भर्खरै

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

  • प्रकाशित मिति : Thu-11-Mar-2021
  • - Admin
title

काठमाडौं २७ फागुन । जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन ।
 
पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई सरकारले  एकीकृत भएर परियोजना बनाउने आग्रह गरेको थियो । त्यसअनुसार लगानी बोर्डर्ले उनीहरुलाई आपसमा सहमति गरेर परियोजनाको लगानी तथा निर्माण मोडालिटी टुंग्याएर एकीकृत प्रसस्ताव ल्याउन भनेको थियो ।
 
 
यो परियोजनामा लगानी गर्न म्याट्रिक्स इन्टरप्राइजेज (नेपाल), जनरल इलेक्ट्रिक इनर्जी (अमेरिका), फुजी इलेक्ट्रिक कम्पनी (जापान), नेब्रास पावर (कतार) र स्मेक (अस्ट्रेलिया)ले इच्छा देखाएका थिए । उनीहरुलाई विभिन्न शर्तसहित एकीकृत रुपमा परियोजना विकासको प्रस्ताव ल्याउन भनिए पनि सरकारले सोचेअनुसार भएन ।
 
लगानी बोर्डका अनुसार पाँच कम्पनीले एक आपसमा सहमति गरेर प्रस्ताव ल्याउन चाहेनन् । उनीहरुले दिएको प्रारम्भिक प्रस्ताव मूल्यांकन गरेर बोर्डले सबै कम्पनी सहभागी गराएर परियोजना अघि बढाउने योजना बनाएपनि असफल भएको छ ।
 
बोर्ड स्रोतका अनुसार म्याट्रिक्स इन्टरप्राइजेजले अर्को एक विदेशी कम्पनीसँग मिलेर परियोजना बनाउने भन्दै नयाँ प्रस्ताव राखेको छ । तर, बोर्डले यसको मूल्यांकन गरिसकेको छैन ।
 
लगानी बोर्ड नेपालले पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर-६’ एउटै लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेको थियो । यसो हुँदा आयोजना आकर्षक हुने बोर्डको अनुमान थियो ।  पश्चिम सेतीलाई लगानीका लागि सम्भाब्य बनाउन एसआर-६ परियोजना पनि सँगै जोडेर लगानी सम्मेलनमा ‘सो-केस’मा राखिएको थियो ।
 
बोर्डका प्रमुख कार्यकारी अधिृकत सुशील भट्ट पश्चिम सेती परियोजनामा लगानी भित्र्याउन ५ कम्पनीको प्रस्तावको विषय पुरानो भइसेकको बताउँछन् । परियोजनाको विकासबारे बोर्डले  काम गरिरहेको उनको भनाइ छ ।
 
एसआर–६ पनि दिएन निकास

पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात ४५० मेगावाटका जलाशययुक्त आयोजना हो । पश्चिमसेतीमा बुढीगंगा मिसिने स्थानभन्दा केही तल एसआर(६ आयोजना बनाउन प्रस्ताव गरिएको थियो । यो परियोजना डोडी र अछाम जिल्लामा पर्छ । दिपायल(गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ ।
 
जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ । यसलाई आधा घटाउने हो भने २२८ मेगावाट विजुली उत्पादन हुनसक्छ ।
 
साथै पश्चिम सेती र एसआर ६ परियोजना एकै विकासकर्ताले बनाउँदा पानी थुन्ने, विद्युत निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गर्दा ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डको दावी छ । एसआर-६मा १।५ मिटर हेडरेस सुरुङमार्ग बनाएर बिजुली उत्पादन गर्न सकिन्छ । खुलास्थानमा पावरहाउस बनाउन सकिने लगानी बोर्डले जनाएको छ ।
 
यो परियोजना पनि पाएमा पश्चिम बनाउन वातावरण तयार हुने बोर्डको अनुमानअनुसार लगानीकर्ताले भने चासो दिएका छैनन् ।
 
चर्चामा मात्रै पश्चिम सेती

चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ भदौ १३ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।
 
तर बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरएको थियो । पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तीय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो । चिनियाँ कम्पनीले करिब ७ वर्ष परियोजना होल्ड गरेको थियो ।
 
२४ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो ।
 
तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाब्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो, जसले एसआर-६ परियोजना पनि दिने हो पश्चिमसेती बन्ने निश्कर्ष निकालेको थियो ।
 
त्यसैका आधारमा अहिले बोर्डले दुबै परियोजनालाई एउटै प्याकेजमा राखेर विकासकर्ता खोज्दा पनि  सफलता हात लागेको छैन । 
–अनलाइनखबर

प्रतिक्रिया