भर्खरै

सोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

  • प्रकाशित मिति : बुध, भदौ २३, २०७८
  • -
title

तनहुँ, भदौ ।  नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
 
निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने यस कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यो सौर्य ऊर्जा परियोजनाको मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुभारम्भ गरिन् ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ । 
 
 
 
मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो । गरिबीको रेखामुनि रहेका नागरिकलाई २० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जना लाभान्वित हुने उल्लेख गर्नुभयो ।
 
विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको बताउनुभयो । “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ, उहाँले भन्नुभयो, सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।
 
जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोसी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
 
सन् २०१७ देखि निर्माण सुरु भएको परियोजना कोभिड १९ सङ्क्रमणका कारण ढिलाइ भएको प्रालीका अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो । कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ, गुरुङले भन्नुभयो, सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।
 
कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समूह’ ले लगानी गरेको छ । ४३ करोड रुपैयाँको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।  
 
प्रालीका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिनुभयो । सोलार परियोजना जलविद्युतको तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताउनुभयो ।  
 
डोल्मा इम्प्याक्ट फन्डका सञ्चालक एवम् प्रालीका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युतमा लगानी गरिएको जानकारी दिनुभयो । त्यो फन्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माण सम्पन्न भएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
 
आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालीले बेलचौतारामा रहेको भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पीपीए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सबस्टेशनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दसरीको बेलचौतारा सबस्टेशनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।
 
भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमुना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक झन्डै २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पीपीए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार