भर्खरै

भारतमा जहाँ बढी नेपाली त्यहीँ बढी संक्रमण

  • प्रकाशित मिति : Thu-16-Apr-2020
  • - Admin
title

नयाँदिल्ली — भारतमा केही दिनयता कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणमा तीव्र वृद्धि देखिएको छ । त्यसमा पनि नेपालीहरूको बाक्लो उपस्थिति भएका राज्यहरूमा उच्च संक्रमण देखिएको छ ।
 
 
 
जसले गर्दा उनीहरूलाई एकातिर लकडाउनका कारण खानबस्नकै समस्या छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि थपिएको छ। हालसम्म भारतमा १२ नेपालीमा संक्रमण देखिएको छ। जसमध्ये १० जना कामको सिलसिलामा भारत आएका हुन्।
 
पछिल्लो तथ्याकंअनुसार भारतमा कोभिड–१९ संक्रमितको संख्या ९ हजार २ सय नाघेको छ। राज्यहरूमा हेर्ने हो भने संक्रमितको संख्या सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात देखिएको छ। कोभिड–१९ को उच्च संक्रमण देखिएका यिनै राज्यहरूमा नेपाली कामदारको बाक्लो उपस्थिति छ।
 
भारतमा १५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ। त्यसमध्येको ठूलो हिस्सा यिनै राज्यहरूमा रहेको प्रवासी नेपाली संगठनहरू दाबी गर्छन्। नेपाली कामदारहरूको उपस्थितिका हिसाबले दिल्ली पहिलो नम्बरमा आउँछ। यहाँ करिब तीनदेखि पाँच लाखको संख्यामा नेपाली कामदारहरू रहेको अनुमान छ। तीमध्ये अधिकांश घरेलु कामदार, सेक्युरिटी, कुक, वेटरका रूपमा काम गर्ने रहेको बताइन्छ। यति ठूलो संख्यामा नेपाली रहेको दिल्ली नै अहिले कोरोना भाइरसको संक्रमणबाट आतंकित छ। सोमबार साँझसम्ममा दिल्लीमा १ हजार १ सय जनामा संक्रमण पुष्टि भएको छ।
 
बढ्दो संक्रमणलाई रोक्न दिल्ली सरकारले विभिन्न स्थानलाई हटस्पट तोक्दै पूरै सिल गरेको छ। तीमध्ये अधिकांश नेपालीहरूको बाक्लो उपस्थिति रहेका ठाउँ हुन्। यसले उनीहरूलाई दैनिक किनमेलका लागि असहज बनाएकै छ, सँगै संक्रमणको त्रास पनि थपेको छ। त्यस्तै परिस्थिति भोग्न बाध्य छन् दिल्ली ओखलाका तुलबहादुर अटल। ‘सबै जना कतिबेला संक्रमणले छुने हो भन्ने डरत्रासमा बाचिँएरहेका छौं, के हुने होरु कसो हुने हो भन्ने चिन्ता अत्यधिक छ,’ अटलले भने। उनले दिल्लीमा हालसम्म कुनै पनि नेपालीमा संक्रमण नदेखिनुले केही राहत भने दिएको बताए। ‘भगवान्को कृपाले अहिलेसम्म दिल्लीमा नेपालीलाई कोरोना भएको सुनिएको छैन,’ उनले भने।
 
त्यसैगरी भारतको महाराष्ट्र राज्य रोजगार गन्तव्यका हिसाबले नेपालीहरूको दोस्रो रोजाइमा गनिन्छ। नेपालका राजनीतिक दलका प्रवासी नेपाली संगठनका अधिकारीहरूका अनुसार मुम्बईमा मात्र दुई–तीन लाख नेपाली कामदार छन्। आफैंमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीहरूलाई केही दिनयता महाराष्ट्रमा बढ्दो संक्रमणले थप त्रसित बनाएको छ। महाराष्ट्रमा १ हजार ८ सय ९३ जनामा कोभिड–१९ पुष्टि भइसकेको छ भने ९७ जनाको ज्यान गइसकेको छ। जुन अन्य राज्यहरूभन्दा बढी हो। उक्त राज्यका मुम्बई, पुनेमा सबैभन्दा बढी संक्रमण देखिएको छ। रोजगारीका लागि मुम्बई पुगेका नेपालीमध्ये अधिकांश चाल र झुग्गी झुपडीमा बस्ने गर्छन्। त्यस्ता बस्तीमा बस्नेले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। यस्तोमा एक जनामा संक्रमण देखिएको खण्डमा पूरै बस्तीमा फैलने जोखिम रहन्छ। भारतमा कोरोना भाइरस देखिएका आठ नेपाली पनि त्यस्तै बस्तीमा बस्दै आएका थिए।
 
