उत्पादित बिजुली देशभित्रै खपत गर्ने सरकारी योजना अलमलमा
- प्रकाशित मिति : बुध, कार्तिक ५, २०७७
- - शिखर श्रेष्ठ
कुनै समय थियो, भारतबाट विद्युत आयात गर्दा समेत देशमा १८ घण्टा सम्म लोडसेडिङ्गको मारमा जनता बस्नु पर्ने बाध्यता थियो । तर यी कुरा आजको दिनमा इतिहास नै बनेको छ ।
चार वर्ष अगाडि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ नियुक्ति हँुदै गर्दा प्राधिकरणका आनै कर्मचारीको तलब दिन पनि नसक्ने अवस्थामा गुज्रियाको प्राधिकरण गत महिना प्राधिकरणको कार्यकारी निर्देशकबाट बिदाई हुँदै गर्दा प्राधिकरणको पुरानो पहिचान नै मेटिदिएर नयाँ परिचय दिन सफल बनेका छन् । प्राधिकरणमा उनको कुशल कार्ययोजनाले गर्दा नै नेपालको लोडसेडिङ्ग इतिहास र अर्बौको घाटामा गएको प्राधिकरण छोटो समयमा नै अर्बौ रुपैयाँ नाफामा लान सफल भए ।
हिजोको दिनमा कसरी लोडसेडिङ्ग कम गर्न सकिन्छ भन्ने योजनामा रहेको प्राधिकरण हाल देशमा उत्पादन भएको विद्युत पनि खेर जाने अवस्थामा छ । हुन त आज सम्म प्राधिकरणले विद्युत खपत गर्ने त्यस्तो प्रभावकारी योजना पनि बनाएको देखिदैन् ।
हामीकहाँ जलविद्युत विकासको सुरूवात सन् १९११ बाट भएको थियो । त्यस समयमा नेपालको पहिलो तथा एसियाको दोश्रो जलविद्युत आयोजनाका रुपमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । तत्पश्चात नेपालमा धेरै आयोजना निर्माण भई विद्युत उत्पादन भइसकेको छन् भने धेरै आयोजना निमार्णाधिन अवस्थामा छ ।
केही वर्ष अगाडिसम्म हामी लोडसेडिङ्गको मार खेपेपनि जलविद्युत उत्पादन क्षेत्रमा ठूलो लगानी सुरू भएको थियो । त्यससमय लगानी जुटाई काम शुरु गरेका थुप्रै आयोजनाहरु निर्माणको अहिले अन्तिम चरणमा छन् ।
अहिले कोरोना भाइरस र लकडाउन(बन्दाबन्दी) का कारण निर्माणाधीन आयोजनामा प्रभाव परेको छ । खपत अत्याधिक घट्दा आपूर्ति बढेर बिजुली खेर जान सक्ने परिस्थितिमा रहेको छ नेपालको जलविद्युत । अबको केही वर्षमै नेपालको राष्ट्रिय प्रणालीमा ठूलो मात्रामा बिजुली जोडिने सम्भावना देखिन्छ ।
हाल ठूलो संख्यामा लगानीकर्ताहरू जलविद्युत क्षेत्रमा काम गरिरहेका तथा थुप्रै आयोजना अध्ययन तथा निर्माणका चरणमा छन् ।
केही वर्ष अगाडिसम्मको लोडसेडिङ्गले सबै जसो क्षेत्र मारमा परेका थिए । हाल नेपालमा वर्षायाममा मुख्यतः बिहान–बेलुकाको समय बाहेक विद्युत खपत भन्दा उत्पादन धेरै हुन्छ । हिउँदे याममा पनि अबको ३ देखि ४ वर्षमा बिजुली खेर जाने स्थिति आउने विभिन्न अध्ययनले देखाएका छन् ।
नेपाल विद्युत प्राधिकरणद्वारा केही वर्षअगाडि गरिएको अध्ययनले हाम्रो बिजुली माग बर्षेनि बढ्दै गएर सन् २०२० मा करिब २००० मेगावाट हुने देखाएको थियो । तर सो अनुपातमा माग र खपत बढ्न सकेको छैन ।
विद्युत खपतमा विद्युतीय सवारी साधन
नेपालमा विद्युतीय सवारी साधनको चर्चा चलेको धेरै भयो । अझ २०७२ सालको भारतीय नाकाबन्दी पछि त धेरैको रोजाईमा विद्युतीय सवारी साधन बन्न पुगेको थियो । हाल सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग केही कम रुपमा भएपनि निजी कारहरुको व्यापार भने आकाशियो ।
विशेषत नेपालमा हुण्डाई, किया, महिन्द्रा, एमजी, विवाईडी लगायतका कम्पनीका विद्युतीय सवारी साधनले उपस्थिती राम्रो गरेको छ । त्यस्तै अन्य कम्पनीहरु पनि विद्युतीय गाडी नेपाल
भित्राउने तरखरमा छन् ।
