भर्खरै

ग्रामीण तथा दुर्गम क्षेत्रका घरेलु तथा साना उद्योगहरुका लागि नविकरणीय उर्जाको सम्भावना

  • प्रकाशित मिति : मंगल, असार ८, २०७८
  • - पूर्ण रंजितकार
title

 नेपालको लागि उर्जा उत्पादन गर्न जलविद्युत प्रविधि सबभन्दा उपयुक्त प्रविधि हो भन्ने स्पष्ट छ भने सौर्य विद्युत प्रविधिबाट उत्पादित विद्युत पनि भरपर्दो र किफायती देखिएको छ । त्यसैगरी प्रविधिमा भएको विकास र विश्व बजारमा कम मूल्यमा प्रविधि उपलव्ध भएको र नेपालका उद्यमीहरु, जनशक्ति र लगानी आवश्यकता अनुसार व्यवस्थापन गर्नसकिने भएको कारणले बायोग्यास प्रविधिबाट र वायु उर्जा प्रविधिबाट उत्पादित विद्युत पनि भरपर्दो हुन सक्ने देखिएको छ । 
 
सन् १९११ मा ५०० किलोवाट विद्युत उत्पादन गर्न सकिने फर्पिङ्ग जलविद्युत आयोजना स्थापना पछि हालसम्म आईपुग्दा १४ सय मेगावाट बिजुली उत्पादन हुने गरी नदि प्रवाही (Run-of-the-river), आंशिक जल भण्डारण (Peaking Run-of-the-river) र जल भण्डारण (Storage) प्रकारका जलविद्युत आयोजनाहरु सञ्चालनमा आईसकेका छन् । अबको केही वर्षमा ३ हजार मेगावाट जलविद्युत उत्पादन हुने गरी नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत उत्पादकहरुबाट आयोजनाहरु निर्माण गरिरहेका छन् ।
 
वर्तमान अवस्थामा अनुमति प्राप्त गरेका, विद्युत खरिद सम्झौता गरेका, वित्तीय व्यवस्थापन भएका आयोजनाहरुको संख्या र क्षमतालाई सामान्य रुपमा हेर्दा सन् २०२५ को अन्त्यसम्ममा नेपालमा ५ हजार मेगावाट जलविद्युत प्रविधिबाट उत्पादन हुने लक्षण देखिन्छ । त्यसैगरी सौर्य विद्युत प्रविधि, बायोग्यास प्रविधि र वायु उर्जा प्रविधिबाट पनि उल्लेखनीय रुपमा विद्युत उत्पादन हुने देखिन्छ । राष्ट्रिय विद्युत प्रसारण प्रणालीमा जोडिने सौर्य विद्युत प्रविधिबाट विद्युत उत्पादान गर्नका लागि ६ सय मेगावाट भन्दा बढीका लागि विद्युत विकास विभागबाट अनुमति दिइसकेको छ र करीब ४० मेगावाट सौर्य प्रविधिबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ । 
उत्पादित विद्युत खपतका लागि उद्योग धन्दा, घरायशी काम र विद्युतीय यातायातलाई लक्ष्य गरी आवश्यक पूर्वाधार निर्माण वा सुधार गर्ने कार्य हाल भैरहेको छ । त्यसै गरी विद्युत निर्यातका लागि पनि आवश्यक नीति निर्माण र प्रसाराण प्रणाली व्यवस्थापन गरिँदै आएको छ । 
 
नेपालमा करीब ९ लाख घरेलु तथा साना उद्याोगहरुका सञ्चालनमा रहेका छन् भन्ने अनुमान गरिएको छ । ती मध्ये सरकारी निकायमा दर्ता भएका करीब ४ लाख रहेको मानिएको छ । त्यसै गरी देशैभरि प्रादेशिक, जिल्ला र पालिका तहमा सञ्जाल रहेको घरेलु तथा साना उद्योगहरुको हक हीत सम्वद्र्धन गर्न र सरकारी निकायहरु, गैरसरकारी निकायहरु, दातृ निकायहरु, वित्तीय निकायहरु र अन्य सरोकारवालाहरुका साथ समन्वयकारी भूमिका निर्वाह गर्दै आएको नेपाल घरेलु तथा साना उद्योग महासंघमा ३५ हजार साना तथा घरेलु उद्योग सदस्यता लिई आवद्ध भएका छन् । 
सरकारी निकायमा दर्ता भएका करीब ४ लाख घरेलु तथा साना उद्योगहरुले ३२ लाखलाई रोजगारी दिएको छ । आवश्यक कच्चा पदार्थ स्थानीय उत्पादन नै हुने, स्थानीय दक्ष, अर्ध दक्ष र अदक्ष जनशक्ति परिचालन हुने, स्थानीय स्तरको लगानी र उद्यमशीलताबाट सञ्चालित हुने र स्वदेश र विदेशमा समेत उत्पादित वस्तुहरु विक्री हुने भएकोले राष्ट्रिय अर्थतन्त्रमा घरेलु तथा साना उद्योग व्यवसायको उल्लेखनीय भूमिका रहेको मानिएको छ भने जीडीपीमा पनि राम्रो हिस्सामा रहेको छ । घरेलु तथा साना उद्योग व्यवसायका लागि आवश्यक उर्जा वा इन्धन हातैले काम गर्ने र पकाउन पर्ने भएमा दाउरा वा कोईला चहिने, यन्त्र उपकरण चलाउनका लागि डिजेल वा मट्टितेल वा पेट्रोलबाट चल्ने जेनरेटर चाहिने हालको अवस्थामा केही केही व्यवसायले राष्ट्रिय प्रसारण प्रणालीबाट प्राप्त बिजुलीबाट, मिनिग्रिड वा लघु जलविद्युतबाट वा सौर्य प्रविधिबाट उत्पादित बिजुली प्रयोग गर्दै आएको पाइन्छ ।
सुकाउनका लागि भने विभिन्न प्रकारका सोलार ड्राएरहरु प्रयोग गरिँदै आएको छ । दाउरा बाल्दा एकातिर वन जंगल नाश हुने र कोईला बाल्दा विदेशी मुदामा किन्नु पर्नेदेखि दुबै प्रकारबाट उत्पादन हुने धुँवाको कारणले वायु प्रदूषित भै स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले पछिल्लो समयमा नविकरणीय उर्जा प्रविधिबाट उत्पादित विद्युत प्रयोग गर्नु आवश्यक भएको हो । घरेलु तथा साना उद्योग व्यवसायका लागि विद्युतीय यन्त्र, उपकरण चलाउँदा कार्य सहज हुने, उत्पादन समय कम लाग्ने, बढी उत्पादन गर्न सकिने, बढी उत्पादनका लागि बढी कच्चा पदार्थ आवश्यक हुने, कम जनशक्तिबाट कार्य सम्पन्न हुने भएकोले उद्योग व्यवसायको आयतन वृद्धि हुने वा नयाँ घरेलु तथा साना उद्योग खोल्न सकिने र उत्पादनको विक्री व्यवस्थापन गर्न थप जनशक्ति र व्यापार सञ्जाल आवश्यक हुने भएकोले घरेलु तथा साना उद्योग व्यवसायका लागि सकभर चाँडो विद्युतीकरण गर्ने उपाय अवलम्बन गर्नु आवश्यक छ । 
 