पछिल्लो साता मुम्बईकै गिरगाउँ चौपाटीमा बस्ने एक नेपाली परिवारका आठ सदस्यमा कोभिड–१९ पुष्टि भएको थियो। यो घटनाले पनि नेपालीहरूमा संक्रमणको जोखिम उच्च रहेको देखाउँछ। घटना बाहिर आएपछि त्यहाँ बस्ने नेपालीलाई थप चिन्तित बनाएको प्रवासी नेपालीहरू बताउँछन्। हाल मुम्बईमा बस्दै आएका शालिग्राम तिवारीले पनि एउटै परिवारमा आठ जनालाई कोरोना देखिएपछि नेपालीहरूमा भोकै परिएलाभन्दा पनि संक्रमणले छोला भन्ने चिन्ता बढेको बताए। मानिसमा आफ्नो व्यापार व्यवसायभन्दा पनि ज्यानकै चिन्ता बढेको तिवारीले सुनाए। ‘पूरै त्रासको वातावरण छ, कफ्र्युको माहोल छ, केही दिनअघिसम्म भोकै परिएला भन्ने बढी चिन्ता थियो, केही दिनयता संक्रमणको चिन्तासमेत थपिएको छ,’ तिवारीले भने।
 
भारतमा भाइरस संंक्रमितको संख्यालाई हेर्ने हो भने तमिलनाडु तेस्रो नम्बरमा छ। तमिलनाडुमा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ५० हजारभन्दा बढी नेपाली रहेको बताइन्छ। जसमध्ये धेरैजसो अधिकांश गाडी चलाउने, चौकिदारीका अतिरिक्त फास्टफुड र विभिन्न कम्पनीमा काम गर्ने छन्। तमिलनाडुमा रहेका नेपालीमा अहिलेसम्म कोरोना संक्रमण नदेखिए पनि त्रास भने उत्तिकै छ। ‘सबैतिर बन्द गरिएको छ। अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको तर दिन प्रतिदिन त्रास बढ्दै गएको छ,’ चेन्नईमा बस्दै आएका लोकबहादुर छेत्रीले  भने। उनले नेपालीहरूमा भाइरस नदेखिनु आफैंमा खुसीको कुरा भए पनि निकै सजग हुनुपर्ने अवस्था रहेको सुनाए।
 
 
प्रवासी नेपाली संगठनका अनुसार कर्नाटकमा पनि नेपाली कामदारहरूको उल्लेख्य उपस्थिति छ। उनीहरूका अनुसार यो राज्यका बैंग्लोर, मैंगलोर, मैसुर, तुम्कुर, उड्की, गुलभर्गालगायतका सहरमा गरी दुई लाखभन्दा बढी नेपाली छन्। यहाँ रहेका नेपालीहरूमध्ये अधिकांश सेक्युरिटी र घरायसी काममा संलग्न रहेका छन्। केही कुक र वेटरको काम पनि गर्छन्। नेपालीहरूको कामको प्रकृतिले पनि मानिससँग घुलमिल हुनुपर्ने बाध्यताले उनीहरूको संक्रमणको जोखिम पनि उच्च रहेको छ।
 
