ढल्केबर सबस्टेसनको स्तरोन्नति, थपिए ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर
- प्रकाशित मिति : मंगल, पौष २१, २०७७
- - Admin
काठमाडौं, पुस । देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको स्तरोन्नति भएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर थपेर स्तरोन्नति गरेको हो ।
स्तरोन्नति भएको सबस्टेसन आइतबार राति १० बजेबाट सञ्चालन गरिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार स्तरोन्नतिपछि ट्रान्सफर्मरको क्षमता ६३५ एमभिए पुगेको छ ।
उनले भने, ‘एउटा जडान भई सञ्चालनमा आएको छ भने अर्को ट्रान्सफर्मर जडान भइरहेको छ ।’ उनले सबस्टेसनको क्षमता बढेकाले अब सुख्खा याममा ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट थप सय मेगावाट विद्युत आयात गर्न सकिने बताए ।
सबस्टेसनको स्तरोन्नतिले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि बर्खामा बढी भएको विद्युत भारततर्फ पठाउन पनि सहज हुने उनले बताए । यसअघि सबस्टेसनमा २२०÷१३२ केभीका २ ट्रान्सफर्मर जडान थिए । यी ट्रान्सफर्मरको क्षमता ३२० एमभिए थियो ।
अब अन्तरदेशीय प्रसारण लाइनबाट भारतसँगको सम्झौताअनुसारको विद्युत आयात गर्न बाटो खुलेको प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए । ‘अहिले हाम्रो संरचनाले नधान्ने हुँदा यो विन्दुबाट २ सय ७० देखि २ सय ८० मेगावाट विद्युत आयात हुन्थ्यो,’ उनले भने, ‘अब थप सय मेगावाट ल्याउन सकिने भएको छ ।’
प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाईदेखि नोभेम्बरमा २ सय ५० मेगावाटसम्म र डिसेम्बरदेखि अप्रिलसम्म ३ सय ५० मेगावाटसम्म तथा मे देखि जुनसम्म २ सय मेगावाट विद्युत आयात गर्न मिल्ने गरी विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा सञ्चालनमा आइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २२० केभीको संरचना तयार भइनसकेकाले भारतबाट ४ सय केभी प्रसारण लाइनमार्फत आएको विद्युत्लाई १३२ केभीमा कन्भर्ट गरी प्रवाह गर्ने गरिएको छ ।
हेटौडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा चलिरहेको छ । प्राधिकरणले खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा चार्ज गर्ने तयारी गरिरहेको छ ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनसम्म आइपुग्नेछ । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ ।
२ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।
ऊर्जा खबर