“बैंकहरुले बीमा गराउने कार्य गलत हो ।”

  • प्रकाशित मिति : Wed-18-Sep-2019
  • - कृष्ण प्रसाद आचार्य वरिष्ठ उपाध्यक्ष ,नेपाल बिमक समिति केन्द्र
title

 
      नेपाल लाईफ इन्स्योरेन्समा लामो समय देखि अभिकर्ताका रुपमा कार्य गर्दै आउनु भएका नेपाल लाईफ इन्स्योरेन्स पेशागत बीमा अभिकर्ता संघका  केन्द्रीय सदस्य एवं नेपाल बिमक समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्य सँग नेपालमा बीमा व्यवस्था, बीमाका फाईदा, बीमाको आवश्कता, बीमा सम्बन्धि फैलिएका भ्रम , नेपालमा रहेका बीमा कम्पनीको समस्याहरु , नेपाल लाईफ इन्स्योरेन्सले उपलब्ध गराउँदै आएका सुविधा तथा बजारको अवस्था लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश : 
 
 
 
 
नेपाल लाईफ इन्स्योरेन्सको बारेमा बताइदिनु होस् न । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना वि.स २०५८ साल बैशाख २१ गते भएको हो । यो कम्पनी नेपालीहरू मात्रको लगानीमा निजी क्षेत्रमा सञ्चालित नेपालको पहिलो जीवन बीमा कम्पनी हो । स्थापना देखि नै यो बीमा कम्पनीले उत्कृष्ट रुपमा कार्य गर्दै आएको छ । नेपालमा भएका बीमा कम्पनी मध्ये यो बीमा कम्पनी नम्बर १ कम्पनी हो । 
यो कम्पनी  नम्बर १ कम्पनी बन्न सफल हुनुका पछाडि मार्केटिङ स्टाटिज, यसले प्रदान गर्दै आएको बोनस, त्यस्तै द्धन्द्ध कालले पनि यो कम्पनीलाई यहाँ सम्म आउन सफल बनाएको हो । द्धन्द्ध भईरहेको अवस्थामा आर्मी तथा प्रहरीहरुको मृत्युको जोखिम बढी भएको हुँदा अन्य बीमा कम्पनीहरुले आर्मी तथा प्रहरीहरुको बीमा नलिएको र नेपाल लाईफ इन्स्योरेन्सले बीमा लिएको थियो, यसले गर्दा यो इन्स्योरेन्स कम्पनी प्रति जनताको विश्वास बढ्दै गएको हो । 
 
यस बीमा कम्पनीमा अभिकर्ता र बीमितको संख्या र हाल सम्म बिमाको बजार हिस्सा कति प्रतिशत रहेको छ ?

हाल सम्म यस बीमा कम्पनीमा एक लाख भन्दा बढी अभिकर्ता रहेका छन् भने  बीमितको संख्या करिब २७ लाख रहेका छन् । यस कम्पनीमा ३० हजार भन्दा बढी अभिकर्ताहरु सक्रिय रुपमा लागि पर्दै आएका छन् । यस कम्पनीमा अन्य कम्पनीको भन्दा बीमितको संख्या धेरै रहेको छ । नेपालमा रहेका १९ वटा जीवन बीमा कम्पनीलाई एउटै टोकरीमा राखेर हेर्ने हो भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मात्रै करिब ३३ प्रतिशत बजारको  हिस्सा ओगटेको छ । 
 
यस इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको प्रगति कस्तो रह्यो ?

यस इन्स्योरेन्स कम्पनी नेपालको उत्कृष्ट इन्स्योरेन्स कम्पनी हो । गत आर्थिक वर्षमा मात्र प्रथम बीमा शुल्क ९ अर्ब १३ करोड सकंलन गरेको छ भने यस कम्पनीलाई पछ्याउनेले आधा भन्दा कम शुल्क आर्जन गरेका छन् । यस कम्पनीले आव  २०६१÷६२ देखि हालसम्म  प्रथम बीमा शुल्क संकलनमा सधैं अग्र स्थानमा रहँदै आएको छ ।   
 
 
बीमाका मूख्य उद्धेश्य के हुन् ? बीमा किन गर्नुपर्ला यसको बारेमा बताइदिनु होस्  न ।

भविष्यमा आर्थिक रुपमा हुन सक्ने जोखिमको न्यूनिकरण गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो । बीमा भनेको आर्थिक बचत गर्नु, बोनस पाउनु मात्र होइन  आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । कुनै पनि व्यक्तिको जीवनमा हुने अकल्पनिय दुर्घटना र आर्थिक रुपमा पर्ने बोझलाई न्यूनिकरण गर्नका लागि बीमा गर्नुपर्दछ । 
 
बीमा सम्बन्धि अझै पनि सबै जनतामा स्पष्ट धारणा पुग्न सकेको छैन, बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि के गर्नु पर्ला ?

