भर्खरै

बुढीगंगाको डिपिआर तयार, २०२२ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य

  • प्रकाशित मिति : Wed-18-Sep-2019
  • - Admin
title

 
धनगढी, भदौ ।  २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । आयोजनाको विस्तृत ईन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुुल्यांकनको जिम्मेवारी पाएको अन्र्तराष्ट्रिय परामर्शदाता स्मेक र काठमाडौंका उदय जेभीले डिपिआर तयार गरेर आयोजना कार्यालयमा बुझाएका हुन् । 
 
आयोजनाको  डिपिआर तयार भए सँगै सन २०२२ सम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य  राखेको छ  ।  विद्युत विकास विभाग अन्तरगतको बुढीगंगा जलविद्युत आयोजना कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ मा नै डिपिआर तयार गर्ने लक्ष्य राखेको भएपनि परामर्शदाता कम्पनीले तीन वर्ष ढिलो डिपिआर तयार पारेको हो । आयोजनाका साइट इञ्चार्ज सिनियर डिभिजनल ईञ्जिनियर वीरबहादुर बोहाराले डिपिआर स्कीकृत गर्न मात्रै बाँकी रहेको बताए । उनले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पब्लिक रिभ्युका लागि वन तथा वातावरण मन्त्रालयमा रहेको र सो प्रतिवेदन स्वीकृत हुने वित्तिकै डिपिआर स्वीकृत गरेर आयोजना निर्माण कार्य अगाडि बढाइने बताए ।
वातावरणीय प्रभाव मुुल्यांकन प्रतिवेदन वातावरण मन्त्रालयबाट स्वीकृत हुने वित्तिकै विस्तृत ईन्जिनियरिङ्ग डिजाइन पनि प्रमाणित हुने उनले बताए ।  उनका अनुसार एक÷डेढ महिनामा विस्तृत ईन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुुल्यांकन प्रतिवेदन स्वीकृत हुने र त्यस लगत्तैे ईविड आह्वान गर्ने बताए । आयोजनाको साइट कार्यालय साँफेबगरले २०७७ को पहिलो वा दोस्रो महिनाबाट आयोजना निर्माण कार्य शुरु गर्ने गरी तयारी भइरहेको जनाको छ । साइट इञ्चार्ज बोहराले निर्माण शुरु भएको तीन वर्षमै विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिइएको बताए ।
नेपाल सरकारले बुढीगंगा जलविद्युत आयोजनाका लागि चालु आर्थिक वर्षमा दुई अर्ब दुई करोड रुपैयाँ विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले बताए । 
आयोजना निर्माण हुने स्थल साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले आयोजना निर्माण कार्य सुस्त गतिमा भइरहेको बताए । उनले २३ वर्ष पहिले नै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन सम्पन्न भएपनि सरकारले आयोजना निर्माणलाई प्राथमिकतामा नराखेको बताए । 
प्राम्भिक अध्ययन अनुसार आयोजनाको लागत ४ अर्ब ६० करोड अनुमान गरिएकोमा अहिले आइपुग्दा यसको लागत ६ अर्ब नाघेको नगरप्रमुख कुँवरले बताए । सन् २०१६ बाट मुख्य निर्माण कार्य शुरु गरेर २०१९ मा निर्माण सम्पन्न हुने प्रस्ताव गरिएपनि डिपिआर बनाउन तीन वर्ष ढिलो भएको हो । डिपिआर बनाउन ढिलो गर्ने परामर्शदाताले १० प्रतिशत जरिवाना समेत तिरेको आयोजनाका साइट इञ्चार्ज बोहराले बताए ।
 
आयोजनाका साइट इञ्चार्ज बोहराले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम सम्पन्न भएको बताए । उनले पहुँच मार्गमा ग्राभेलको काम बाहेक ट्रयाक, पुल निर्माण, आयोजना कार्यालय निर्माण तथा सञ्चालन कार्य पनि सम्पन्न भएको बताए ।
बुढीगंगा आयोजना कार्यालयले साँफेबगरदेखि कैलालीको पहलमानपुर सव–स्टेशनसम्म ८० किलोमिटर लामो ट्रान्समिसन लाइन विस्तारका लागि अध्ययन भइरहेको जनाएको छ । साइट इञ्चार्ज बोहराले इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मुल्यांकनका लागि अध्ययन भइरहेको बताए । 

प्रतिक्रिया