यसअघि सरकारले विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा दिएको छुटको कारण केही हदसम्म विद्युतीय सवारीसाधन प्रति आकर्षण बढेको जानकारहरु बताउँछन् ।
आ.व २०७७÷०७८ को वार्षिक बजेटमा विद्युतीय सवारी साधानमा बढाएको करका कारण व्यवसायी नै चिन्तित नै देखिन्थे । वातावरणविद्, उद्योगी व्यवसायी तथा सरोकारवाला निकायबाट विद्युतीय सवारीसाधनमा बढाइएको करका विषयमा विरोध भएको थियो । अति आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त करको दर घटाउन अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन लगाएर फेरी छुटको निर्णय गरेका थिए ।
बढेको करका कारण मारमा परेको भन्दै व्यापारीले विद्युतीय सवारीसाधन अर्डर नै गर्न नसकेको जनाउँदै आएका थिए ।
आगामी दिनमा एकातर्फ विद्युत खेर जाने अर्कोतर्फ विद्युत खपतको योजना पनि नल्याउने हँुदा राज्यलाई नै आर्थिक नोक्सानी त हुन्छ नै वातावरणीय असर समेत व्यहोर्नु पर्ने हुन्छ । आशा गरौँ विद्युतीय सवारीलाई सरकारले अझ प्राथमिकताका साथ राखेर भन्सार छुट देखि विद्युतीय चार्जिङ स्टेशन बनाउनमा प्राथमिकता दिनेछ ।
घरायसी विद्युतीय सामग्री प्रयोगमा जोड
सरकारले विद्युत खपत गर्ने उद्धेश्यले नै विद्युतीय चुलो बिक्रि वितरणमा जोड त दिएतापनि यसले प्रभावकारीता भने पाउन सकेको छैन् । घरायसी कार्यमा
उपयोगी हुने विद्युतीय चुलो लगायत सबै खालका सामग्रीलाई प्राथमिकता दिएर विद्युतीय शुल्क पनि कम गर्नु आवश्यक छ ।
‘विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्न जरुरी छ । अहिलेको मुख्य समस्या भनेको प्राधिकरणलाई उत्पादित विद्युतलाई खेर जान नदिई खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको छ ।
खाना पकाउन प्रयोग हुने परम्परागत इन्धनको निर्भरता घटाउन र आयातित एलपी ग्यासको खपत कम गराउन आन्तरिक खपत बढाउने गरी विद्युतीय चुलोलाई प्रवद्र्धन गर्न सरकारले कुनै कसुर राख्नु हँुदैन् ।
निश्कर्षः
नेपाल विद्युत प्राधिकरणले विद्युत खपतको कुनै विकल्प नखोज्ने हो भने केही समयमा उत्पादित विद्युत खेर जाने देखिन्छ । सरकारले समयमा नै विद्युत् खपत बढाउने विभिन्न उपायहरुको खोजी गर्न आजको अति आवश्यक विषय बनेको छ । विद्युतीय सवारी चलाउने तथा घरायसी प्रयोगका लागि खाना पकाउने एलपी ग्यासको विस्थापन गरी इन्डक्सन चुल्होको प्रयोग बढाउने सोचमा सरकार भएपनि अझ प्रभावकारी हुन सकेको छैन । देशभित्र विद्युतको माग नबढ्ने तर उत्पादन बढ्दै जाने अवस्था छ ।
विगतमा विद्युत् कटौतीको सूचना निकाल्ने प्राधिकरणले धेरै विद्युत् खपतका लागि नागरिकलाई अपिल गर्नुपर्ने अवस्थामा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लगायतका आयोजना सम्पन्न हुँदा विद्युत् खेर जाने अवस्थाको आँकलन गरिएको छ । विद्युत निर्यातका लागि सरकारले भारत, बङ्गलादेश लगायतका अन्र्तराष्ट्रिय बजारको खोजी गर्दै विद्युत् खपत बढाउनेतर्फ सरकारको ध्यान जानु पर्नेमा दुई मत छैन । विद्युत् व्यापार भन्दा आन्तरिक रुपमा खपत बढाउनुपर्ने आवश्यकता छ ।
हरेक वर्ष एलपी ग्यासको खपत बढ्दै गएकोले एलपी ग्यासको आयातमा मात्रै अर्बै रुपैयाँ विदेशिने गरेको छ । एलपी ग्यासको सिलिन्डर हरेक घरघरमा रहेकोले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । यो जोखिम कम गर्नका लागि पनि सरकारले देशभित्रै उत्पादन भएको विद्युत् खपत बढाउनु नै सबैभन्दा उत्तम विकल्प हुने हो ।