अझै पनि कतिपय व्यक्तिहरुमा बीमा सम्बन्धि स्पष्ट धारणा पुग्न सकेको छैन । बीमा गरे पनि बीमामा जम्मा भएको रकम मृत्यु पछि मात्र पाइन्छ भन्ने धारणा धेरैमा रहेको छ । तर त्यस्तो होइन, कुनै पनि व्यक्तिले कति समय अवधिका लागि बीमा गरेको हो, सो समयअवधि पुरा भएपश्चात जम्मा गरेको रकम सहित बोनस प्राप्त गर्न सकिन्छ । यदि बीमा गरेको समयावधि पुरा नहुँदै कुनै दुर्घटनामा परेर अथवा प्राकृतिक रुपमा कसैको मृत्यु भएको खण्डमा बीमा कम्पनीले जति रकम बराबरको बीमा गरेको हो सो रकम सम्बन्धित व्यक्तिको परिवारलाई उपलब्ध गराउँदै आएका छौ । 
 
बीमा ऐन आउँदैछ, यसमा तपाई के भन्नु हुन्छ ? के बीमा अभिकर्ता पेशा भविष्य राम्रो छ त ?

२०७२ साल देखि संसदमा पेश हुँदै फिर्ता हुँदै गरेको बीमा ऐन २०४९ परिमार्जित भएर आउँदैछ । बीमा समिति बीमा प्राधिकरण बन्दै गर्दा सबै स्टेक होल्डरहरुको कुरा स्पष्ट बीमा ऐनमा लेखिनु पर्छ । बीमा क्षेत्रमा  विकास गर्ने हो भने,देशको आर्थिक विकासको ठुलो आधारशिला बन्ने पक्का छ । नियामक निकायबाट जो बीमा शुल्क संकलन गर्ने अभिकर्ता छन सेवासुविधा ऐनमा नै तोकिनु पर्छ । व्यावसायिक अभिकर्ता तयार गर्ने हो भने संचयकोष,उपदान जस्ता कुरा व्यवस्था राज्यले तय गर्नुपर्छ । निजामति सरह ताकि भविष्य अनिश्चित नबनोस् । २,४ जना अभिकर्ताले मात्र कमाएको हेरेर हुन्न समग्र अभिकर्तालाइ न्याय हुने गरेर बीमा ऐन आउनु पर्छ भन्ने हाम्रो मुल माग हो ।
 
बीमा अभिकर्ताहरु देशलाई समृद्धि बनाउने अभियानमा सक्षम छ भन्ने विषयमा के तपाई सहमत हुनुहुन्छ ?

पूर्ण सहमत छु । बीमा बचत हो, भविष्यमा हुने आर्थिक जोखिम न्यूनिकरण गर्नु हो ।  कुनै पनि व्यक्तिले बीमा गरे पश्चात बचत भएको रकम बीमा कम्पनी मार्फत सरकारले सदुपयोग गर्न पाउने गरेको छ । बीमा कम्पनीमा जम्मा हुने रकम विभिन्न आयोजनामा लगानी भइरहेको छ ,त्यस्तै हामीले  सरकारलाई कर तिर्दै आएका छौ यसबाट पनि देशको समृद्धिमा सहयोग पुगेको छ जस्तो मलाई लाग्छ । 
 
 
बीमितहरुबाट जम्मा भएको रकम यस कम्पनीले कुन कुन क्षेत्रमा लगानी गर्दै आएको छ ? यस बारे बताईदिनुहोस् न । 

