपत्यकाभित्रै संचालन गरिने छ । 
 
सयम अनुसार अब विस्तारै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडीहरु विस्थापन गरेर विद्युतीय बसमा परिवर्तन हुँदै जानुपर्ने अवस्था छ । किनकी सरकारले पनि १० बर्षभित्र विद्युतीय सवारीसाधनमा परिवर्तन भइसक्ने घोषणा गरेको छ । 
तर सरकारले विद्युतीय बस प्रवर्द्धन गर्ने भनेपनि भन्सार छुट लगायतको कुनै विशेष व्यवस्था गर्न सकेको छैन । कम्पनीले साझालाइ २० वटा चार्जिङ मेसिन समेत उपलब्ध गराउन लागेको तुलाधरले बताए ।

प्रतिक्रिया