भर्खरै

बेलैमा सतर्कता अपनाऔं

  • प्रकाशित मिति : बुध, चैत ११, २०७७
  • - विद्युत संसार
title

काठमाडौं ११ चैत । विगत डेढ वर्ष देखि विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वनै आतङ्की बन्न पुग्यो । विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मी सक्रिय हुँदाहुँदै पनि समस्या पूर्णत नियन्त्रणमा आउन सकिरहेको छैन । विश्वभर कोभिड— १९ का कारण मृत्यु हुनेको संख्या करिब २७ लाख २७ हजार नाघिसकेको छ । अहिले पनि विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड १३ लाखभन्दा बढी छ ।
 
नेपालमा यो भाइरसले तीन हजार १६ जनाको ज्यान लिइसकेको छ । दुई लाख ७५ हजारभन्दा बढी कोभिड— १९ बाट संक्रमित भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या ९ सय ६९ छ ।
केही समय यता विभिन्न देशमा महामारीको असर कम हुँदै गर्दा पुनः युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा संक्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । 
अघिल्लो चरणमा महामारीले पारेको प्रभावको अवस्थालाई मूल्याङकन गर्दै सरकारले अर्थतन्त्रलाई असर पु¥याउन नदिन विभिन्न उपाय अपनाउन आवश्यक छ । देशमा निर्माण भइरहेका विकासका कामहरुलाई महामारीको बाहनामा काम बन्द हुने जस्ता अवस्था आउन नदिन सरकारले ठूलो भुमिका खेल्नु पर्दछ ।
 
कुनै पनि व्यवसायीहरुले आफुले व्यवसाय गर्दा सरकार र विश्व स्वास्थ्य मापदण्ड पुर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न आवश्यक छ । सरकारले खोप आयात तथा वितरणलाई सक्दो प्रभावकारी बनाएको छ । आफूले उत्पादन गर्न नसकेको अवस्थामा अनुदान, सहयोग वा खरिद नै खोप उपलब्धताको आधार हो ।
संक्रमणको विद्यमान अवस्थाको गम्भीर मूल्याङ्कन गरेर बन्दाबन्दी गर्नेदेखि सार्वजनिक जीवनका गतिविधि सीमित गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्तो अवस्था आउन नदिन नागरिक स्वयम् समयमा नै सचेत हुन आवश्यक छ । 
सरकारले पनि कोरोनाको दोस्रो लहरले आक्रमण गर्नु अगावै सीमा नाका र विमानस्थलजस्ता संवेदनशील स्थानमा कोरोना परीक्षणको उपयुक्त व्यवस्था मिलाउने, सकेसम्म अन्य देशबाट आउने व्यक्तिलाई कोभिड— १९ विरुद्धको खोप लगाएरै आउन प्रोत्साहन गर्नेजस्ता प्रयास यथाशीघ्र चाल्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया