भर्खरै

अनलाइन शिक्षाः सदुपयोगसँगै दुरुपयोगको शंका

  • प्रकाशित मिति : बुध, भदौ ९, २०७८
  • - विद्युत संसार
title

काठमाडौं ९ भदौ । विश्व कोभिड–१९ को सक्र्रमणले आक्रान्त छ । आर्थिक–सामाजिक क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बनेको समयमा शैक्षिक क्षेत्र पनि बढी प्रभावित छ । जसकारण अनलाइनमा आधारित शिक्षा प्रणाली पछिल्लो समय बढ्दो छ । कोरोना महामारीले स्थापित गरिदिएको पठनपाठन अनलाईनमा आधारित भएर सञ्चालन गरिदै आएको छ । अनलाइनमा आधारित भर्चुअल कक्षाबाट पठनपाठन हुने क्रम विश्वव्यापी रूपमा बढेको हो । विद्यालय मात्र होइन; महाविद्यालय, विश्वविद्यालय सबैतिर अनलाइन शिक्षा सुरु भएको छ ।
 
सरकारी र निजी क्षेत्रका सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसक्दा कैयौं विद्यार्थीमा मानसिक विचलनको अवस्था पनि देखिएको छ । खासगरी उपत्यकामा अनलाइन शिक्षा प्रभावकारी भए पनि राजधानी बाहिर यो त्यति प्रभावकारी बन्न सकेको छैन । सामुदायिक विद्यालयका कैयौं विद्यार्थी त सम्पर्कबाहिर नै छन् । इन्टरनेट, ल्यापटप, मोबाइल नभएका कारण कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुँदा अनलाइन कक्षाको समय जुधेको पनि पाइन्छ; जसले गर्दा उनीहरूको पढाइ पनि प्रभावित भएको छ ।
 
जसोतसो वैकल्पिक माध्यम भन्दै अनलाइन कक्षा र परीक्षा चलिरहेको भए पनि यो प्रभावकारी बन्न नसकेको अनुभव गरिँदै छ । अभिभावकलाई आफ्ना छोराछोरी मोबाइल र इन्टरनेटको कुलतमा फस्ने हुन् कि भन्ने चिन्ताले पिरोलिरहेको छ । गाउँदेखि शहरसम्मका अभिभावकको चिन्ता एउटै छ– बच्चाको पढाइ सखापै भयो, बच्चा बिग्रनसम्म बिग्रिए, मोबाइलमा गाडिएका गाडियै गर्छन्, पब्जी खेल्छन्, एकछिन मोबाइल खोसिदियो भने रिसाउँछन्, झोक्किन्छन् ।
 
कोभिड–१९कै कारण अहिले मोबाइल अनिवार्यजस्तै बनेको छ । यसले गर्दा अभिभावकलाई शैक्षिक शुल्क बुझाएर मात्र पुग्ने अवस्था अब छैन । थप मोबाइल र सँगसँगै डाटा वा इन्टरनेट लिनुपर्ने बाध्यता छ । मेसेन्जर, एम एस टिम, गुगल जुम, गुगल मिटजस्ता थुप्रै एपको सहायताले सिक्ने र सिकाउने काम भइरहे पनि सबै विद्यार्थी र शिक्षकको पहुँचमा अझै पुगिसकेको छैन ।
 
शिक्षकको प्रत्यक्ष निगरानीमा विद्यार्थी रहने अवस्था नभएकाले शिक्षकको अभाव पनि अभिभावकले नै पूरा गर्नुपर्छ । यसबेला अभिभावकले आफ्ना बालबालिकाको सिकाइको अवस्थाबारे सचेत नहुने हो भने बालबालिकाको भविष्य अन्धकार हुनसक्छ । 
अनलाइन शिक्षालाई केवल महामारीका समयमा मात्र होइन, सामान्य समयमा पनि प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई पठनपाठनसँग जोडेर प्रयोग गर्न सकेका खण्डमा यसले सिकाइ उपलब्धिमा पनि वृद्धि गर्न सक्छ । त्यसैले हरेक शिक्षण संस्थाहरूले यसको व्यापक रूपमा प्रयोगमा ल्याउनु पक्कै नै सान्दर्भिक देखिन्छ । त्यसैले अहिले हामीले अनलाइन शिक्षालाई अन्यथा नसोची एउटा उत्तम विकल्पका रूपमा र आगामी दिनमा थप सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्छौँ ।

प्रतिक्रिया