बीमा कम्पनीले लगानी गर्ने मूख्य क्षेत्र भनेको नेपाल सरकारको विकास ऋण पत्र हो । कम्पनीले यसमा ३५ प्रतिशत भन्दा माथि लगानी गर्दै आएको छ । त्यस्तै बीमा समिति, अर्थमन्त्रालयको स्वीकृतिमा कर्मसियल बैंकहरुमा मुद्धति निक्षेप गर्ने गरेको छ भने विकास बैंकमा १५ प्रतिशत लगानी गर्दै आएको छ । त्यस्तै शेयरमा १० प्रतिशत लगानी गरेको छ । यद्यपि बीमा कम्पनीहरुले ठूला–ठूला जलविद्युत आयोजना र इन्फ्रास्टक्चरहरुमा लगानी गर्ने मौका पाएमा यस बीमा कम्पनीहरुको लगानीको दायरा अझ फराकिलो हुने थियो र अबका दिनमा नियामक निकायहरुले दायरा फराकिलो बनाउनु पर्दछ । 
 
 के सबै बीमा कम्पनीबाट नेपालीले बीमा गरेर सहि तरिकाले मुनाफा पाएका छन् त ? 

छैनन । नियामक निकायले रेगुलेट राम्रो सँग गर्ने हो भने नेपाली जनता ठगिनबाट पनि जोगाउनु पर्छ । सबै कम्पनीहरुले योजना अनुसार सरदर उस्तै उस्तै शुल्क लिन्छन तर फिर्ता पाउँदा असमान दरले भुक्तानी लिन बाध्य छन ।  
 
के नेपाली जनताहरु  ठगिएको कुरा चाहि नियामक निकायले हेर्नु पर्दैन ?

यो ठगि गर्नलाइ प्रोत्साहन गरेको हैन । तत्काल समान मुनाफा नेपाली जनतालाई दिन रेगुलेट गरेर ठगिनबाट नियामक निकायले बचाउनु पर्छ भन्न खोजिएको हो । 
 
सरकारले हाल हरेक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्यान भ्याट अनिवार्य गराएको छ, यस सम्बन्धमा तपाईको धारणा कस्तो रहेको छ  ? 

नेपालमा हरेक क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्यान, भ्याट अनिवार्य गराउने प्रावधान ल्याएको छ । यो अभिकर्ताहरुमा पनि लागु हुने भएको छ । नेपालमा सबै बीमा कम्पनीका चार लाख भन्दा बढी अभिकर्ताहरु रहेका छन् । केही अभिकर्ताहरु विकट ग्रामीण क्षेत्रमा पनि रहेका छन् । ग्रामीण क्षेत्रमा हुने अभिकर्ताहरुका लागि प्यान, भ्याट सम्बन्धि प्रणालीले समस्या पर्ने देखिन्छ । यसले गर्दा यो पेशाबाट धेरै पलायन हुने देखिन्छ । अभिकर्ताहरुले पहिलेनै कमाईको  १५ प्रतिशत कर राज्यलाई तिर्दै आएको छ । बिमा क्षेत्रमा काम गर्ने अभिकर्ताहरुको हकमा यसलाई नै अन्तिम मानेर काम गर्नसके अभिकर्ताहरुको आत्मबल बढ्ने थियो जस्तो मलाई लाग्छ । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्नु हुन्छ ?

 बीमा पेशालाई मर्यादित बनाउनका लागि उच्च नियमक  निकायका व्यक्तिहरुले गोपनियता भंग गराउने किसिमले बोल्नु हँुदैन । त्यस्तै अहिले बीमा कम्पनीहरुले मात्र नभई बैंकहरुले पनि बीमा गराउने गरेको छ । बैंकहरुले पनि बीमा गराउने कार्य  गलत हो जस्तो मलाई लाग्छ । बैंकहरुले बीमा गराउने विषय कानुनमा नै उल्लेख छैन । 
हाल नेपाल राष्ट्र बैंकले बैकाइन्स्योरेन्स बैक मार्फत नगराउनु भनि सबै बैंकहरुलाई परिपत्र जारी गरेको छ । बैकका कर्मचारीहरू पनि बीमा नबुझि गराउनु पर्दा र डिपोजिटको टार्गेट,बीमाको पनि टार्गेटले गर्दा आजित थिए । अझ माथिल्लो स्तरबाट त बीमाको टार्गेट नपुर्याउनु बढुवामा पनि असर हुने कुरा बैकका कर्मचारीहरू बताउँथे । बैकमा लोन लिनेहरू यसलाइ घुमाउरो घुसको रुपमा लिन्थे । नेपाल राष्ट्र बैंकले यो सहि निर्णय गरेको छ, अभिकर्ताको रोजगारमा आएको आच न्युनिकरण भएको छ भने केहि हदसम्म बैकका कर्मचारी पनि खुशी भएका तथ्यहरु बजारमा आईरहेका छन् ।

प्रतिक्रिया