अधिकांश घरेलु तथा साना उद्योग व्यवसाय राष्ट्रिय प्रसारण प्रणाली नपुगेका इलाकाहरुमा सञ्चालित रहेका छन् । यसरी राष्ट्रिय प्रसारण प्रणाली नपुगेका इलाकाहरुमा सञ्चालित घरेलु तथा साना उद्योगहरुका लागि आवश्यक उर्जा विद्युत नै हुने गरी व्यवस्थापन गर्नुपर्ने औचित्यलाई ध्यानमा राखेर सरकारी निकायहरु र निजी क्षेत्रका सेवा प्रदायकहरुको भूमिका अपरिहार्य भएको छ । झण्डै ९० प्रतिशत जनसंख्यालाई राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट जोडिसकेको भनिए पनि ती मध्ये ठुलै अनुपातका ग्राहक संख्यालाई ५ आम्पेर क्षमतामात्र उपभोग गर्ने सुविधा दिएको र वर्षभरिका ४० प्रतिशत दिनहरुमा मात्र जलविद्युत आयोजनाहरुले जडित क्षमता अनुसार विद्युत उत्पादन गर्नसक्ने भएकोले राष्ट्रिय प्रसारण प्रणाली पुगेका इलाकाहरुमा सञ्चालित घरेलु तथा साना उद्योगहरुका लागि आवश्यकता अनुसार क्षमता र निरन्तर विद्युत आपूर्ति हुन नसकिने भएमा उपयुक्त नविकरणीय उर्जा प्रविधिबाट आवश्यकता अनुसारको विद्युत उत्पादन हुने प्रणाली जडान गर्नुपर्ने हुन्छ । तर, सोलार मिनिग्रिड, लघु जलविद्युत मिनिग्रिड, सोलार–वायु उर्जा हाईब्रिड मिनिग्रिड, सोलार–लघु जलविद्युत हाईब्रिड मिनिग्रिड वा सोलार–लघु जलविद्युत–वायु उर्जा हाईब्रिड आयोजनाहरुबाट विद्युत प्राप्त हुनसक्ने भएमा घरेलु तथा साना उद्योगहरुले आफ्नो छुट्टै व्यवस्थापन गर्नु आवश्यक नपर्ने हुन्छ । यसरी विद्युत सुविधा पुगेका वा नपुगेका इलाकाहरुमा सञ्चालित घरेलु तथा साना उद्योगहरुका लागि विद्युतीकरण गर्न संघीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकारका सम्बन्धित निकायहरुबाट आवश्यकता अनुसार कार्यक्रम चलाई प्राविधिक तथा आर्थिक सहयोग दिनुपर्ने हुन्छ । साथै सबै तह र तप्कालाई जिम्मेवारीको गहनता अनुसार क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । 
 
विद्युत प्राधिकरण वा विद्युत उपभोक्ता महासंघहरुले घरेलु तथा साना उद्योगहरुलाई विद्युत प्रसारण र वितरण प्रणालीमा सुधार गरी सहयोग गर्नुपर्ने हुन्छ । राष्ट्रिय प्रसार प्रणालीबाट सम्भव नहुने अवस्थामा मिनिग्रिड वा उद्योग आफैले आवश्यकता अनुसार विद्युत उत्पादन गर्नसकिने गरी क्षमता दिन सरकारी निकायहरु, निजी क्षेत्रका आपूर्ति तथा जडान व्यवसायीहरुका साथै वित्तीय संस्थाहरुले सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यी सबै अवस्थालाई सरकारात्मक तुल्याउन नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल गाउँपालिका महासंघ, नेपाल नगरपालिका सघ, नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल नविकरणीय उर्जा परिसंघ र वित्तीय संस्थाहरु एक आपसमा समन्वय गर्दै जानुपर्ने हुन्छ ।

प्रतिक्रिया