भर्खरै

नदी खोलामा पानीको सतह कम हुँदा आन्तरिक विद्युत उत्पादन घट्यो, आयात बढ्यो

  • प्रकाशित मिति : बिही, पौष २, २०७७
  • - ऊर्जा खबर
title

काठमाडौं २ पुस। नदी खोलामा पानीको सतह कम हुँदै गएपछि आन्तरिक विद्युत उत्पादनमा कमी आएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका अधिकांश जलविद्युतगृह नदीको प्रवाही भएकाले हिउँद लागेपछि विद्युत उत्पादन पनि क्रमशः घट्ने गएको हो ।
 
अहिले बर्खाको तुलनामा प्राधिकरण र निजी क्षेत्रका जलविद्युतगृहले जडित क्षमताभन्दा कम विद्युत उत्पादन गरिरहेको भार प्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ४ सय ८६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । 
 
‘प्राधिकरणको जडित क्षमता ६ सय ३० मेगावाट हो,’ उनले भने, ‘हिउँदमा उत्पादन घटेको छ ।’ उनले निजी क्षेत्रका जलविद्युगृहको उत्पादन अझै घटेको बताए । 
 
निजी क्षेत्रका जलविद्युत आयोजनाको जडित क्षमता ७ सय मेगावाट भए पनि अहिले प्रणालीमा ३ सय ३४ मेगावाटको मात्रै योगदान रहेको उनले बताए । प्राधिकरणको कुलेखानी जलाशय र कालीगण्डकी ‘ए’, मध्य मस्र्याङ्दी लगायत केही जलविद्युतगृह अर्धजलाशय रहेकाले निजी क्षेत्रको भन्दा बढी उत्पादन गरिरहेको पनि भट्टराईले बताए ।
 
आन्तरिक विद्युत उत्पादन घटेसँगै विद्युतमा भारतमाथिको परनिर्भरता बढेको छ । आन्तरिक उत्पादन घटेपछि माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट हुने आयातलाई बढाएको उनले बताए । 
 
‘बर्खामा भारतबाट न्युनतम ५० मेगावाटसम्म आयात हुन्थ्यो । अहिले हाम्रो उत्पादनले नधानेपछि ५ सय ४४ मेगावाट आयात गरिरहेका छौं’ उनले भने । जाडो सकिएर हिउँ पग्लिेर आन्तरिक उत्पादन बढ्न थालेपछि मात्रै आयात क्रमशः घट्दै जाने उनले बताए । 
 
हिउँदमा नदी प्रवाही जलविद्युतगृहले जडित क्षमताको ४० प्रतिशतमात्रै विद्युत उत्पादन गर्ने हुँदा भारतमाथिको परनिर्भरता अझै केही वर्ष रहने देखिन्छ ।

प्रतिक्रिया