भर्खरै

बन्दाबन्दीमा पनि भेरी बबई आयोजना निर्माण

  • प्रकाशित मिति : शनि, बैशाख २०, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
विद्युत संसार, सुर्खेत, बैशाख, ।कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ । त्यहाँ कार्यरत मजदुर तथा प्राविधिक र आवश्यक सामग्रीहरू मौज्दातमा राखिएकाले बन्दाबन्दीको असरले आयोजनालाई छोएको छैन ।
आयोजनाको मुहानस्थल सुर्खेतको भेरी गङ्गा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको कामअन्तर्गत ड्याम, हेड वर्क र पावर हाउस निर्माणका काम धमाधम भइरहेको छ । पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७५ वैशाख १ गते नै भइसकेको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम)बाट १२ किमी सुरुङ खनिएको छ ।
सुरुङको ब्रेक थ्रुपछि अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ । अहिले मुख्य गरी पानीको बहाव फर्काउने कफर ड्यामको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बन्दाबन्दीको समयमा पनि मेसिनले गर्ने काम धमाधम भएको बताए। उनका अनुसार आयोजनाको सुरुङ मार्ग खनिएपछि दोस्रो चरणअन्तर्गत हेडवर्क र पावर हाउसको काम भइरहेको छ । इन्जिनियर पण्डितले आयोजनाको ४० प्रतिशत काम सकिएको बताए ।
 
आयोजनामा ७० मजदुर
बन्दाबन्दीको अवधिमा करिब ७० जना मजदुरले सुरक्षा सावधानी अपनाएर काम गरिरहेका छन् । इन्जिनियर पण्डितले बन्दाबन्दीअघि मौज्दातमा राखिएका सामान र मजदुरहरूबाट अहिले बन्दाबन्दीका बेलामा पनि धमाधम काम भइरहेको बताए । मजदुरहरूलाई खाने बस्ने सुविधाभित्रै गरिएको छ । धेरैजसो काम मेसिनबाटै भइरहेको छ । मेसिनसँग सम्बद्ध मजदुरहरूलाई सावधानी अपनाएर काम गर्न आग्रह गरिएको जानकारी  दिए ।
 
मौज्दात सामग्री सकिँदै
आयोजनाको मौज्दातमा राखिएका सामानहरू काम गर्दै जाँदा सकिन लागेको छ । बन्दाबन्दीको करिब डेढ महिनासम्म ती सामानहरूबाट काम भइरहेको र नयाँ सामानहरू ढुवानी नहुँदा अब भने काममा असर पर्न सक्ने सम्भावना देखिएको छ । सुरुङ मार्ग सम्पन्न गर्न, क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्टको काममा अब भने केही असर पर्ने देखिएको उनको भनाइ रहेको छ ।
 
दोस्रो चरणको काम धमाधम
आयोजनाको दोस्रो चरणअन्तर्गतको विद्युत् गृह र बाँध निर्माणका लागि २०७६ साउन १३ मा रमण–ग्वाङ्डोन जेभीसँग छ अर्ब १६ करोड रुपियाँमा ठेक्का सम्झौता भई काम अघि बढेको छ । आयोजनाका इन्जिनियर पण्डितले आयोजनाको अन्य काम पनि तीव्र गतिमा भइरहेको बताए ।
 
वार्षिक सात अर्ब आम्दानी लक्ष्य
भेरी नदीको चिप्लेमा ११४ मिटर लामो, छ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुनेछ । चिप्लेमा भेरीको पानी १२ किमी सुरुङ हुँदै ४० घनमिटर प्रतिसेकेन्ड बबईको हात्तीखालमा खसालिनेछ । आर्थिक वर्ष २०७९÷०८० मा सम्पन्न हुने भनिएको सो आयोजनाको लागत करिब १६ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट ४८ मेगावाट विद्युत् र बाँके, बर्दियाका करिब ५२ हजार हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
गोरखापत्र दैनिक

प्रतिक्रिया