भर्खरै

म्याग्दी नदीबाट बिजुली निकाल्न तम्सिए चार कम्पनी

  • प्रकाशित मिति : बुध, पौष १५, २०७७
  • - Admin
title

म्याग्दी १५ पुस । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि थप १५०.५ मेगावाट क्षमताका चारवटा आयोजनाले निर्माण अनुमति पाएका छन् ।
 
विद्युत् विकास विभागले ती आयोजनालाई म्याग्दी नदीबाट बिजुली निकाल्ने अनुमति दिएको हो ।
 
 
६५।९८ मेगावाट क्षमताका छवटा आयोजना सर्वेक्षणको क्रममा छन् । सबस्टेसन, प्रसारण लाइन, प्राकृतिक, सामाजिक वातावरण दिन सकिए लगानीकर्ता आकर्षित भई धौलागिरिमा जलविद्युत् आयोजना निर्माणले गति लिने र म्याग्दी खोलामा खेर गइरहेको पानी पैसामा रूपान्तर हुने स्थानीयको अपेक्षा छ । 
 
जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका वस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरेको धवलागिरि वडा नम्बर( ४ चेचुङका चक्रबहादुर घर्ती बताउँछन् ।
 
 
हालसम्म सडक सुविधा नभएको गाउँमा जलविद्युत आयोजनाले सडक बनाउन लागेको खबरले उत्साही भएको खाम्लाका रेशमबहादुर पुनले सुनाए ।
 
धवलागिरि गाउँपालिका वडा नम्बर( ४ नाउरामा हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ ।
 
यसअघि २० मेगावाटको अनुमति पाएको अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण ९ईआईए० प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
 
 
बिमको शिवरात्रिखोलादेखि भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेको आयोजनाले मनसुनअघिसम्म विद्युत्गृह र आउँदो वर्षको मंसिरसम्म बाँधलाई पहुँचमार्गले जोड्ने लक्ष्य राखेको हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले जानकारी दिए । 
 
 
करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माणसँगै लगानी जुटाउने र विद्युत खरिद(बिक्री सम्झौता (पीपीए)को तयारी गरेको छ । सात अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको अपर म्याग्दीखोलाको बाँध सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल तथा विद्युत्गृह म्याग्दी र मुदी खोलाको दोभानभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ ।
 
 
तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट ७९७.९६ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिनेछ ।
 
उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेसन हुँदै केन्द्रीय ग्रिडमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका वडा नम्बर ७ बिमको डाँडाखेत सब स्टेसन र त्यहाँदेखि राहुघाटसम्म १३२ केभी क्षमताको प्रसारण लाइन सुरु गरेको छ ।
 
प्राधिकरणले सब स्टेसन निर्माण सुरु गरेपछि वर्षांैअघि अनुमति पाएका अपर म्याग्दीलगायत अन्य आयोजनाले पनि गति लिने अपेक्षा गरेको धवलागिरि वडा नम्बर ४ का वडा सदस्य केशरमान पुनले बताए । 
 
म्याग्दी र आसपासका खोलामा निर्माण अनुमति लिएका जलविद्युत् आयोजनालाई गति दिन धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा समन्वयका साथै यस वर्ष खारादेखि खाम्ला जोड्ने सडक निर्माण थालेको छ । २०७५ सालमा पूर्वाधार विकास कार्यालयले कल्लेनीमा करिब डेढ किलोमिटर ट्र्याक खनेको थियो । 
 
म्याग्दी नदीबाट बिजुली उत्पादन गर्न विद्युत् विकास विभागबाट ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति पाएका हुन् । 
 
धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको दुई वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन ।
 
धवलागिरि गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दी खोला ए, १५ मेगावाट क्षमताको धौला खोला, ४.६ मेगावाट क्षमताको तिरिजा खोला, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोस र ६.५ मेगावाट क्षमताको दर खोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् । 
 
विद्युत् प्राधिकरणले डाँडाखेत र राहुघाटमा सब(स्टेसन तथा प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको बताएका छन् । सन् २०२४ भित्रै डाँडाखेत सब(स्टेसन र प्रसारण लाइन निर्माण गर्ने विद्युत् प्राधिकरणले जनाएको छ । –पालिका खबर

प्रतिक्रिया