भर्खरै

बिजुली खेर जाने अवस्था आएपछि बिजुली खरिद गर्न बिहार राज्यसँग प्राधिकरणको प्रस्ताव

  • प्रकाशित मिति : आइत, भदौ २७, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको बिजुली थपिएपछि बिजुली खेर जाने अवस्था आएको छ । माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको दिउँसोको समयमा २०० मेगावाट बिजुली जगेडामा परेको भन्दै प्राधिकरणले खरिदका लागि बिहार राज्यसँग प्रस्ताव राखेको हो ।
प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ । माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकेर खेर जाने अवस्था भएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लि. सँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
 
नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ । वर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट नेपालमा ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको छ । 
‘बर्खाका महिनामा दिनको २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको घिसिङले जनाएको छ । बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युतको मूल्य तय गरिने बताउँदै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ । 
प्राधिकरणका अनुसार हिउँदको समयमा अझै केहीवर्ष भारतबाट ल्याउनुपर्ने अवस्था छ । यदि पारस्पारिक विद्युत आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुने र यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएकोले केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास रहेको घिसिङले जानकारी दिए ।
साँझ ५ बजेदेखि १० बजेसम्म नेपालम अत्यधिक बिजुलीको माग हुने गरेको छ । त्यस आधारमा कूल उच्च माग एक हजार ५४३ मेगावाटसम्म पुगेको छ । प्रणालीमा भने झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध हुने गरेको छ । निर्माणमा रहेका अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । यस आधारमा हरेक महिना बिजुलीको मात्रा थप हुँदै जाने देखिन्छ ।
 
 
घिसिङकाअनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने र हिउँदयाममा त्यतिनै बराबरको विद्युत आयात गर्न गरी प्रस्ताव राखिएको छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुने छ ।
 
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनी लि लाई उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुने छ ।
 
वर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिईन् । बुधबार, बिहीबार र शुक्रबार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन थिए ।
 
टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्था लगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल गरेको थियो ।
 
प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा  छन् । आयोजनाहरुको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् ।  १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया