६३५ मेगावाट क्षमताको दूधकोसी जलविद्युत आयोजनाको काम प्रभावित

  • प्रकाशित मिति : बिही, चैत २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, चैत । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दूधकोसी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । 
विश्व महामारीको रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड–१९) का कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित भएको हो । 
चालू आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा यसै आवमा निर्माण थाल्ने योजना थियो  ।  कोरोना  महामारीका कारण परामर्शदाताले समयमा काम गर्न नसक्नु र त्यसैका कारण सरकारी स्तरमा पर्याप्त ध्यान पुग्न नसक्दा आयोजना निर्माणका लागि तोकिएको समयसीमा पालना हुन  सकेको छैन । 
 आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माण गरेको  इटालियन  ठेकेदार  कम्पनी  इएलसी  इलेक्ट्रो  कन्सल्टका  प्रतिनिधि  कोरोना  महामारीका  कारण  नेपाल  आउन  सकेको छैन । महामारीबाट  प्रभावित  मुलुक  भएका  कारण आयोजनाका अधिकारीले धेरै ताकेता गर्नसकेका छैनन्  ।  दुई  वर्ष  पहिले  नै  तयार  भएको प्रतिवेदनमाथि आवश्यक टिप्पणीसमेत आयोजनाका अधिकारीले पठाइसकेका छन् । 
परामर्शदाताले त्यसलाई समेटेर अन्तिम प्रतिवेदन बुझाउन बाँकी छ । आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार हामीले प्रतिवेदन मस्यौदामा टिप्पणी  पठाइसके पनि कोरोनाले  बढी  प्रभावित क्षेत्र भएकोले  ठेकेदार कम्पनीले  काम  गर्न नसकेको बताए । श्रेष्ठले भने आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरण  पुगेको  छ  ।  आयोजनामा स्वपुँजी २० प्रतिशत र ८० प्रतिशत ऋण हुने तय गरिएको छ । सो प्रस्ताव अर्थ मन्त्रालयमा  पुगेको  छ  तर  निधो  भइसकेको  छैन  ।  आयोजनामा  स्वपुँजी  सरकार  तथा  नेपाल विद्युत् प्राधिकरणको हुने प्रस्ताव गरिएको छ । ऋणका लागि एसियाली विकास बैङ्क (एडीबी) को  नेतृत्वमा  एआईबी,  एआईईबी  र  कोरियन एक्जिम बैङ्कले सहवित्तीयकरणको मोडालिटीमा  लगानी  गर्ने  विषयमा  छलफल  चलिरहेको छ तर कोरियन एक्जिमले खासै चासो  देखाएको  छैन  ।  वित्त  व्यवस्थापनको  टुङ्गो तीन महिनाभित्र हुने अपेक्षा आयोजना व्यवस्थापनको छ । सरकारले  आयोजनालाई  नीति  तथा  कार्यक्रममा समावेश गरेर प्राथमिकता देखाए पनि उल्लेख्य उपलब्धि यो वर्षमा हासिल हुन सकेन  ।  
आयोजना  निर्माणका  लागि  जग्गा  अधिग्रहण गर्न १२ अर्ब रुपियाँ लाग्ने अनुमान छ तर यो आर्थिक वर्षका लागि २० करोड रुपियाँमात्र विनियोजन भएकाले अधिग्रहणको प्रक्रियाले चाहे जति गति लिन सकेको छैन  । जमिन  भौतिक  संरचना  तथा  अन्य  सम्पत्तिमा  पर्ने  असरबाट  दुई  हजार  पाँच  सय  घरधुरीलाई  भौतिक  तथा  आर्थिक  प्रभाव पर्ने आयोजनाले जनाएको छ । बाँध क्षेत्र  तथा  विद्युत्  गृहको  संरचनाका  कारण  खोटाङको  रावाबँेसी,  ऐँसेलुखर्क  र  हलेसी  तुवाचुङ  प्रभावित  हुने  देखिएको  छ  भने  ओखलढुङ्गाको चिसङ्खुगढी, सोलुखुम्बुको नेचासल्यान र थुलुङ दूधकौशिका गाउँपालिका प्रभावित हुनेछन् ।  आयोजनाको  बाँधकै  कारण  ९२०  हेक्टर जमिन डुबानमा पर्नेछ । यसबाट एक हजार ५३१ मिलियन घनमिटर क्षमताको ताल बन्नेछ  ।  बाँध  खोटाङ  र  ओखलढुङ्गाको  बीचमा  बनाउने  तय  भएको  छ  ।  आयोजना  निर्माणका  लागि  स्थानीयको  साथ  सहयोग  प्रशंसनीय रहेको श्रेष्ठले बताए ।
 
अहिले आयोजनास्थल पुग्ने पहुँच मार्ग बन्ने क्रममा छ । “कुल छ किलोमिटरमध्ये दुई किलोमिटर बाटो तयार भएको छ । बाँकी बनाउन काम भइरहेको छ”, ६३५  मेगावाट  क्षमताको  आयोजनाको  दुईवटा  विद्युत्  गृह  बनाइने  छ  । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर रभुँवाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिने भएको हो । विद्युत्  गृहसम्म  पानी  पु¥याउन  १३.४  किलोमिटर लामो सुरुङ बनाउनुपर्ने हुन्छ । पछिल्लो  आकलन  अनुसार  आयोजना निर्माणका लागि ब्याजबाहेक एक अर्ब ५३ करोड डलर लागत लाग्नेछ । हामीले यो समाचार गोरखापत्रबाट लिएका हौं । 

प्रतिक्रिया