पुरातात्विक सम्पदा निर्माण प्रगति किन सुस्त ?
- प्रकाशित मिति : बुध, माघ २१, २०७७
- - विद्युत संसार
काठमाडौं २१ माघ । २०७२ सालको महाविनासकारी भुकम्प पछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको प्राधिकरणको तथ्याङकमा उल्लेख गरेको छ । पुनर्निर्माणका निजी आवास पुनर्निर्माण क्षेत्रमा अपेक्षित प्रगति देखिए पनि सम्पदा निर्माणको गति भने सुस्त छ ।
पुरातत्व विभागले काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित २५ जिल्लाका पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको थियो ।
तुलनात्मक रूपमा सम्पदा पुनर्निर्माण अन्य क्षेत्रको पुनर्निर्माण भन्दा जटिल र चुनौतीपूर्ण रहेकै कारण पुनर्निर्माणमा ढिलाई भएको हो । यद्यपि निर्माण कार्यमा आएका चुनौतीहरुलाई आत्मसाथ गर्दै समस्या समाधानको उपाय अवलम्वन गर्नुको विकल्प छैन् ।
यसमा दक्ष जनशक्ति, निर्माण सामग्री, धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षण, स्थानीय समुदायसँगको सहमति, सम्पदा सम्बन्धी विश्वव्यापी मान्यता, काष्ठकला तथा मूर्ति निर्माणका लागि लाग्ने समयलाई ध्यान दिनुपर्दछ ।
महत्वपूर्ण पुरातात्विक धरोहरका रूपमा रहेका सम्पदा मध्ये अहिलेसम्म रानीपोखरी पुनर्निर्माणको कार्य सम्पन्न भएको छ भने धरहराको पुनर्निर्माण भइरहेको छ । बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्वीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरूको जीर्णोद्धार एवं पुनर्निर्माण काम भइरहेको छ । बृहत्त टुँडिखेल, लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोर्खा एवं नुवाकोट दरबार लगायत सम्पदाहरूको गुरुयोजना स्वीकृतको चरणमा रहेका छन ।
पुरातात्विक सम्पदा निर्माण घर निर्माण जस्तो सम्पदा पुनर्निर्माण तुरुन्तै गर्न सम्भव नहुन सक्दछ ।
प्राविधिक, आर्थिक, निर्माण सामग्री, जनशक्ति अभाव, कानुनी प्रक्रिया लगायतले सम्पदा पुनर्निर्माणमा ढिलाई हुने हुँदा एकै पटक धेरै सम्पदाको संरक्षण र पुनर्निर्माण गर्नु चुनौतीपूर्ण हुन सक्दछ जसकारण प्रक्रियागत रुपमा पुरातात्विक सम्पदा निर्माण गर्नमा सरकारको ध्यान जान आवश्यक छ ।