भर्खरै

इपान द्धारा काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह, ५० हजार श्रमिक कामबिहीन

  • प्रकाशित मिति : Mon-30-Mar-2020
  • - Admin
title

काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पाकहरूको संस्था, नेपाल (इपान) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’पछि अवरुद्ध निर्माणाधीन जलविद्युत आयोजनाको काम सुचारु गर्ने वातावरण मिलाइदिन सरोकारवाला निकाय एवं सरकारसँग आग्रह गरेका छन् । उनीहरूले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष आयोजनास्थलमा वाह्य व्यक्तिको प्रवेश निषेध गरी काम सुचारु गर्न पाउने गरी व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
 कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको निर्देशनको उलंघन नगरी आयोजनाको निर्माण निरन्तरता दिन पाउनुपर्ने उनीहरूको प्रस्ताव छ । आयोजनाको काम लामो समयमसम्म अवरुद्ध हुँदा देशलाई नै आर्थिकरूपमा ठूलो क्षति हुने भन्दै काम रोक्न नहुनेमा जोड दिइएको छ ।
माथिल्लो तामाकोसी निर्माणस्थललाई निषेधित क्षेत्र घोषणा गरी काम सुचारु गरिएको छ । निजी क्षेत्रका आयोजनाको हकमा पनि यस्तै व्यवस्था गर्नुपर्ने प्रवर्द्धकहरूले बताएका छन् । यसो हुन नसके निजी क्षेत्रको खर्बौं रुपैयाँ लगानी जोखिममा पर्ने र यसले राज्यलाई नै अप्ठ्यारो पार्ने पत्रमा उल्लेख गरिएको छ ।
 
निर्माणाधीन आयोजनामा वाह्य व्यक्ति नपुग्ने हुँदा नियमित काम गर्न पाउनुपर्ने मागसहितको पत्र  उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमानपुन र नेपाली सेना मुख्यालय का प्रधानसेनापती पूर्णचन्द्र थापा लाई इमेलमार्फत पठाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाइ द्धारा हस्ताक्षरित पत्रमा  जनाइएको छ । उक्त प्रेसित पत्रमा  भविष्यमा आउन सक्ने आर्थिक संकट कम गर्न कामबिहीन बनेर आयोजनास्थलमा बसिरहेका कामदार परिचालन गर्ने व्यवस्था मिलाइदिन प्रस्ताव समेत गरिएको छ।
‘निर्माणाधीन आयोजना आफैंमा गाउँ बस्तीबाट अलग्गै छन्,’ उनले भने, ‘बाहिरका व्यक्तिको प्रवेश निशेध गरेर काम सुचारु गर्न सकेमा कोरोना भाइरस विरुद्धको अभियानका लागि गरिएको लकडाउनको पनि उलंघन हुँदैन । यही कुरा हामीले सरकारसमक्ष राखेका छौं ।’  प्रेसित पत्रमा तत्कालै काम सुचारु हुन नसके निर्माणाधीन आयोजनामा लागेको २ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी जोखिममा पर्ने जानकारी गराएको  छ।
 
एक महिनासम्म निर्माण ठप्प हुँदा मासिक २ अर्ब ८० करोड रुपैयाँ बराबरको लागत भार आयोजनामा थपिने निजी क्षेत्रको अनुमान छ । निर्माणाधीन आयोजनाको हकमा सुरुङभित्र जम्मा हुने पानी नियमित फाल्ने, ढलान, रक सर्पोट सिस्टमका काम नियमित गर्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख छ ।
 
यस्तै, बाँध क्षेत्रमा जमिनमुनिबाट आउने पानीको वहाव नियन्त्रण, मुहान, कफर ड्याम, अन्डर स्लुइस लगायत संरचनामा बर्खाको बाढीका कारण हुनसक्ने क्षति न्युनिकरणका कार्य गर्नुपर्ने हुँदा काम रोक्न नसकिने कुरा पनि पत्रमा उल्लेख गरेर पठाएको  बताए । 
 
अहिले नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका गरी २८ सय ५ मेगावाटबराबरका १ सय १५ आयोजना निर्माणाधीन छन् । यस्तै, प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका गरी १ सय २२ आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ ।
 
५० हजार श्रमिक कामबिहीन
 सरकारले कोरोना भाइरसको संक्रमण रोक्न ‘लकडाउन’ गर्दा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत ५० हजार श्रमिक कामबिहिन भएका छन् । गत११गते मंगलबारदेखि सुरु भएको ‘लकडाउन’का कारण सबै आयोजनाको निर्माण ठप्प हुँदा उनीहरू कामबिहिन बनेका हुन् ।
 
‘लकडाउन’पछि २८ सय मेगावाट बढीका १ सय १५ जलविद्युत आयोजनाको काम रोकिँदा त्यहाँ कार्यरत प्राविधिक र श्रमिक मजदुर क्याम्पभित्रै बसिरहेको इपान द्धारा प्रेषित पत्रमा जनाएको छ । घर जान नपाएकाले सबै कामदार आयोजना स्थलमा नै बसिरहेका छन। (स्रोत ः ऊर्जा खबर को सहयोगमा तयार पारिएको )
 

प्रतिक्रिया