 
बैंग्लोरकै एक नेपाली दम्पतीमा कोभिड–१९ को संक्रमणको कारण खोतल्दा पनि त्यो पुष्टि हुन्छ। दम्पतीमध्ये पहिले संक्रमण देखिएकी महिला एक भारतीय परिवारकहाँ घरधन्दा गर्थिन्। त्यही परिवारकी एक महिला केही दिनअघि मात्र विदेशबाट आएकी थिइन्। त्यसको दुई दिनमै उनलाई कोरोना संक्रमण देखिएको थियो। पछि उनबाटै नेपाली महिलालाई पनि सर्‍यो र पछि उनका श्रीमान्मा पनि कोरोना भाइरस देखियो। धन्न उनीहरूको परिवारको अन्य सदस्य भने संक्रमण देखिएन। यो घटना सार्वजनिक पछि विशेषगरी बैंग्लोरमा रहेका नेपालीलाई चिन्तित बनाएका त्यहाँ रहेका ऐनबहादुर रावलले बताए। ‘नेपालीहरूमा अहिले कसरी संक्रमणबाट जोगिने भन्ने चिन्ता छ। लकडाउनका कारण खानबस्नमा कठिनाइ त हुने नै भयो,’ रावलले भने। उनले काम गर्न बसेका एकातिर नेपालीमा चेतनाको कमी रहेको र त्यसमाथि साहुहरूले किनमेलका लागि उनीहरूलाई नै पठाउने गरेका कारण संक्रमणको जोखिम रहेको बताए। ‘अब काम गर्ने भएपछि साहुले भनेको मान्नैपर्‍यो, त्यसले गर्दा कतिबेला भाइरस सर्ने हो भन्ने त्रास रहेको छ,’ उनले भने।
 
 
त्यसैगरी राजस्थान, गुजरात र मध्यप्रदेशमा पनि ठूलो संख्यामा नेपाली विभिन्न पेसा व्यवसाय गरेर बसेका छन्। तर यिनै राज्यमा कोरोनाको संक्रमणको बढी देखिएको छ। यसबाहेक संक्रमण बढी देखिएका तेलंगना, राजस्थान, गुजरात, पश्चिम बंगाल, जम्मुकश्मीरका कामदार नेपालीको बाक्लो उपस्थिति छन्। यहाँका नेपालीहरू बढी फास्टफुड र सेक्युरिटीको कामको संलग्न रहेको पाइन्छ।
 
 
नेपालीको बाक्लो उपस्थिति रहेकै राज्यहरूमा संक्रमण बढ्दै गएपछि भारतमा रहेका विभिन्न राजनीतिक पार्टीनिकट प्रवासी संगठनका अधिकारीहरूले नेपालीहरूमाझ कोरोना भाइरसको संक्रमणसम्बन्धी जनचेतना विस्तार र कसैलाई संक्रमण देखिएको खण्डमा उपचारको ग्यारेन्टी गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन्। उनीहरूको भनाइमा भारतमा रहेमा नेपालीहरूको आर्थिक हैसियत र चेतनाको स्तरले पनि संक्रमणको जोखिम बढी रहेको छ। ‘भारतमा रहेका नेपालीहरूमध्ये अधिकांशको आर्थिक हैसियत राम्रो छैन। एउटै कोठामा धेरैजना दुस्खजिलो गरेर बस्नुपर्ने बाध्यता छ अनि कसरी सामाजिक दूरी कायम हुन्छ। त्यसले गर्दा एक जनामा संक्रमण देखियो भने पूरै परिवार नै जोखिममा पर्ने अवस्था छ,’ अखिल भारत प्रवासी मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने।
 
 
त्यसबाहेक नेपालीहरूमा संक्रमणको जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानीबारे पनि कम जानकारी रहेको खड्काको भनाइ छ। त्यसैले सरकारले दिल्लीस्थित दूतावासमार्फत नेपालीहरूमाझ आवश्यक जनचेतना विस्तारको पहल गर्नुपर्ने उनले सुझाए। साथै यदि कसैमा संक्रमण देखिइहालेको खण्डमा भारतीय नागरिकसरह उपचारको ग्यारेन्टी गर्नुपर्नेमा पनि खड्काले जोड दिए। ‘भारतमा रहेका नेपालीहरूलाई दोस्रो दर्जाको व्यहावर गर्नुभएन, यदि कसैलाई संक्रमण देखियो भने दूतावासमार्फत सरकारले उनीहरूको उपचार सुनिश्चित गर्नुपर्छ,’ खड्काले भने।
 
कान्तिपुर दैनिक

प्रतिक्रिया