भर्खरै

माथिल्लो तामाकोशीले आगामी बिहिबारदेखि आम्दानी गर्न थाल्ने

  • प्रकाशित मिति : सोम, भदौ २१, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । दोलखा जिल्लामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ । 
देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले हिजो आइतबारदेखि पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो ।
आयोजनाका ६ वटै टर्बाइनबाट हिजोदेखि उत्पादन शुरु गरिएता पनि विद्युत प्राधिकरणले भने बिहिबारदेखि विद्युत खरिद वापतको भुक्तानी दिने छ । अहिले वर्षातको समय भएकोले आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ तर हिउँदमा पानीको बहाव कम हुने भएकोले आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकिने कम्पनीले जनाइएको छ । आयोजनाको परीक्षणका लागि पहिलोपटक बैशाख १६ गते सुरुङमार्गमा पानी हालेर सुरु गरिएको थियो ।
 
तर तल्लो भर्टिकल (२७३ मिटर) र माथिल्लो भर्टिकल (३१० मिटर) जोड्ने तेस्रो भागको पेनस्टक पाइपमा बनाइएको ुम्यानहोलु को बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकियो । पेनस्टकमा कुनै समस्या आए भित्र गएर मर्मत गर्न म्यानहोल बनाइएको हुन्छ ।
 
त्यसपछि दोस्रो अडिट टनेलबाट पानी चुहिएर केहि समय परीक्षण रोकियो । आयोजनाले असार २१ गते पहिलो युनिटबाट उत्पादन सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन गरेसंगै पहिलो युनिट (७६ मेगावाट) उत्पादन सुरु गरिएको थियो ।
चैतमा नै पहिलो युनिटबाट उत्पादन गर्ने लक्ष्य थियो । तर विभिन्न समस्या आएका कारण उत्पादन मिति धकेलियो । २०६८ सालमा निर्माण सुरु भएको आयोजना २०७२ निर्माण सक्ने लक्ष्य थियो ।
 
निर्माण सम्पन्न हुनुपर्ने वर्ष आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका विविध कारणले ढिला भएको आयोजनाले जनाएको छ। 
 
लट २ को ठेक्का  भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो। उक्त ठेक्का  वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिएर सम्पन्न गरिएको हो ।
 
सो आयोजनाले वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट विद्युत बिक्री गर्ने छ भने त्यस वापत ९ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी आयोजनाले गर्नेछ । उत्तरी दोलखाको लामबगरमा रहेको विद्युत गृहबाट खिम्ती सबस्टेसन मार्फत विद्युत राष्ट्रिय ग्रीडमा जोडिएको छ । नेपाली लगानी र सीपबाट बनेको आयोजना निर्माणका लागि ७० अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ । 

प्रतिक्रिया