भर्खरै

नलगाडका लागि ९५ प्रतिशत जग्गा अधिग्रहण

  • प्रकाशित मिति : बिही, माघ १५, २०७७
  • - सहदेव बस्नेत
title

 
माघ, जाजरकोट । नलगाड जलविद्युत् कम्पनी लिमिटेडले जग्गा अधिग्रहणको काम ९५ प्रतिशत सकेको छ । कतिपयको अंशबन्डा हुन बाँकी रहेको, आपसी विवाद र कतिपय विदेशमा रहेकाको नाममा रहेको जग्गाबाहेक अन्य सबै जग्गा कम्पनीले अधिग्रहण गरेको हो ।
 
लिमिटेडका कार्यकारी निर्देशक रामगोपाल लेगेजुले अहिलेसम्म ९५ प्रतिशत जग्गा अधिग्रहण गरिसकेको जानकारी दिनुभयो । चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गर्ने भनेर आर्थिक वर्ष २०७६र७७ मा जारी सूचनाअनुसार अहिलेसम्म चार हजार ३६७ रोपनी जग्गा अधिग्रहण गरिसकेको र बाँकी २३८ रोपनी जग्गा मात्र अधिग्रहण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
 
जम्मा तीन हजार ९३३ कित्तामा झन्डै पाँच सय घर रहेको भन्दै कार्यकारी निर्देशक लेगेजुले उक्त घरको यसै वर्ष मूल्याङ्कन तथा मूल्य निर्धारण गरेर अधिग्रहणको काम सक्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कालीमाटी–खारा–लैखम–अँधेरी खोला आयोजना पहुँच मार्गमा पर्ने छवटा घरको मूल्य निर्धारण हुनुका साथै २१ लाख रुपियाँ निकासा भइसकेको छ । बाँकी अधिग्रहण गर्नुपर्ने घरको मूल्याङ्कन तथा मूल्य निर्धारण गरेर आगामी फागुनदेखि मुआब्जा वितरण थाली यसै वर्ष अधिग्रहण सक्ने योजना रहेको बताइएको छ ।
 
आव २०७६र७७ मा प्रकाशित सूचनामा जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण समितिले गरेको निर्णयअनुसार आयोजनाले प्रतिरोपनी छ लाख रुपियाँका दरले मुआब्जा वितरण गरेको थियो । चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गर्न दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।
 
नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका सर्वेक्षक चित्र केसीले हालसम्म अधिग्रहण गरिएको जग्गाको मुआब्जा दुई अर्ब ६२ करोड वितरण गरिसकेको जानकारी दिनुभयो । नलगाड हाइड्रोपावर आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) रिपोर्ट आउन अझै आठ महिनाको समय लाग्ने कार्यकारी निर्देशक लेगेजुले जानकारी दिनुभयो ।
 
हाल फिल्ड सर्वेक्षण भइरहेको जानकारी दिँदै उहाँले फिल्ड सर्वेक्षण गर्न झण्डै पाँच÷छ महिनाको समय लाग्ने बताउनुभयो । कोभिड–१९ का कारण फिल्ड सर्वेक्षणको काम बीचैमा रोक्नु परेको भन्दै उहाँले टेस्टिङ सुरुङको फिल्ड सर्वेक्षण भइरहेको बताउनुभयो ।
 
फिल्ड सर्वेक्षणको काम सम्पन्न भइसकेपछि अन्तिम रिपोर्ट तयार गरी आयोजनालाई बुझाउन परामर्शदाता कम्पनीलाई अझै आठ महिनाको समय लाग्ने बताइएको छ । आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

गोरखापत्र दैनिक

प्रतिक्रिया