भर्खरै

विद्युतको अनियमित आपूर्तिका कारण मिल व्यवसायी हैरान

  • प्रकाशित मिति : बुध, भदौ २४, २०७७
  • - रासस
title

२४ भदौ, डोटीमा विगत केही हप्ता जारी रहेकोे विद्युतको अनियमित आपूर्तिका कारण यहाँका मिल व्यवसायी मारमा परेका छन् । दैनिकजसो हुने गरेको विद्युत् कटौतीका कारण मिल व्यवसायसहित अन्य विद्युतीय कलकारखाना पनि बन्द हुने अवस्थामा पुगेको गुनासो बढ्दो छ । विद्युत् अनियमितताका कारण कतिपय मिलका उपकरण तथा मिटरहरु जलेको बताइएको छ । जिल्लामा वर्षौँ पहिले जडान गरिएका विद्युत् सेवाका उपकरण तथा तारहरु नफेरिएका कारण पनि समस्या भएको डोटी, विद्युत् वितरण केन्द्र दिपायलले जनाएको छ । 
 
जिल्लामा हप्तौँदेखि जारी विद्युत्को अनियमित आपूर्तिको सुधार गर्न पटक–पटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको कुटानी–पिसानी मिल व्यवसायी सङ्घ डोटीका अध्यक्ष यज्ञ बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् अनियमितताले हाम्रा उपकरणहरु जलेका तथा काम नलाग्ने अवस्थामा पुगेका छन्, सुधार गर्न पटक–पटक आग्रह गर्दासमेत कुनै सुनुवाइ भएको छैन ।” विद्युत् अनियमितताकै कारण जिल्लामा वर्षेनी विद्युत्का कारण आगलागी हुने तथा घरमा भएका उपकरणसमेत जल्ने गरेका घटना बढ्दै गएकोे स्थानीयवासी बताउँछन् । कार्यस्थल (फिल्ड) मा खटिने विद्युत् कर्मचारीको लापरवाहीले पनि जिल्लामा विद्युत्सम्बन्धी कैयौँ दुर्घटना भएको उनीहरुको आरोप छ ।
 
जिल्लाको शिखर नगरपालिका–६ लुहाखडीका कुटानी–पिसानी मिल व्यवसायी तारासिंह बोहरा नयाँ मिटर लिन नेपाल विद्युत् प्राधिकरणको दिपायल कार्यालयमा पुग्नुभयो । मिल चलाउँदै गर्दा उहाँको मिटर जलेपछि करिब २० किलोमिटर टाढा दिपायल पुग्दा पनि नयाँ मिटर नपाएको गुनासो गर्नुभयो । लुहाखडी कुटानी–पिसानी मिल सञ्चालक बोहराले मिटर नपाउनुको कारणबारे विद्युत् कर्मचारीलाई सोधपुछ गर्दा पुरानो बक्यौता तिरे मात्र मिटर दिइने भनियो । तर बोहराले भने नियमितरूपमा विद्युत् महसुल तिर्दै आएको दाबी गर्नुहुन्छ । प्रत्येक महिना दिपायल कार्यालयमै गएर मिटरमा चढेअनसारको बिल तिर्दै आएका बोहरालाई कार्यालयले मिटर नदिएपछि उहाँ आक्रोशित हुँदै फर्किनुभयो ।
 
विसं २०७५ पुस ३० गते ‘छुट रकम बुझाउनेबारेको सूचना’ विषयको एक पत्र आएको थियो । विसं २०७३ साउनदेखिको महसुलअनुसार १० किलोवाट वा सोभन्दा कम जडित क्षमता भएका औद्योगिक ग्राहकलाई ग्रामीण तथा घरेलु उद्योगभित्र र १० किलोवाटभन्दा बढी क्षमता भएका ग्राहकलाई साना उद्योगभित्र पर्ने गरी बिलिङ गर्नुपर्नेमा सो नभई ग्रामीण तथा घरेलु उद्योगभित्र परेको हुँदा सोवापतको छुट रकम रु ५३ हजार ८७५ बुझाउन छुट भएकाले सो रकम ३५ दिनभित्र बुझाउन भनिएको थियो । तर उक्त रकम आफ्नो गल्तीले नभई प्राधिकरणका कर्मचारीको गल्तीले छुटेको दाबी बोहराको छ । तर अहिले आएर कार्यालयले रकम नतिर्दा मिटर नदिने भन्दै फिर्ता पठाएको थियो ।
 
