अँध्यारोमुक्त जिल्ला बन्दै उदयपुर, धमाधम ग्रामीण विद्युतीकरण

  • प्रकाशित मिति : मंगल, माघ २०, २०७७
  • - भक्तिविलास पोखरेल
title

गाईघाट,माघ  । नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले उदयपुर जिल्लालाई अँध्यारोमुक्त जिल्ला बनाउने गरी ग्रामीण विद्युतीकरणका विभिन्न योजनाहरु सञ्चालन गरेको छ । जिल्लाका आठवटा स्थानीय तहहरुमध्ये ताप्ली गाउँपालिका वाहेक अन्य सातवटामा राष्ट्रिय प्रसारणको बिजुली पुगिसकेको विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ ।
 
शाखा प्रमुख रोशनकुमार सिंहका अनुसार त्रियुगा,कटारी,चौदण्डीगढी र वेलका नगरपालिकामा राष्ट्रिय प्रशारणको बिजुली पुगेको धेरै समय भए पनि जिल्लाको उदयपुरगढी, ताप्लि, लिम्चुङबुङ्ग र रौतामाई गाउँपालिकामा भने उक्त प्रसारण लाइनको विद्युत नपुग्दा सर्वसाधारण केहिसमय अघिसम्म सोलार र टुकीको भरमा बस्न बाध्य थिए । तर आजभोलि ताप्लि वाहेक सवै गाउँपालिकामा बिजुली बलिसकेको छ ।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार कुल ३० हजार सातसय ८० जनसंख्या रहेको उदयपुरगढी गाउँपालिकामा स्थानीय लघु विद्युतआयोजनाको बाहेक राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको थिएन । तर पछिल्लो समय प्राधिकरणको ग्रामीण विद्युतीकरण योजना अनुसार सो पालिकाको वडा नं १ र २ को कुर्कनटार र बाहुनिटार क्षेत्रका पाँचसय घरमा राष्ट्रिय प्रशारणको बिजुली बत्ती बलिसकेको र अन्य वडाहरुमा समेत विस्तारको काम भइरहेको शाखा प्रमुख सिंह बताउँछन् ।
 
उक्त योजनाको लागि जनसहभागितामा पाँच करोड ८४ लाख र सामुदायिक विद्युतीकरण विभागको झण्डै ५२ करोड गरी जम्मा ५८ करोड ४९ लाख रुपियाँको लागतमा विद्युत विस्तारको कार्य जारी रहकोले चाडै त्यहाँका सर्वसाधारणले विद्युत  सेवा प्रयोग गर्न पाउने उनको भनाइ छ ।
शाखा प्रमुख सिंहका अनुसार उदयपुरका चार वटै गाउँपालिकामा विद्युत विस्तारका लागि हरेक पालिकामा एक करोड ५० लाखका दरले बजेट निकासा आएको र सो अनुसार टेण्डर प्रक्रियाबाट लाइन जडान गर्ने काम पनि भइरहेको छ ।
 
तर ताप्लि गाउँपालिकाको लागि भने प्रदेश कार्यालयबाट आउनु पर्ने तार आउन नसकेकोले हालसम्म तार टाग्ने काम शुरु हुन सकेको छैन । तर यसै आर्थिक वर्षभित्रमा कटारी नगरपालिकाको वेतिनिबाट ताप्लि गाउँपालिकाको केन्द्र रुपाटारसम्म विद्युत लाइन पुर्याउने गरी बिजुलीका पोलहरु गाड्ने कामहरु धमाधम हुदै आएको र प्राधिकरणको प्रदेश कार्यालयबाट तार आउनासाथ जडानको काम शुरु हुनेछ ।
 
उनले सडक सञ्जालको अभावमा दुर्गम क्षेत्रमा सामानहरु ढुवानीमा समस्या र वस्तिहरु छरिएर,रहेकाले एउटा घरबाट अर्काे घरसम्म विद्युत पुर्याउन पनि निकैवटा पोलहरु गाड्नुपर्ने र तार टाङ्ग्न पनि त्यतिनै समस्या हुने गरेकोले त्यस क्षेत्रका सवै गाउँ बस्तीमा बिजुली बत्तीको सहज पहुँच पुग्न भने निकै समय लाग्ने बताए ।
 
यसैगरी जिल्लाको अति दुर्गम लिम्चुङबुङ गाउँपालिकामा छिमेकि जिल्ला खोटाङको हलेसीबाट तार टाँगेर बिजुली ल्याइएको छ । त्यहाँ दुईहजार पाँचसय ग्राहकहरुलाई सेवा प्रवाह भइसकेको शाखा प्रमुख सिंहले बताए । यता रौतामाई गाउँपालिकाको वडा नं १,३ र ६मा मुर्कुची बजारबाट राष्ट्रिय प्रसारणबाट पुवारे भञ्ज्याङ, चिसापानी, रौतापोखरी निकास हुदै पालिकाको केन्द्र भुट्टारसम्म लाइन विस्तार गरी सञ्चालनमा ल्याइएको उनले बताए ।
 
यसैगरी गाईघाटबाट बेल्टार जोड्ने गरी करिब ४० लाखको लागतमा सोहन कन्ट्रक्सन मार्पmत ११ हजार केभि प्रसारणको नयाँ फिडर लाइन विस्तार तथा ग्रामीण विद्युतीकरण योजना अन्तर्गत ३० लाख रुपियाँको लागतमा बोक्से साउने खण्डमा पनि लाइन विस्तारका लागि विद्युत तार जडानको काम भइरहेको कार्यालयका इन्जिनियर सन्जीव कर्णले बताए । गोरखापत्र दैनिक

प्रतिक्रिया