एलपी ग्यास उद्योगमा चरम लापरबाही : ६० मध्ये ४६ उद्योगको मात्रै गुणस्तर चिह्न

  • प्रकाशित मिति : आईत, माघ १८, २०७७
  • - पत्रपत्रिकाबाट
title

 
काठमाडौँ  l खाना पकाउने एलपी ग्यासमा चरम लापरबाही हुने गरेको पाइएको छ । उद्योग सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड उद्योगीहरूले पालना नगरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
 
उद्योगहरूमा पटकपटक गरेको अनुगमनमा कैफियतसमेत भेटिने गरेको विभागले जनाएको छ । ‘ग्यास उद्योगीहरूले एनएस चिह्न पनि समयमै लिएका छैनन् । अनुगमनका क्रममा चिह्न लिएका उद्योगले समेत मापदण्ड पालना गरेको देखिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने । बोटलिङ प्लान्टका लागि नेपाल गुणस्तर चिह्न ऐन २०३७ अनुसार उद्योगहरूले नेपाल गुणस्तर चिह्न लिनुपर्छ ।
 
यसका लागि विभागले २०७३ कात्तिक २९ मा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सूचनाअनुसार ग्यास उद्योगले अपनाउनुपर्ने मापदण्ड तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने थियो । तर ४ वर्ष बित्दा ६० उद्योगमध्ये ४६ वटाले मात्रै एनएस चिह्न लिएका छन् । एनएस चिह्न लिएर कारोबार गरिरहेका केही उद्योगमा समेत कैफियत भेटिएको पुडासैनीले बताए ।
‘एनएस चिह्न नलिएका उद्योगहरूमा कमजोरी छ, त्यही भएर उनीहरूले गुणस्तर चिह्न लिन सकेका छैनन् । यहाँ त गुणस्तर चिह्न लिएकामा समेत कैफियत देखियो,’ पुडासैनीले भने, ‘यो हेलचेक्रयाइँ हो । यस सम्बन्धमा आयल निगमलाई पत्र पठाइसकेका छौं ।’ विभागका अनुसार सिलिन्डरमा क्याप, होइड्रोस्टाटिक, लिकेज परीक्षणलगायत सम्पूर्ण मापदण्ड पूरा गर्नपर्छ । यसपछि निरीक्षणका लागि पुनः विभागमा निवेदन दिनपुर्छ । त्यसपछि विभागका निरीक्षण अधिकृतले अनुगमनरनिरीक्षण गरेर एनएस
 
चिह्नका लागि आवश्यक सिफारिस गर्छन् । सुरक्षाको मापदण्ड र पूर्वाधार पूरा नगर्ने उद्योगलाई सीमित समय दिएर सुधार गर्न निर्देशन दिइन्छ । तर चार वर्ष बित्दा पनि सबै ग्यास उद्योगले एनएस चिह्न लिएका छैनन् ।
 
मंसिर दोस्रो साता विभागका निरीक्षण अधिकृतले राप्ती ग्यास उद्योगमा अनुगमनमा गरेका थिए । त्यस क्रममा उद्योगले तौल परीक्षण नगरेको, सिभिटी मेसिन प्रयोगमा नरहेको, सेफ्टी तालिम दिएको रेकर्ड नभएको, सिलिन्डरको भौतिक अवस्था हेरी ‘एचएसटी’ गर्न नपाइएको, लिकेज सिलिन्डरलाई मार्क गरी नछुट्याइएको, ट्रेडिङको रेकर्ड राखेकोलगायत कैफियत भेटिएका थिए ।
 
सिद्धार्थ ग्यास उद्योगमा अनुगमन गर्दा भल्भ लिकेज, टेस्टिङ मेसिन प्रयोग नभएको, सिलिन्डरहरूको हेन्डलिङ सुरक्षित नभएको, प्रेसर डाइल गज क्यालिब्रेसन नभएकोलगायत समस्या भेटिएको थियो । गीता ग्यास उद्योगमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा सीभीटी मेसिन, वाटर डिप टेस्टबाट भल्भरबडी लिकेज टेस्ट नगरिएको, नेपाल गुणस्तरअनुसार एचएसटी नभएको, भरेको सिलिन्डर नेपाल गुणस्तरअनुसार नभएको पाइएको थियो ।
 
मेट्रो काठमाडौं ग्यास उद्योगमा पनि लिकेज सिलिन्डरमा क्याप नलगाइएको, सीभीटी मेसिन प्रयोगको अवस्था नरहेको, सिलिन्डर नापतौल मेसिन नगरेको, भरेकै सिलिन्डर नापतौल गुणस्तरबमोजिम नभएको आदि समस्या देखिएको थियो । श्री ग्यास उद्योगको अवस्था पनि उस्तै भेटिएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।
‘अनुगमनका क्रममा सीभीटी मेसिन प्रयोगको अवस्थामा थिएन, प्रेसर डायलगज क्यालिब्रेसन नभएको, सेफ्टी तालिम दिएको रेकर्ड नभएको, सिलिन्डरको भौतिक अवस्था हेरी एचएसटी गरेको देखिएन,’ उनले भने । ग्यास सिलिन्डरको हाइड्रोलिङरहाइड्रोस्टाटिक टेस्ट, रेगुलेटरलगायत सुरक्षाका मापदण्डमा खेलबाड हुँदा समयसमयमा दुर्घटना हुने गरेको छ । मुख्यतः ग्यास भल्बका कारण जोखिम हुन्छ । ग्यासको भल्ब पुनः प्रयोगले जोखिम बढ्छ । भल्भ एक पटक प्रयोग गरेपछि पुनः प्रयोगयोग्य हुन्न । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५र५ वर्षमा गर्नुपर्छ । त्यसपछि ३÷३ वर्षमा परीक्षण गर्नुपर्छ । तर समयमै परीक्षण नगरिएको पाइएको विभागले बताएको छ ।
 
अनुगमनका क्रममा कैफियत देखिएका उद्योगलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । यसअघि पनि विभागले अनुगमन गर्दा साइबाबा ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग, भानु ग्यास उद्योग, त्रिवेणीलगायत उद्योगमा कैफियत देखिएको थियो । उनीहरूले एनएसविपरीत उद्योग सञ्चालन गरिरहेको पाइएको थियो । आयल निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेपछि ग्यास उद्योगीले आयात गरी रिफिलिङ मात्र गरेर बजारमा पठाउँदै आएका छन् ।
कान्तिपुर दैनिक

प्रतिक्रिया