यो एउटा उदाहरण मात्रै हो, जिल्लामा विद्युत् प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण कैयौँ मिल व्यवसायीहरुका विद्युत्को बक्यौता रकम तिर्न बाँकी देखिँदै आएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका मिल व्यवसायी दीपेन्द्र कठायतले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विद्युत् कर्मचारीकै कारण मिलको बक्यौता पनि देखिँदैछ, विद्युत् नियमित हुँदैन, उपकरण जले वा मिटर फेर्न गए बल्ल रकम तिर्नुपर्ने देखाउँछन्, तिर्नुपर्ने रकम पहिले नै किन भन्दैनन्, हामीले व्यवसाय गरेर खान नपाउने भयौँ ।”
 
जिल्लामा हाल कूल ७३ वटा कुटानी–पिसानीका मिल सञ्चालनमा छन् ती सबैले विद्युत् प्राधिकरणकै लापरवाहीका कारण आफूहरुले समस्या भोग्दै आएको गुनासो गर्छन् । विद्युत् कार्यालयले माग नसुनेपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय, डोटीलाई गुहारेका थिए । विसं २०७५ फागुन १३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षता र दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, विद्युत् प्राधिकरण दिपायल कार्यालयका तत्कालीन प्रमुख बुद्धिनाथ झा, मिल व्यवसायीका प्रतिनिधि र डोटी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरुको उपस्थितिमा बैठकले विद्युत् प्राधिकरणका कर्मचारीहरुको लापरवाहीका कारण जिल्लामा बक्यौतालगायतका अन्य समस्या रहेको ठहर गरी विद्युत् कार्यालयले समाधान गर्नुपर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय हालसम्म कार्यान्वयन नभएका कारण समस्या उस्तै रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् कर्मचारीको लापरवाहीले जिल्लामा विद्युत्सम्बन्धी विभिन्न समस्या भएको हामीले निष्कर्ष निकाली समाधान गर्न पत्र पठाएको भए पनि कार्यान्वयन भएन ।”
 
विसं २०७३ देखि नै बढेको विद्युत् महसुल प्राधिकरणले सोही समयमा बिलमा समावेश गर्न नसकेको, महसुल बढेको विषयमा संशोधन भएको प्राधिकरणको नियमबारे प्राधिकरणबाट जानकारी नगराइएको, प्राधिकरणका कर्मचारीको लापरवाही र कमजोरीको कारणबाट मिल उपभोक्ताहरु मर्कामा परेको ठहर गरी यसमा संलग्न कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरिएको थियो । बैठकले उक्त महसुल तिर्न मिल व्यवसायीलाई कठिनाइ भएकाले उक्त रकम मिनाहा गर्न प्राधिकरणको दिपायल कार्यालयमार्फत नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय धनगढीलाई अनुरोध गर्ने निर्णयसमेत गरेको थियो । तर उक्त निर्णय आजसम्म कार्यान्वयन भएन । 
 
देशमा लोडसेडिङको अन्त्य भए पनि डोटीमा भने वर्षौँदेखि विद्युत् अनिमियत हुने गरेको यसका कारण मिल तथा उद्योगका सरसामान जलेर आगलागीसमेत हुने गरेको केआइसिंह गाउँपालिका–५ का मिल व्यवसायी लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “ऋण काढेर व्यवसाय गर्नुछ, विद्युत्को लापरवाहीले वर्षेनी हाम्रा उपकरण जलेर खरानी हुँदैछन्, कसले सुन्ने हाम्रो आवाज ”
 
तर त्यो निर्णयबारे आफूलाई जानकारी नभएको डोटी विद्युत् वितरण केन्द्र दिपायलका प्रमुख कपिलदेव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कार्यालयमा यसबारे कुनै अभिलेख छैन, अब मैले कसरी कार्यान्वयन गर्नु रु” उहाँले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयको कुरा आफूले पनि मिल व्यवसायीहरुबाट सुनेको तर त्यसको आधिकारिकता केही नभएको दाबी गर्नुभयो । उहाँले प्राधिकरणको लापरवाहीले जिल्लामा विद्युत्सम्बन्धी कुनै लापरवाही नभएको दाबीसमेत गर्नुभयो । उता मिल व्यवसायी समितिका अध्यक्ष यज्ञ बोहराले भने विद्युत् कार्यालयले मिल व्यवसायीलाई बाध्यतामा पारेर केही व्यक्तिहरुसँग बक्यौता रकम जबर्जस्ती असुलउपर गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “बक्यौता रकमबारे केही व्यवसायीलाई बाध्यतामा पारेर विद्युत् कार्यालयले रकम असुल गर्दैछ यो सरासर कलत काम हो ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago